२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

‘गुहार माग्दा माग्दै भेलले लग्यो’

काँकडभिट्टा — सुफल हास्दा शुक्रबार बिहान काममा निस्किदा घर अघिल्तिरको फूलवासा खोलाको बहाव सामान्य थियो । सजिलै तरेर कामतिर लागेका थिए । मेचीनगर १४ प्रणामी टोलका ४१ वर्षीय हास्दा बिहान ११ बजेतिर खाना खान घर फर्किंदा खोलाले अर्कै रूप लिएको रहेछ । 

शारीरिक रूपमा अपाङ हास्दा वैशाखी बगरमा राखेर बिहानै जसरी फूलवासा तर्न खोजे । तर, उर्लिएको भेलले उनलाई बगायो । ‘हेर्दा हेर्दै भेलले बगायो,’ पत्नी तालामाई हास्दाले सुनाइन्, ‘गुहार माग्दा माग्दै कता पुर्‍यायो पुर्‍यायो ।’


बाढीमा परी शुक्रबार बेपत्ता हास्दा अहिलेसम्म भेटिएका छैनन् । परिवारले धेरै तिर खोजबिन गरिसक्यो । न लास भेट्यो, न त सास नै । ‘लास भेटको भए पनि ढुक्क हुन्थ्यो,’ तालामाई भन्छिन्, ‘फर्किएर पो आउँछन् कि जस्तो लाग्दो रहेछ ।’


हास्दा परिवारका अगुवा थिए । उनकै आशमा सिंगो परिवार थियो । कृषि मजदुरी गरेर ७ जनाको परिवारको जिविका चलाउँदै आएका थिए । बाढीमा बेपत्तापछि परिवार बेसहारा मात्रै बनेको छैन, जिविका चलाउने समस्या पनि बढेर गएको छ ।


स्थानीय शिक्षक विश्व थापाका अनुसार हास्दाको खोजबिनमा प्रहरी र स्थानीयबासीले निक्कै प्रयत्न गरेका थिए तर शव भेट्न सकेका छैनन् । हास्दाको मृत्यु भयो या जिउँदै छन् भन्ने बारे अन्योलले परिवार थप पीडित बनेको छ । ‘यो अन्योलका कारण सरकारबाट पाउने राहतसमेत परिवारले पाएको छैन,’ थापाले भने ।


मेचीनगर १४ का वडाध्यक्ष शंकर पोख्रेलले वडा कार्यालयको तर्फबाट पीडित परिवारलाई केही राहत प्रदान गरिएको बताए । उनका अनुसार थप राहतको पहलका लागि पीडित परिवारले कार्यालयमा निवेदन दिएको र नगरपालिकामा पठाइदिएको बताए ।

प्रकाशित : असार ३१, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?