कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराउँदै राँके मेलाको रौनक

दुई सय वर्षको इतिहास बोकेको सात दिन सात रातसम्म चल्ने मेला एक दिनमा खुम्चियो
चन्द्र कार्की

चित्रे, तेह्रथुम — धनकुटाका र तेह्रथुमको सीमा चित्रे बजारमा बर्सेनि लाग्दै आएको पूर्वकै पुरानो राँके मेलाको रौनक हराउँदै गएको छ । दशकअघि सम्म चित्रे र वसन्तपुर बजारमा एक सातासम्म मेला लाग्थ्यो । 

हराउँदै राँके मेलाको रौनक

मेलामा पूर्वी पहाडी जिल्लाका युवा–युवती र अधवैंसेहरूको बाक्लो उपस्थिति हुन्थ्यो । बजारमा निकै भिडभाड हुन्थ्यो । तर अहिले अवस्था त्यस्तो छैन । बजार एक दिन पनि मजाले लाग्दैन ।


मेला भर्न पूर्वका धनकुटा, धरान, इटहरी, झापा, भोजपुर, संखुवासभा, तेह्रथुम र भारतको दार्जिलिङदेखिका युवा–युवती आउने गर्थे । मेलामा आउनेहरू अधिकांश आफ्ना प्रेमी र प्रेमिकाका साथ आउने गर्थे । वसन्तपुर र चित्रे बजारका सबै जसो होटलहरू मेला सुरु हुनु एक साता अगावै ‘बुक’ भइसकेका हुन्थे । वर्षमा एकपटक साउन २ गतेबाट सुरु हुने यो मेला भर्न पूर्वका २० देखि २५ हजार जनासम्म भेला हुन्थे । तर अहिले मुस्किलले ३ हजार जना पनि भेला हुँदैनन् ।


सात दिन सात रातसम्म भव्य रूपमा लाग्ने यो मेला अहिले एक दिनमा खुम्चिएको छ । दिउँसो चित्रे बजारमा मेला लाग्ने र रात परेपछि ६ किलोमिटर टाढाको वसन्तपुर बजारमा त्यो मेला सर्थ्यो । ‘अहिले मेलाको रौनक पूरै हराएर गयो’ वसन्तपुर बजारमा रहेको डायमण्ड होटलका सञ्चालक रत्न तामाङले भने, ‘अहिले टाढाका गाउँबाट मेला भर्न मान्छे नै आउँदैनन् ।’ पूर्वी पहाडी जिल्लाकै पुरानो र ठूलो मेला भए पनि पछिल्लो समयमा आएर मेलाको अस्तित्व समाप्त हुँदै गएको तामाङको भनाइ छ ।


स्थानीय बुढापाकाका अनुसार यो मेला चित्रे र वसन्तपुरमा २ सय वर्षअघिदेखि लाग्न थालेको हो । मेलाको प्रमुख आकर्षण लिम्बू समुदायको धान नाच हो । ३६ प्रतिशत लिम्बू समुदायको बसोबास रहेको तेह्रथुममा यिनै समुदायको सिको गरेर अन्य समुदायका युवा–युवतीसमेत एक आपसमा हात समाएर माया–पिरती साटासाट गरिरहेका भेटिन्थे ।


तर, पछिल्लो पुस्ताका लिम्बू युवा–युवतीमा हात समाएर धान नाच्ने संस्कार कम हुँदै गएको छ । अहिले प्रयोगमा आइरहेका मोबाइल, फेसबुक, म्यासेज, भाइबरजस्ता इन्टरनेट तथा सामाजिक संजालमा व्यस्त रहनाले मेलाको आकर्षण हराउँदै गएको लिम्बू समुदायका अगुवाहरूको भनाइ छ ।


मेला भर्न आएका कतिपय युवा–युवती मेलामै चिनजानपछि विवाह समेत गर्दथे । त्यसैले बुढापाकाहरू यो मेलालाई ठिटा–ठिटीहरूले ‘जोडी बाँध्ने मेला’ भनेर ठट्टा गर्दथे । तर, अहिले अवस्था त्यस्तो छैन । मेला भर्न आएका कुनै पनि ठिटा–ठिटीले आपसमा हात समाएर नाचगान गर्दैनन् । मोबाइल र फेसबुक म्यासेन्जरमै आपसी भावना साटिने भएकाले माया–पिरती गाँस्ने तरिका पनि पूरै परिवर्तन भएको चित्रे बजारका होमराज रायमाझीले बताए ।


राँके मेलाको रौनकसँगै पुरानो संस्कृति पनि हराउँदै गएको उनको भनाइ छ । लेकाली क्षेत्रमा लाग्ने यो मेलामा औल क्षेत्रमा उत्पादन हुने आँप, लिची, कटहर लगायतका फलफूलको अत्यधिक व्यापार हुने गर्छ । यो मेलालाई औल र लेकाली क्षेत्रमा बसोबास गर्नेहरूले आपसमा भेटघाट र चिनजान गर्ने महत्त्वपूर्ण अवसरका रूपमा पनि लिने गरेको स्थानीयको भनाइ छ ।


औल क्षेत्रबाट मेला भर्न आएका बासिन्दाहरू लेकाली क्षेत्रमा उत्पादन हुने आलुसँग फलफूल साटेर फर्किन्छन् । लेकाली क्षेत्रका बासिन्दा आलुसँग आँप, कटहर जस्ता फलफूल साट्थे । असारको रोपाइँ सकेका किसानको समेत मेलामा उल्लेख्य उपस्थिति हुने गर्थ्यो । तर, यो वर्ष राँके मेलामा त्यस्ता किसानको संख्या खासै देखिएन ।


गाउँ–गाउँबाट अघिल्लो दिनदेखि नै मेला भर्न उमेर ढल्किएकाहरू समेत बजारमा आउँदा व्यापार राम्रैसँग फस्टाउने गर्दथ्यो । ‘राँके मेला आयो गयो, तर व्यापारमा खासै असर परेन’ वसन्तपुर बजारका होटल व्यवसायी हेमराज बानियाँले भने । बजार भर्न आएकाहरू सोही दिन नै घर फर्किने गरेकाले पनि होटलको व्यापार नबढेको उनको भनाई छ ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?