१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

लोकसेवा परीक्षामा साढे १५ हजार सामेल

धनकुटा — लोकसेवा आयोग धनकुटाले सञ्चालन गरेको पाचौं तह (नायब सुब्बा) र खरिदार तहको परीक्षामा १५ हजारभन्दा बढी परीक्षार्थी सामेल भएका छन् । 

नासुका लागि ८ हजार ३ सय ९ र खरिदारका लागि १० हजार ४ सय ९९ ले फारम भरेकोमा दुवैमा औषत ८० प्रतिशत परीक्षार्थीले परीक्षा दिएको आयोग स्रोतले जनाएको छ ।


नासुमा ६ हजार ६ सय ६२ र खरिदारमा ८ हजार ७ सय २१ जना परीक्षामा सामेल भएको लोकसेवा आयोग धनकुटाका उपसचिव पवनकुमार तिमल्सिनाले जानकारी दिए । समावेशी तथा खुला कोटामा धनकुटा र विराटनगरमा परीक्षा सञ्चालन गरिएको थियो । दुवै परीक्षा शनिबार एकै दिन बिहान र दिउँसो सञ्चालन गरिएको छ ।


२० प्रतिशत परीक्षार्थी अनुपस्थित

लोकसेवा आयोगले सञ्चालन गरेको नायब सुब्बा र खरिदार पदका परीक्षामा २० प्रतिशत परीक्षार्थी अनुपस्थित भएका छन् । खरिदार र नासु पदका लागि झन्डै १९ हजारले फारम भरेको मध्ये १५ हजार ३ सय ८३ जनाले मात्र परीक्षा दिएका छन् ।


परीक्षा हुने दिन यातायात बन्दको हल्ला र मौसमको प्रतिकूलताले २० प्रतिशत परीक्षार्थी अनुपस्थित भएको अनुमान आयोग स्रोतको रहेको छ । नासुमा फारम भर्ने मध्ये धनकुटाका विभिन्न २४ केन्द्रबाट ७८ प्रतिशत र विराटनगरका विभिन्न केन्द्रबाट ८१ प्रतिशत परीक्षार्थी सामेल भएको उपसचिव तिमल्सिनाले बताए । यस्तै, खरिदारमा विराटनगरमा ८४ र धनकुटामा ८१ प्रतिशतले

परीक्षा दिए ।


परीक्षाभन्दा बासको सकस

मोरङबाट लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षा दिन धनकुटा पुगेकी आरती खनाललाई परीक्षा दिनेभन्दा बास बस्ने समस्याले पिरल्यो । विराटनगरमा परीक्षा केन्द्र भए पनि उनले धनकुटा केन्द्रमा परीक्षा दिनुपर्ने भएपछि घरपायकको केन्द्रको रोजाईमा परिनन् । होटल भरिभराउ भएपछि बासस्थान खोजीमा बढी समय दिनुपरेको गुनासो पोखिन् ।


फारम भर्दा परीक्षा केन्द्रको रोजाईको व्यवस्था गरिनुपर्ने उनको तर्क छ । ‘कम्तीमा सुरुमा फारम भर्दा आफ्नो केन्द्र रोज्ने व्यवस्था गरिनुपर्छ,’ उनले भनिन्, ‘व्यावहारिकता तर्फ पनि आयोगको उचित ध्यान जान जरुरी छ ।’ विराटनगरबाट परीक्षा दिन धनकुटा पुगेकी कामना फागोको पनि उस्तै भनाइ छ । होटल नपाएपछि आफन्तको खोजी गर्दै बास बस्नु परेको उनले सुनाइन् । विराटनगरकै राम पौडेलले बास नपाएपछि एउटै कोठामा कोचिएर धेरै जना बस्नु परेको बताए । कतिपय परीक्षार्थी हिले, पाख्रिबाससम्म पनि बासका लागि पुगेका थिए ।


तर, परीक्षार्थीलाई विभिन्न व्यक्ति तथा संस्थाले पनि बस्ने व्यवस्था मिलाएका थिए । धनकुटा बजारबासीले होमस्टेका रूपमा कोठा उपलब्ध गराएको स्थानीय सीता दाहालले बताइन् । अभाव भएकालाई आफ्नै घरको कोठा उपलब्ध गराएको उनले जानकारी दिइन् ।


पत्रकार महासंघका अध्यक्ष राजेश्वर श्रेष्ठले बासको अभाव खेपेका ४० भन्दा बढीलाई बजारका निजी घरमा बासको व्यवस्था मिलाएको बताए । यस्तै, दलित एकता सञ्जालले ४० जनालाई निःशुल्क खाना र बासको व्यवस्थापन गरेको सञ्जालका अध्यक्ष नारायण विश्वकर्माले जानकारी दिए ।

प्रकाशित : श्रावण ६, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?