२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

हिमशृङ्खला अवलोकन गर्न सुन्तले डाँडा

एलिसा श्रेष्ठ

भोजपुर — भोजपुर सदरमुकामबासी र आसपासका सर्वसाधारणको घुम्न जाने स्थानमध्ये पहिलो रोजाई सुन्तलेडाँडा बनेको छ । सदरमुकामदेखि ११ किलोमिटर दूरीमा पर्ने यो डाँडाबाट मकालु हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

हिमशृङ्खला र पहाडी मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले धेरै संख्यामा आन्तरिक पर्यटक आउने गरेको स्थानीय छिरिङ शेर्पाले बताए । यहाँबाट अरुणनदी, धनकुटा लेगुवा बजार, मैयुङ डाँडा, टेम्केडाँडा, भोजपुर सदरमुकाम, दक्षिणी भेगको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।


सरकारले १ सय नयाँ पर्यटकीय गन्तव्यका रूपमा भोजपुरको टेम्केडाँडा (मुन्दुम ट्रेल) लाई सूचीकृत गरेको छ । भोजपुर सदरमुकाम र संखुवासभा जोड्ने प्रमुख व्यापारिक केन्द्र दिङला बजार जोड्ने सडक सञ्जालको विस्तारसँगै यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।


चहलपहल बढेसँगै आगन्तुकका लागि खान, बस्नको सुविधासहित होटल, लजहरू खुलेका छन् । उत्तरी भेगका मानिसहरूको प्रमुख पैदलमार्ग पनि भएकाले सुन्तलेडाँडा उत्तरी क्षेत्र र सदरमुकाम जोड्ने प्रमुख नाका हो । आव ०७३/७४ मा नगरपालिकाले यहाँको कच्ची सडकलाई स्तरोन्नति गरेर तीन लेनको बाटो बनाएको छ ।


यही रुट हुँदै सदरमुकामदेखि दिङ्लासम्म ल्यान्डरोभर जिप, यात्रुबस लगायतका सवारीसाधन दिनहुँ ओहोर–दोहोर गर्छन् । यस क्षेत्रको चिसो हावा, सौन्दर्य र मीठो आतिथ्यमा जो कोही पनि लोभ्यिने गर्छन् । पर्यटन व्यवसाय प्रवर्द्धन गर्नसके यो डाँडामा आन्तरिक र बाह्य पर्यटक आगमन बढ्ने स्थानीय होटल व्यवसायी गणेश तामाङले बताए । पर्यटन भित्र्याउने उद्देश्यले ०७४ असारमा स्थानीय पान्थले सामुदायिक वनको करिब १४ रोपनी जग्गामा पार्क बनाएको छ ।


तात्कालीन जिल्ला वनको वृक्ष सुधार, वृक्षरोपण तथा निजी वन कार्यक्रमअन्तर्गत आठ लाख बजेटमा पार्क बनाइएको थियो । पार्कभित्र बस्ने पाटी–चौतारी, भोजभत्तेरका लागि आवश्यक चुल्होचौका, खानेपानीका लागि धारा, चर्पी, सुन्दर सफा खुला चउर, वरपर तारघेराबार गरिएको छ ।


सुन्तलेडाँडाकै नामबाट परिचित सुन्तले बजारमा करिब २४ परिवार बसोबास गर्छन् । साथै अधिकांशले होटल तथा थोक किराना पसल खोलेर बसेका छन् । समुद्री सतहदेखि सरदर २६ सय मिटरको उचाईमा रहेको यो ठाउँ बाह्रैमहिना प्रायः चिसो हुन्छ ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?