२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सचिव घिमिरे र प्रमुख गौतमको सरुवा

विराटनगर — प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरे र यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुख भीम गौतमको ३ महिनामै सरुवा गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका जलस्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सिडिई मोहनबाबु यादव १ लाख ८० हजार घुस रकमसहित अख्तियारले पक्राउ गरेपछि उनीहरुको सरुवा भएको हो ।

मुख्यमन्त्री शेरधन राई मन्त्री रहेको उक्त मन्त्रालयको मंगलबारदेखि हुने भनिएको पूर्व निर्धारित समिक्षा बैठकसमेत एक हप्ताका लागि स्थगित भएको छ । राईले एक सातापछि मात्रै समीक्षा बैठक हुने कर्मचारीहरुलाई जानकारी गराए ।


‘चालु आर्थिक वर्षको सबै काम जेठ १५ भित्रै’

मुख्यमन्त्री राईले चालु आर्थिक वर्षको सबै योजना र बजेटको काम जेठ १५ गते भित्र सक्ने प्रतिवद्धता जननाए । ‘अहिले आवधिक योजनाको र यस वर्ष बजेटहरु खर्च गर्ने मापदण्डहरु तोक्ने काम भइरहेको छ,’ उनले भने, ‘आउँदो जेठ १५ भित्र सबै योजनाको काम पूरा गर्ने कार्य योजना बनाएर र अनुगमनको राम्रो व्यवस्था गरी नतिजामा आधारित मूल्यांकन प्रणालि स्थापित गरेर बजेटको कार्यान्वयन गर्छौं ।’ जेठ १५ गतेपछि प्रदेश सरकारको बजेटबाट कुनै किसिमको तालिम, टेण्डर, विकास निर्माणलगायत कुनै पनि काम नहुने राईले प्रतिवद्धता जनाए ।


उनले गत आर्थिक वर्षको तेस्रो चौमासिकबाट मात्रै विकास निर्माणको काम सुरु भएकोले जेठ र असारसम्मै काम गर्नैपर्ने बाध्यात्मक परिस्थिति रहेको कुरो सबैलाई बुझिदिन आग्रह गरे । ‘गत आर्थिक वर्षमा भए गरेका कामहरुको सुक्षम रुपमा अनुगमनको काम हुन्छ,’ उनले भने, ‘कहिकतै कुनै किसिमको कमी कमजोरी फेला परेको अबस्थामा कुनै सुनुवाइ हुने छैन ।’

प्रकाशित : श्रावण ६, २०७६ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?