२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

वर्षाका कारण तेह्रथुममा ५० बढी घरमा क्षति

चन्द्र कार्की

तेह्रथुम — अविरल वर्षाका कारण जिल्लाभरको जनजीवन प्रभावित बनेको छ । पहिरोका कारण जिल्लाभर ५० बढी घरमा क्षति पुगेको छ । पहिरोले घर बगाउने अवस्था आएपछि धेरैले घर छाडेर अन्यत्र बसिरहेका छन् । पहिरोमा पुरिएर १० वटा बढी चौपाया मरेका छन्।

वर्षाका कारण तेह्रथुममा ५० बढी घरमा क्षति

लालीगुराँस नगरपालिका २ वसन्तपुर बजारका ७ बढी घरमा पहिरोले क्षति पुर्‍याएको छ । बसपार्क छेउमा रहेका रत्नबहादुर कार्की, खेम कार्की, डिल्ली कार्की, हेम सुवेदी लगायतको घरमा पहिरोले क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङक अनुसार जिल्लाभर २१ वटा घरमा मात्र पहिरोले क्षति गरेको उल्लेख छ । तर स्थानीय तह आफैले सङ्कलन गरेको पीडितको तथ्याङक भने धेरै छ । छथर गाउँपालिकामा मात्र २० बढी घरमा बाढी पहिरोले क्षति पुर्‍याएको अध्यक्ष सन्तबिर लिम्बुले बताए ।


गाउँपालिकामा विपद् व्यवस्थापन सम्बन्धी आपत्कालीन बैठक बसेर पीडितलाई जतिसक्दो चाँडो राहत पुर्‍याउने निर्णय गरेको प्रवक्ता राजन नेपाली बताए । त्यस्तै फेदाप, आठराई, मेन्छ्यायाम गाउँपालिकामा पनि पहिरोले ठुलो क्षति गरेको छ । त्यस्तै म्याङलुङ र लालीगुराँस नगरपालिकामा पनि बाढी र पहिरोले क्षति गरेको छ । क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको स्थानीय सरकार प्रमुखहरुले जानकारी दिएका छन् ।


प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईका अनुसार धेरैको घरमा पहिरोले क्षति गरेको छ । प्रशासनमा २१ जनाको घरमा पहिरोले क्षति गरेको विवरण उपलब्ध भएको उनले बताइन् । प्रभावित सम्म पुगेर सहयोग गर्न स्थानीय सरकार समक्ष समन्वय गरेर काम गरिरहेको प्रशासनले जनाएको छ ।


पहिरोका कारण जिल्लाका अधिकांश घर उच्च जोखिममा रहेको र उनीहरूलाई सतर्क रहन भनिएको प्रजिअ होमागाईले बताइन् । अविरल वर्षाका कारण पहिरो खस्दा वसन्तपुर–म्याङलुङ सडक खण्डको दर्जन बढी स्थानमा सडक अवरुद्ध भएको छ ।


त्यस्तै म्याङलुङ सङ्क्रान्ति सडकमा पनि १ सय बढी स्थानमा पहिरो झरेर अवरुद्ध भएको छ । जिल्लाका स्थानीय तहले करोडौँ रकम खर्च गरेर भर्खरै मात्र निर्माण गरेका १ सय बढी सडक पनि बाढी पहिरोका कारण अवरुद्ध भएका छन् ।


सिंधुवा शुक्रबारे, शुक्रबारे म्याङलुङ, जिरीखिम्ती मोराहाङ, म्याङलुङ लुमुघाट लगायतका सदरमुकाम जोड्ने १० बढी सडक अवरुद्ध भएका छन् । यी सडकका दर्जनौँ स्थानमा सवारी फसेका छन् ।

प्रकाशित : असार ३०, २०७६ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?