कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रदेशसभा बैठक : किसानलाई राहत दिन माग

देवनारायण साह

मोरङ — प्रदेशसभा बैठकमा सांसदहरूले बाढी र डुबानले खेती नष्ट भएका कृषकका लागि क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिपक्षी दल संघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादवले बाढी र डुबानले कृषकले रोपेको धान बाली नष्ट भएको र रोप्न बाँकी रहेको बीउ बगाएकाले क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई २ लाख र घाइतेको निःशुल्क उपचार गर्ने प्रदेश सरकारको निर्णय स्वागत योग्य भएको तर पीडित कृषकका लागि पनि राहत प्याकेज ल्याउनुको विकल्प नभएको उनको भनाई थियो ।


‘ग्रामीण क्षेत्रमा वर्षा र बाढीले सर्वसाधारणका भत्केका फुसका घरको लगत संकलन गरेर क्षतिपूर्तिको व्यवस्था गर्नु सरकारको दायित्व हो,’ उनले भने, ‘बाढीले माछा पालक कृषकको पोखरीमा भएका माछा बगाएकाले उनीहरूका लागि पनि क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।’


सांसद अम्बिका थापाले ऋण लिएर माछा पालन गरेका कृषकको ८० लाखसम्मको माछा बाढीले बगाएकाले उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिन् । ‘कृषिलाई मुख्य प्राथमिकतामा राखेको प्रदेश सरकारले राहतको घोषणा गर्दा कृषकको बारेमा नसोच्नु दुःखद विषय हो,’ उनले भने, ‘प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३६ प्रतिशत योगदान रहेकाले त्यो क्षेत्र उपेक्षित नहोस् भन्ने कुरामा सरकार सचेत हुनुपर्छ ।’


'पीडितको पुनःस्थापना गर’

बढीपहिरोले बिचल्लीमा परेकालाई पुनःस्थापनाको काममा लाग्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद उषाकला राईले खोटाङ जिल्लामा अविरल वर्षाले ठूलो जनधनको क्षति भएको र पीडितहरू विभिन्न ठाउँमा आश्रय लिएर बसिरहेकाले उनीहरूको पुनःस्थापनमा लाग्न सरकारको ध्यानाकर्षण गराइन् ।


‘खोटाङको पहिरोबाट १४ परिवार विस्थापित भएकाले उनीहरूको पुनःस्थापनको काम अबिलम्ब सरकारले गर्नुपर्छ ।’ सांसद नारायणबहादुर मगरले मधेसमा बाढी र पहाडमा पहिरोले घरबारविहीन भएकाहरूलाई प्रदेश सरकारले तत्काल पुनःस्थापनाका लागि काम सुरु गर्नुपर्ने बताए । सरकारले घोषणा गरेको मृतक परिवारलाई २ लाख राहत तत्काल प्रदान गर्न मगरले माग गरे ।


'अवरुद्ध बाटो खुलाउ’

सांसद उषाकला राईले उदयपुर–खोटाङ–ओखलढुंगा जोड्ने सडक ठाउँ–ठाउँमा पहिरो गएर अवरुद्ध भएकाले तत्काल खुलाउन पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘मध्य पहाडी लोकमार्गको हलेसी जयरामघाटको बाटो अवरुद्ध भएको छ,’ उनले भनिन्, ‘ओखलढुंगा र हर्कपुरको बीचमा रहेको खोलामा ठूला ढुंगा र लेदो बगाएर ल्याएकाले यातायातका साधन चल्न सक्ने अवस्था छैन ।’ घुर्मी सडकखण्ड पनि अवरुद्ध रहेको उनले बताइन् ।


सांसद अम्बिका थापाले बाढीपहिरोले खोटाङ–ओखलढुंगा–सोलुखुम्बु जिल्ला जोड्ने सडक अवरुद्ध भएकाले तत्काल खुलाउने पहल गर्न माग गरिन् । उनले मधेसका जिल्लामा पनि बाढीले सडक बगाएकाले त्यसको पनि तत्काल मर्मतको व्यवस्था गर्न माग गरिन् ।


भारतको अग्ला सडकले डुबान

प्रतिपक्षी दल संघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादवले भारत सरकराले सीमावर्त्ती क्षेत्रमा निर्माण गरेको अग्ला सडकले सुनसरी, मोरङ र झापा जिल्लाका दक्षिणी क्षेत्रमा पानी जमेर डुबान भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।


‘भारतमा भएको अग्ला सडकहरूले अविरल वर्षाले आएको बाढीको उचित निकास नहुँदा पानी जमेर घरबारसहित खेतबारी डुबानमा परेको छ,’ उनले भने, ‘प्रदेश सरकार, स्थानीय प्रशासनले संघीय सरकारसँग समन्वय गरेर पानीको उचित निकासको व्यवस्था गर्नुपर्छ ।’

प्रकाशित : असार ३१, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?