१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

घर नबन्दा ३२ परिवार बिचल्लीमा

बसिरहेका घर भत्काएर छाप्रोमा बस्न थालेका स्थानीय बर्खाको पानी छानाबाट चुहिँदा र जमिनबाट भलपस्दा समस्यामा
देवनारायण साह

मोरङ — विराटनगर महानगर १९ धनपुरामा सुकुम्बासीका लागि नमुना बस्ती समयमा निर्माण नहुँदा ३२ परिवार बिचल्लीमा परेका छन् ।

घर नबन्दा ३२ परिवार बिचल्लीमा

पुराना घर भत्काएर सोही ठाउँमा नयाँ निर्माण गर्नुपर्ने भएकाले त्यहाँ बसोबास गर्दै आएका परिवारलाई नजिकैको खेतमा छाप्रो हालेर बसोबासको व्यवस्था मिलाइएको छ । माथिबाट चुहिने र तलबाट पानी पस्दा छाप्रोको बसाई कष्टकर बनेको उनीहरूको भनाई छ ।


‘प्रत्येक परिवार नजिकैको खेतमा छाप्रोमा बस्दै आएका छौं,’ स्थानीय चान्दनी ऋषिदेवले भनिन्, ‘दुई छोरी, छोरा, सासुससुरा र लोग्ने स्वास्नी एउटै छाप्रोमा बस्न बाध्य छौं ।’ छाप्रोमा बस्न सबभन्दा बढी बालबालिका र वृद्धवृद्धालाई समस्या भएको उनको भनाई थियो ।


स्थानीय सोनुकुमारी विकले पानी परेपछि छाप्रो चुहिएर आफूहरूको बिजोग भएको गुनासो पोखिन् । ‘पानी चुहिएर चुल्होमा आगोसमेत नबल्ने भएकाले खान र बस्नसमेत अप्ठयारो भएको छ,’ उनले भनिन्, ‘छाप्रोमा बस्न सक्ने अवस्था नभएपछि माइतमा शरण लिएर बस्न बाध्य भएका छौं ।’ छाप्रोमा बस्दा भिजेर बिरामी हुँदा काममा समेत जान नपाएर थप समस्या भएको उनको गुनासो छ ।


महानगर र दातृ संस्था ह्याबिट्याट फर हुम्यानिटिजको सहयोगमा सहारा नेपाल र जीवन विकास समाज कटहरीले बस्ती निर्माण गरिरहेका छन् । विपन्न स्थानीय ३० ऋषिदेव र दुई विश्वकर्मा परिवारका लागि पहिलो चरणमा घर निर्माण भइरहेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले दातृ संस्थासँगको साझेदारीमा काम गर्दा ढिलाइ भएको स्विकार्दै आफूहरूलाई पनि सिकाइ भएको बताए । ‘साझेदार संस्थाले गरेको स्टिमेट डिजाइनअनुसार टाइम स्टिमेट कम भएकाले लाभग्राही समस्या परेका छन्,’ उनले भने, ‘लाभग्राहीलाई नै काम गरेर रोजगारी गर्ने दातृ संस्थाको नीतिले डकर्मी र कामदार अभाव हुँदा समयमा काम पूरा गर्न कठिनाइ भएको हो ।’


उनका अनुसार सरकारी स्वामित्वको १ बिघा ४ कठ्ठा जग्गामा बस्ती निर्माण भइरहेको छ । ‘खोला किनारमा बस्दै आएका र विपन्न सुकुम्बासीका लागि दातृ निकायको सहयोगमा नमुना बस्ती निर्माण भइरहेको छ,’ उनले भने, ‘६० घरको उक्त बस्तीमा कालोपत्रे सडक, घर घरमा खानेपानी, सामुदायिक भवन, बालबिकास केन्द्र, स्वास्थ्य संस्था, हरित बगैंचाका साथै आकर्षक घर निर्माण भइरहेको छ ।’


बस्ती निर्माणका लागि महानगरले जग्गामा माटो भर्ने, नाला, खानेपानी र पर्खाल निर्माण गरिदिने सम्झौता भएको छ । अधिकारीका अनुसार पहिलो चरणमा ३२ घरधुरीको सुरक्षित र व्यवस्थित बसोबासका लागि काम भइरहेको छ । उनले भने, ‘पुरानो घर भत्काएर ०७५ पुस १५ गतेदेखि सुरु गरेको घर निर्माण ०७६ जेठ मसान्तमा हस्तान्तरण गर्ने सेवा प्रदायक संस्थाको लक्ष्य थियो तर अहिले कामको प्रकृति हेर्दा अझै काम पूरा गर्न ६ महिना लाग्छ ।’


बाँकी २८ परिवारका लागि आउँदो आर्थिक वर्षको असोजबाट निर्माण सुरु गर्ने योजना रहेको अधिकारीले सुनाए । इञ्जिनियर अनिल घिमिरेका अनुसार प्रति परिवारको घर निर्माणका लागि ४ लाख ८० हजार बजेटमा घर निर्माण भइरहेको छ ।

प्रकाशित : श्रावण २, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?