२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

किन बर्सेनि डुबानमा पर्छ अस्पताल ?

जितेन्द्र साह

विराटनगर — मुसलधारे वर्षामा मात्र नभएर क्षणभरकै झरीमा समेत विराटनगरस्थित कोसी अञ्चल अस्पतालको प्रवेशद्वारमा घुँडासम्मै पानी जम्छ । यसले गर्दा सेवाग्राही, चिकित्सक र कर्मचारीलाई ओहोरदोहोरमा समस्या हुन्छ ।

किन बर्सेनि डुबानमा पर्छ अस्पताल ?

बेमौसमी झरीमा समेत यहाँ यसो भइराख्छ तर मनसुन सुरु भएपछि हरेक वर्ष यो अस्पताल चर्चामा आउँछ । मनसुनपछि भने कसैले बास्ता गर्दैनन् । मुख्य द्वारमा पानी जमे पनि सेवा कहिल्यै बन्द नभएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. रोशन पोखरेलले बताए ।


उनले भने, ‘ऊ बेला पुरानो संरचनामा बनेको अस्पतालको होचो परिसरमा पानी जम्दा पूरै अस्पताल डुब्यो भन्नु अतिरञ्जित हो, पूरै अस्पताल डुब्नलाई त विराटनगरै डुब्नुपर्छ ।’ यो १ सय २९ वर्ष पुरानो अस्पताल हो । धेरैपछि बनेको र अहिले निर्माणाधीन सडकनाला भन्दा अस्पतालको प्रवेश भाग होचो हुनु पानी जम्ने मुख्य कारण हो । वर्षामा सडकनालाको पानी प्रवेशद्वार तर्फ बग्ने गरेको उनले बताए ।


ढलको पानी नालामा जानु पर्ने हो तर वर्षामा नाला भरिएर पानी ढलमै फर्किंदा भरिएर बाहिर आउँछ । उनले भने, ‘थोरै पानी पर्दा जमेको केही बेरमा आफैं सुख्छ भने मुसलधारे वर्षा भएका बेला पम्पले तानेर फालिरहेका हुन्छौं ।’ विराटनगर महानगरपालिकाका कार्यालयका एक वरिष्ठ प्राविधिकले अर्को वर्षसम्म अस्पताल वरिपरिका सबै नाला र ढल बनिसकेपछि पानीको सहज निकासमा समस्या नरहने बताए ।


ठूलै पानी परेमा प्रवेशद्वारसँग जोडिएको अस्पताल परिसरको फार्मेसी, सामाजिक सेवा एकाइ, आकस्मिक कक्ष र प्रशासनिक भवनको मुनिसम्म पानी पुग्छ, जसलाई कर्मचारीहरूले विद्युतीय मोटर, हात, खुट्टा वा बाल्टिनले सहजै पन्छाइरहेका हुन्छन् ।

सेवाग्राहीमा त्रास फैलिने गरी अस्पताल नै डुब्यो भनेर भ्रम फैलाउनु सामाजिक अपराध भएको समाजसेवी बन्धु पहाडीले बताए । उनले भने, ‘सडकमा उभिएर पानी जमेको अस्पतालको प्रवेश द्वारको तस्बिर खिचेर वास्तविकता बुझिँदैन, भित्र छिरेर हेर्नु र बुझ्नु पर्छ ।’


उनी यस अस्पतालको सामाजिक सेवा एकाईमार्फत विपन्न समुदायको उपचारमा सहयोग गर्छन् । सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म अस्पताल डुबेको हल्लाले सेवाग्राहीको चाप हात्तै घटेको पहाडीले बताए । ‘अस्पताल डुबिसक्यो, जोगिएर बस्नु भन्दै साथीभाइले म्यासेज गरिरहेका हुन्छन्,’ युवा शशि मण्डलले भने ।


उनी हस्पिटल अघिल्तिरकै फार्मेसीमा कार्यरत छन् । उनले भने, ‘कम्तीमा समाचार वा फेसबुक पोस्ट लेख्दा ठाउँमा पुगी यथार्थ बुझेर पो लेख्नु पर्छ त ? चिनेजानेकाले अस्पताल खुला छ कि बन्द छ भनेर फोन गरिहेका हुन्छन् ?’ जवाफ दिँदादिँदा हैरान हुने गरेको मण्डलले बताए ।


‘गेटमा पानी जमेर थोरै दूरीसम्म ओहोरदोहोर गर्न गाह्रो भएको हो,’ विराटनगर रानीका सेवाग्राही छोटु मियाँले भने, ‘ठूलो पानी परेपछि अलिअलि जमिहाल्छ नि, त्यो पनि अस्पतालले मोटरमा लामो पाइप जोडेर मुख्य ढलमा फालिरहेकै छ ।’ उनी बुहारीको पाठेघरको उपचारका लागि अस्पताल आएका थिए ।


‘हामी पनि अस्पताल डुबेको सुनेपछि डराइडराइ आयौं, यहाँ त सब ठिकठाक रहेछ,’ मियाँले भने, ‘मेनगेट बाहेक सबैतिर सुख्खै छ ।’ यो अस्पतालमा दैनिक औषत हजार बिरामी आउँछन् । सेवाग्राहीमध्ये औषत ८० प्रतिशत निम्न मध्यमवर्गीय, विपन्न, अनाथ, अशक्त र असहायको यो उपचार गनतव्य हो । वर्षा, रोपाइँ, खराब बाटो र डुबानको हल्लाले सेवाग्राहीको चाप कम भएको मेसु पोखरेलले जनाए ।


उनले भने, ‘आर्थिक वर्षको अन्त्यमा व्यस्त भएकाले अस्पताल डुबेको प्रचारको खण्डन गर्ने फुर्सद पाएनौं ।’ ५ बिघा ८ कठ्ठा ११ धुर मा फैलिएको ३ सय शय्याको यो अस्पतालमा मेडिसिन विभागमा ३६, प्रसूतिमा सय, शल्यक्रियामा ४०, हाडजोर्नीमा ३५, बालबालिकामा ४५, जनरलमा ३०, आकस्मिकमा २०, सघन उपचारमा ६, डायलसिसमा ५ र मानसिक रोग विभागमा ४ बेड छन् ।


अस्पतालमा ४० मेडिकल अधिकृत छन् । १४ चिकित्सक मेडिसिनमा एमडी छन् । एमडीपछि गरिने डीएम उत्तीर्ण तीन जना छन् । उनीहरू मुटु, फोक्सो र ग्रन्थीसम्बन्धी विशेषज्ञ हुन् । यो अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी, सफाइ कर्मचारी र आर्थिक एवं प्रशासनिक जनशक्ति गरी सरकारबाट २ सय ५० जना तथा अस्पताल विकास समितिबाट २ सय ६७ नियुक्त छन् ।

प्रकाशित : श्रावण २, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?