१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रदेशस्तरीय कृषि उद्यम केन्द्र स्थापना

विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत प्रदेशस्तरीय कृषि उद्यम केन्द्र स्थापना गरिएको छ । महासंघकी अध्यक्ष भवानी राणाले महासंघ प्रदेश १ समितिको सचिवालयमा उक्त केन्द्रको बिहीबार उद्घाटन गरिन् ।

प्रदेशस्तरीय कृषि उद्यम केन्द्र स्थापना

२८ वर्षदेखि नेपाल सरकारसँगको सहकार्यमा कृषि उद्यम केन्द्रले कृषि क्षेत्रमा काम गर्दै आइरहेकामा देश संघीयतामा गइसकेपछि त्यसैअनुसार सातै प्रदेशमा केन्द्र स्थापना गर्न लागिएको राणाले बताइन् । प्रदेश १ को राजधानी विराटनगरको बरगाछीमा स्थापना गरिएको केन्द्र पहिलो भएको उनले बताइन् ।


कृषि तथा कृषिजन्य वस्तुहरूसँग सम्बन्धित सबै क्रियाकलापहरू आपूर्ति, उत्पादन, प्रशोधन, पारवहन तथा बजार व्यवस्थापन जस्ता काममा केन्द्रले सघाउने जनाइएको छ । सरकारले ल्याएको कर नीति तथा भेहिकल एन्ड कन्साइनमेन्ट ट्रेकिङ प्रणालीबारे सम्बन्धित निकायमा वार्ता भइरहेको भन्दै राणाले केही दिनभित्रै यसको समाधान हुने बताइन् ।


महासंघ प्रदेश समिति अध्यक्ष नरेन्द्रकुमार खडकाले कृषि क्षेत्रमा व्यावसायिक उत्पादन, प्रशोधन, बजारीकरणका माध्यमबाट रोजगार, स्वरोजगारको संख्या वृद्धि गरी हालको परनिर्भरताको अवस्थालाई आयात प्रतिस्पथापनका माध्यमबाट कम गर्दै लैजानुपर्नेमा जोड दिए । ग्रामीण पर्यटन र कृषि व्यवसायलाई सँगसँगै अघि बढाई स्थानीय स्तरमै आय आर्जन र रोजगारी सृजना गर्ने, मौलिक पहिचान भएका स्थानीय वस्तुको उत्पादन, प्रशोधन र बजार प्रवर्द्धन गर्ने काम केन्द्रले अघि बढाउने उनले जानकारी दिए ।


प्रदेश समिति उपाध्यक्ष राजेन्द्र राउतले केन्द्रले प्रदेशमा रहेका सबै उद्योग वाणिज्य संघसँग समन्वय गरी काम गर्ने बताए । कृषिको प्रचुर सम्भावना रहेको प्रदेश १ मा कृषि व्यवसायका क्षेत्र पहिचान गरी त्यसको विकासमा सघाउ पुर्‍याउने खालका योजना अघि बढाइने जनाए ।


प्रदेश सरकार, महासंघको प्रदेश समितिबीच सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालन गर्न गत माघमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो र महासंघ अध्यक्ष राणाबीच समझदारी पत्रमा हस्ताक्षर भएअनुसार कृषि उद्यम केन्द्रको स्थापना गरिएको हो ।

प्रकाशित : श्रावण ३, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?