मातहतको मन्त्रालयका कर्मचारी घुस रकमसहित पक्राउ परेपछि मुख्यमन्त्रीको निर्देशन

देवनारायण साह

मोरङ — आफ्नो मातहतका मन्त्रालयअन्तर्गतका कर्मचारी घुस रकमसहित पक्राउ परेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीहरुलाई अनियमितता रोक्न निर्देशन दिएका छन् । राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रदेशका कर्मचारीहरुको सोमबार भेला बोलाई यस्तो निर्देशन दिएका हुन् । 

मातहतको मन्त्रालयका कर्मचारी घुस रकमसहित पक्राउ परेपछि मुख्यमन्त्रीको निर्देशन

‘जलस्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका प्रमुख सिनियर डिभिजन इञ्जिनियर मोहनबाबु यादव रंगेहात १ लाख ८० हजार कमिसनको नाममा घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गर्छन्,’ उनले भने, ‘यो क्रम प्रदेश मन्त्रालयका सचिवहरुसम्म आए प्रदेशको अवस्था कस्तो हुन्छ र यसले कस्तो सन्देश जान्छ । त्यसैले बेलैमा सबैलाई गम्भीर र सचेत हुनु जरुरी छ ।’


कर्मचारीहरुले कमिसनको नाममा घुस माग्ने गरेको थुप्रै सूचना आफूले प्राप्त गरेको हुँदा मोहनबाबु यादव जस्ता थुप्रै कर्मचारी थपिने अवस्था रहेको प्रति कर्मचारीहरुलाई राईले सचेत गराए । ‘कुन कार्यालय कसरी चल्छ हामीले सूचना पाएका छौं, दिउँसै मातिएर कार्यालयमा गएर ठाडै घुस माग्ने चल्न विद्यमान छ,’ उनले भने, ‘यो अत्यन्तै लज्जास्पद कार्य भएकोले घुस लिने सञ्जाल अब तोड्नुको विकल्प छैन ।’ सबैले आ-आफ्नो व्यवहार सुधार्दै नयाँ नेपाल निर्माण जुट्न उनले आहृवान गरे ।


उनले खुल्लेयाम घुस लिने काम कस्को आडमा भइरहेको छ र कर्मचारीले कमिसनको नाममा घुस माग्दा माथिकालाई दिनु पर्ने भन्दै लिने गरेकोले यो माथिको व्यक्तिको नाम सार्वजनिक गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।


‘घुस लिन लगाउनेको पछाडि को छन् ?, मुख्यमन्त्री, मुख्यमन्त्रीको कार्यालय, सचिवालय, मन्त्रीहरु, प्रमुख सचिव, प्रमुख सचिवको सचिवालय वा कुनै अमुक व्यक्ति कसको आडमा यो कार्य भइरहेको छ ?,’ मुख्यमन्त्री राईले भने, ‘मुख्यमन्त्रीको बारेमा कुनै प्रकारको भ्रम नपार्न आग्रह गर्दछु । २६ वर्षको उमेरमा सांसद भएर महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै मुख्यमन्त्री बनेको र त्यतिकै इतिहासमा नाम लेखाउन र सेटिङ्ग मिलाएर पैसा कमाउन आएका होइनौं ।’ कमिसनको नाममा घुस लिने आफ्ना सचिवालय, मन्त्रालय र मन्त्रिपरिषद्का मन्त्रीहरु लगायत कसैलाई पनि छुट नमिल्ने उनले प्रतिवद्धता जनाए ।


आफ्नो गलत कामले सबैलाई कलंकित नगर्न र सचेत भएर गम्भीरतापूर्वक इमान्दार भएर काम गर्न राईले कर्मचारीहरुलाई निर्देशन दिए । ‘स्वच्छ, सभ्य र समृद्ध प्रदेश निर्माण गर्ने संकल्प बोकेर मुख्यमन्त्री पदमा आएकोले त्यो कार्यमा सबैले इमान्दार भएर लाग्नु पर्छ,’ राईले भने, ‘नैतिक मूल्यको जगमा उभिएर नेतृत्व गर्न चाहेको र त्यही इच्छा शक्तिबाट सबैको साथ चाहन्छु ।’ सबैलाई हेर्ने आफ्नो आँखा एउटै हुने भएकोले कसैलाई काँखी च्याप्ने र कसैलाई पाखा लगाउने र कुनैपनि आग्रह पूर्वाग्रहको मानसिकताबाट प्रदेश सञ्चालन नगर्ने उनले प्रतिवद्धता जनाए ।


डेढ वर्षको समय धिमा गतिमा प्रदेशको काम अघि बढ्यो तर अब तीव्र गतिमा कामहरु अघि बढाउने बेलामा सबैलाई त्यही गतिमा काम अघि बढाउन राईले निर्देशन दिए । ‘प्रदेश रुपी जहाज निर्माण भइसकेको छ तर त्यसका पार्टपूर्जा रुपी कर्मचारी वर्ग पूरानै भएकोले मर्मत गर्दै तीव्र गतिमा अघि बढाउने बेला आएको छ,’ उनले भने, ‘पटकपटक बिग्रिने पार्टपूर्जाहरु फाल्नुको विकल्प नरहने कुरा सबैले बुझ्नु जरुरी छ ।’

प्रदेशमा भइरहेको हरेक गतिबिधिलाई वाच डगको भूमिकाममा नियालिदिन सञ्चारकर्मीहरुलाई मुख्यमन्त्री राईले आग्रह गरे ।

प्रकाशित : श्रावण ६, २०७६ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?