हरियो चुरा बेच्न भ्याइनभ्याइ

कान्तिपुर संवाददाता

धनकुटा — धनकुटा ७ हुलाकटोलकी व्यापारी सुशीला साहलाई यतिबेला हरियो चुरा बेच्न भ्याइनभ्याइ छ । ग्राहकलाई आफैं चुरा लगाइदिनुपर्ने भएकाले पनि उनको व्यस्तता बढेको छ ।

साउन लागेपछि अधिकांश कस्मेटिक तथा सृङ्गारका सामग्री बिक्री गर्ने पसलमा चुरा किन्ने ग्राहकको घुइँचो लाग्ने गरेको छ । साहले दैनिक चुरा तथा मेहन्दी बिक्रीबाट दस हजारभन्दा बढि आम्दानी गर्ने बताइन् । अधिकांशले हरियो र पहेंलो रङ्गको चुरा लगाउने उनले बताइन् । धेरैले हरियो मात्र र केहीले पहेंलो तथा रातो चुरा मिसाएर लगाउने गरेको साहले जानकारी दिइन् ।

यस्तै अस्पताल मोडकी व्यापारी शोभा श्रेष्ठले पनि बुधबार एकै दिन १६ हजारभन्दा बढीको चुरा बिक्री गरिन् । अरू बेला चुराको व्यापार सामान्य मात्र हुने भए पनि साउन लागेपछि हात्तै बढेको उनले बताइन् । बिक्री गर्न र लगाइदिने काममा दिनभर व्यस्त हुने उनको भनाई छ ।

खास गरी हरियो चुरा लगाउने स्वयम् पनि लगाउनुको महत्त्वबारे भने अनभिज्ञ छन् । पसलमा हरियो चुरा लगाइरहेकी लक्ष्मी राईले प्रत्येक साउनमा चुरा लगाउने गरेको बताइन् । सबैले हरियो चुरा लगाएकाले रहर लागेर लगाएको उनले बताइन् । धार्मिक तथा अन्य कारणबारे उनले अनभिज्ञता प्रकट गरिन् ।

यस्तै, हरियो तथा पहेंलो चुरा किन्दै गरेकी उमा भट्टराईले पनि प्रत्येक साउनमा यस्तो रङ्गको चुरा लगाउने गरेकी छन् । खासगरी साउन महिनामा शिव जीको आराधना गरिने भएकाले धार्मिक महत्त्वसँग जोडिएको तर्क राख्छिन् ।

सामान्यतः अरू बेला विवाहितले चुरा लगाउने गरे पनि साउनमा अविवाहितको संख्या अधिक हुने गरेको व्यापारी बताउँछन् । यतिबेला बालिकादेखि युवती तथा वृद्धसम्मका महिलाले हरियो चुरा पहिरिने गरेका छन् । साउनको पहिलो सातासम्म व्यापारीलाई चुरा बिक्री गर्ने चटारो हुने गर्छ । मदन चोककी कुमारी थापाले पनि दैनिक १० हजारसम्मको चुरा बिक्री गर्दै आएकी छन् । उनले पनि असारको अन्तिम दिनदेखि साउन पहिलो सातासम्म उच्च मात्रामा हरियो चुराको कारोबार हुने बताइन् ।

बजारमा काँच, प्लाष्टिक, धातुका चुरा पाइने गर्छन् । तर, काँच र प्लाष्टिकका चुराको माग बढी हुने व्यापारी बताउँछन् । काँचको चुरा प्रति दर्जन ३५ देखि ४० रुपैयाँ रहेको छ । यस्तै, धातुको डेढदेखि २ सय रुपैयाँसम्म मूल्य छ ।

प्रकाशित : श्रावण ३, २०७६ ०९:५९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

भन्सार असुली घट्यो

कान्तिपुर संवाददाता

महोत्तरी — जलेश्वर भन्सार कार्यालयले आव ०७५/७६ मा लक्ष्यबमोजिम राजस्व संकलन गर्न सकेन । यस अवधिको लक्ष्य २ अर्ब ६८ करोड ९१ लाख तोकिएको थियो । असुली भने २ अर्ब ४२ करोड २२ लाख मात्र हुन सक्यो । यो असुली लक्ष्यको ९० प्रतिशत हो । 

जलेश्वर भन्सारमा विगत ५ वर्षदेखि लक्ष्यको दोब्बर संकलन गर्दै आएको थियो । भन्सार छलेका सामान पक्राउ गर्ने र सीमा तस्करीबारे व्यापारीलाई सर्तक गराउँदै आएकाले राजस्व असुलीमा वृद्धि हुने भन्सारकर्मीले जनाउँदै आएका थिए । यही सक्रियताका कारण आव ०७४/७५ को यसै अवधिमा लक्ष्यको १ सय २२ प्रतिशत बढी अर्थात २ अर्ब ५९ करोड राजस्व असुली भएको उनीहरूको भनाइ छ ।

आव ०७५/७६ मा घटेको असुलीलाई भन्सारकर्मीले अस्वाभाविक मानेका छैनन् । यो अवधीमा असुली घटेको नभई लक्ष्य नै बढी भएको उनीहरूको जिकिर छ । प्रमुख भन्सार अधिकृत केशव भण्डारीले लक्ष्य घटनुको पछाडि आयात व्यापारमा ह्रास, वर्षा बाढी र डुवान, जर्जर सडक, विषादी परीक्षणजस्ता विविध कारण रहेको बताए ।

उनकाअनुसार जलेश्वर भन्सारले इन्धन आयातबाट सबैभन्दा बढी राजस्व असुल्दै आएको थियो । भारतको बरौनीबाट आयात हुने पेट्रोलियमबाट जलेश्वर भन्सारले ७० प्रतिशत राजस्व असुल्दै आएको थियो । गएको वर्ष रकसौलमा उत्पन्न ट्राफिक समस्याका कारण वीरगन्ज नाकामा जाने पेट्रालियम पनि केही समय जलेश्वर भन्सारबाटै पास भएका थिए । त्यो कारण यहाँको असुलीमा अप्रत्यासित वृद्धि देखियो । आव ०७५/७६ सम्म आइपुग्दा त्यताको ट्राफिक समस्या समाधान भयो र यताबाट पेट्रोलियमको आयात पनि घट्यो ।

असुली बढनुको वस्तुगत विश्लेषण नगरी वृद्धि भएको अंकका आधारमा आव ०७५/७६ को लक्ष्य तोकिनाले असुली चुनौतीपूर्ण बनेको उनको जिकिर छ । अर्कोतर्फ जलेश्वर भन्सार रुटमा पर्ने नेपाली तथा भारतीय क्षेत्रमा जर्जर सडक, कमजोर पुल र साँगुरो डाइभर्सनका कारण २२ चक्के २८ चक्के ठूला मालवाहक आाउन छाडेका छन् ।

‘आव ०७५/७६ को लक्ष्य भेटन बाधा पुर्‍यो,’ भण्डारीले भने, ‘त्यसपछि असार अन्तिम साताको बाढीले र डुवानले असुलीलाई शून्यमा झारेपछि अशुली ९० प्रतिशतमा सीमित हुन गएको हो ।’ भन्सार कार्यालयकाअनुसार पेट्रोलियमपछि खाधान्न, निर्माण सामग्री र औधोगिक कच्चा पदार्थबाट करिब ३० प्रतिशत असुली भएको छ ।

महोत्तरीबाट हुने निर्यात ब्यापार भने विगत ३ वर्षले शून्यमा झरेको छ । यसअगि यहाबाट सुठो, पिना, पाते चिराइतो, सुनाखरी, अमरिसो, वावियो, रुद्राक्ष, हरियो तरकारी, खाधान्न, प्लाष्टिक पाइप लागायतका नेपाली सामान निकासी हुने गरेका थिए ।

प्रकाशित : श्रावण ३, २०७६ ०९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT