कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सुरू भयो बोलबम, साउनभर पिण्डेश्वरको ढोका खोलिने

प्रदीप मेन्याङ्बो

सुनसरी — साउन सुरु हुनासाथ धरानको पिण्डेश्वर मन्दिरमा जल चढाउने भक्तजनको भीड लाग्न थालेको छ । पशुपतिनाथको मन्दिरभन्दा प्राचीन मानिएको पिण्डेश्वर मन्दिर परिसरलाई प्राचीन हरिद्वार शिवालयका प्रतीकका रूपमा मानिँदै आए छ ।

सुरू भयो बोलबम, साउनभर पिण्डेश्वरको ढोका खोलिने

हिन्दु धर्मशास्त्रका अनुसार साउन शिवजीको मन पर्ने महिना हो । यसैबेला बोलबम भक्तजन गेरु वस्त्र धारण गरी गलामा रुद्राक्षको माला पहिरेर खालीखुट्टा शिव मन्दिरमा जल चढाउने गर्छन् । पिण्डेश्वर शिवालयमा बिहानैदेखि हिन्दु नरनारी हातमा जलघडा बोकेर बेलपत्र, धतुरोको फूल र दाना, गाईको दूध, मह, घिउ आदि चढाउनेको घुइँचो लाग्ने गरेको छ ।


धरानमा चारदशक अघि अनुसन्धानकर्मी पथिक कवि लक्ष्मीप्रसाद आचार्यले स्कन्ध पुराण र रुद्राक्षरण्य महात्म्यमा पिण्डेश्वरको बारेमा व्यापक चर्चा भएको पत्ता लगाएपछि पिण्डेश्वरको शिवलिङ भारतमा रहेका शिवलिङहरूभन्दा जेठो रहेको बताएर प्रत्येक साउनमा जल चढाउने चलन सुरु गरेका थिए ।


ऐतिहासिक पुरातात्त्विक महत्त्व बोकेको उक्त पौराणिक स्थलमा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले जल चढाएर औपचारिक रूपमा बोलबमको शुभारम्भ गरे । उनले बोलबमको मन्दिरसँगै रहेको सिद्धिविनायक गणेशको प्रतिमा र पिण्डेश्वर बाबाधामको शिवलिङ्गमा जल चढाएर विधिवत रूपमा बोलबम सुरु गरेका थिए ।


त्यस अवसरमा प्रदेश सभामुख भण्डारीले मन्दिर परिसरमा रुद्राक्षको ५ वटा बिरुवा रोपेका थिए । कांग्रेसका प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, वडा १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराई, आन्नद आचार्य र बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले पनि वृक्षरोपण गरेर सभामुख भण्डारीलाई साथ दिएका थिए ।


हिन्दु धार्मिक आस्थाअनुसार बराहक्षेत्रस्थित सप्तकोसी र कोकाह नदीको संगमस्थलमा स्नान गरेर त्यहाँको जल पिण्डेश्वर मन्दिरको शिवलिङमा चढाए चिताएको पुग्ने धार्मिक विश्वास छ । साउन महिना लागेपछि सबै देवी, देवता गुप्तबासमा बस्ने भएकाले मठ मन्दिरमा ठूलो पुजापाठ हुन्न । तर शिवजीको प्रिय महिना साउन भएकाले शिवजीको पूजा आराधना निर्वाध चल्ने हिन्दुधर्मका विद्वानहरूको भनाई छ ।


विगत वर्षसम्म पिण्डेश्वरमा साउनको सोमबारमात्र शिवलिङ्गमा चलजढाउने गरिएको थियो । तर, साताको एउटा सोमबार मात्र मन्दिरको ढोका खुला गर्दा एकसाथ आएका हजारौं बोलबम भक्तजनको व्यवस्थापन गर्न गाह्रो हुने, घण्टौं लाममा पालो पर्खिनु पर्ने भएकाले गत वर्षदेखि साउनका सबैबार खुला गरिएको पिण्डेश्वर बाबाधाम सञ्चालन समितिका अध्यक्ष विकास बनेपालीले बताए ।

प्रकाशित : श्रावण २, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?