२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

ग्रामीण सडकहरू क्षतिग्रस्त

२ दर्जन घर भत्किए

धनकुटा — वर्षाका कारण धनकुटाका विभिन्न स्थानमा २ सय ३१ घरमा क्षति पुगेको छ । पहिरोमा परी १० जना घाइते भएका छन् । निजी घर र केही विद्यालय, स्वास्थ्य तथा प्रहरी चौकीमा क्षति पुगेको छ । ग्रामीण सडकहरू पहिरोले क्षतिग्रस्त बनेपछि यातायात सञ्चालन प्रभावित बनेको छ ।

जिल्लाका सात स्थानीय तहमध्ये छथर जोरपाटी र चौबिसे गाउँपालिका, धनकुटा, पाख्रिबास र महालक्ष्मी नगरपालिका क्षेत्रमा बढी क्षति पुगेको छ । छथर जोरपाटीमा ५१, धनकुटा नगरपालिकामा ८०, पाख्रिबास नगरपालिकामा २२, महालक्ष्मी नगरपालिकामा १५, सहिदभूमि गाउँपालिकामा ११, चौबिसे गाउँपालिकामा ३२ र साँगुरीगढी गाउँपालिकामा २० घरमा क्षति पुगेको छ ।


दुई दर्जनभन्दा बढी घर भत्किएको र अन्य आंशिक क्षति भएको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले बताए । विस्थापित अधिकांश परिवारलाई नजिकका विद्यालय तथा छरछिमेकमा राखिएको छ ।


पहिरोका कारण पाख्रिबासमा सीता तामाङ घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । यस्तै, चौबिसेको सौर्यमा २ बालक घाइते भएका छन् । सिधुवामा ७ जना घाइते भएको प्रहरीले जनाएको छ । महालक्ष्मी नगरपालिका ५ लेगुवा बजारमा शनिबार बिहान तीन घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।


कपडा पसल गर्दै आएका महम्मद अनुवारको कपडा पसल र घर भत्किँदा करिब ९ लाख बराबरको क्षति भएको छ । सोही स्थानका इन्द्रसागर दास, राजकुमार बुढाथोकीको घरमा समेत पहिरोले क्षति पुर्‍याएको एसपी कोइरालाले जानकारी दिए । आसपासका अधिकांश घर उच्च जोखिममा रहेको स्थानीय सन्तबहादुर कुँवरले बताए । महालक्ष्मी नगरपालिकाको जितपुर बजारस्थित प्रहरी चौकीसमेत पहिरोले जोखिम पुगेको छ ।


यस्तै, पाख्रिबास नगरपालिका ५ स्थित घोर्लीखर्कमा तीन घरमा क्षति पुगेको छ । स्थानीय युवराज कार्की, चक्रबहादुर निरौला र ५ का वडाध्यक्ष गोपालबहादुर थापाको घरमा पहिरोले क्षति पुगेको प्रहरीले जनाएको छ । धनकुटा नगरपालिका ७ चुलिबनका लक्ष्मी लावतीको घरमा पनि क्षति पुगेको छ ।


सहिदभूमि गाउँपालिका ३ मा रहेको अजम्बरी प्राथमिक विद्यालयको भवन भत्किएको छ । छथर जोरपाटीस्थित सिधुवामा रहेको निगाले सिमेन्ट उद्योगमा पहिरोले क्षति पुर्‍याएको छ । नाम्जाङ गाउँमा पहिरो गएपछि फेक्ट्रीको पछिल्लो भाग क्षतिग्रस्त भएको छ ।


प्रकाशित : असार ३०, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?