कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

अब्बल बन्दै सामुदायिक वन

देवनारायण साह

मोरङ — पथरीशनिश्चरे २ स्थित हरियाली सामुदायिक वन मुलुकमै अब्बल भएको छ । सामुदायिक वन व्यवस्थापन र संरक्षण, पारदर्शिता, गरिबी निवारणलगायतका पक्षमा उत्कृष्ट काम गरेको ठहर गर्दै वन तथा वातावरण मन्त्रालयले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार २०७६ प्रदान गरेको छ ।

अब्बल बन्दै सामुदायिक वन

२०५६ सालमा हरियाली सामुदायिक वन उपभोक्ता समूह गठन गरी २ सय ४५ दशमलव ९४ हेक्टरको वन समुदायले संरक्षण सुरु गरेको हो । रूख बिरुवाविहीन र चरिचरणलाई समितिले संरक्षण गरी हराभरा बनाएपछि जिल्ला वन कार्यालय मोरङले २०७१ पुस १ गते समुदायमा हस्तान्तरण गरेको हो ।


पथरीशनिश्चरे नगरपालिकाको वडा २, ३ र ७ को १ हजार २८ घरधुरी उपभोक्ता रहेको उक्त वनमा २०७३ देखि वैज्ञानिक वन व्यवस्थापन प्रविधिबाट काठ उत्पादन सुरु गरेको छ । वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत रूख कटान गरेपछि पुनरुत्पादित बिरुवा तारबारबिना संरक्षण गर्न उक्त सामुदायिक वन उपभोक्ता समिति सफल भएको छ । १० वर्षमा हुर्किने बिरुवा समितिले तीन वर्षभित्रै हुर्काउन सफल भएको हो । सामुदायिक वन क्षेत्रभित्र निर्माण गरिएका १ सय ३० वटा पक्की चिहानसमेत समितिले भत्काएर वृक्षरोपण गरी वन विकास गरेको छ ।


उक्त सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष काबुलबहादुर मगरले समुदायमा हस्तान्तरण भएदेखि वनमा अग्नी रेखा निर्माण गरी आगलागी हुन नदिएको र चरिचरणका लागि एउटा पनि गाइबस्तु प्रवेश गर्न नदिएको बताए । ‘वार्षिक २८ हेक्टर वनमा झाडी सफाई र बाक्लो बिरुवा काट्छाँट् गर्दै आएका छौं,’ उनले भने, ‘वनमा पूर्ण रूपमा काठदाउराको चोरी तस्करी नियन्त्रण गरी गरिबी निवारण र सामुदायिक विकासको क्षेत्रमा काम गरेका कारण मन्त्रालयले मूल्यांकन गरी पुरस्कृत गरेको हो ।’ चालु आर्थिक वर्षमा उक्त समितिले ६३ वटा सालका रूख कटान गरी करिब ८ हजार क्युबिफिट सालको काठ उत्पादन गरेको सहायक वन डिभिजन कार्यालय पथरीका प्रमुख मो. अल्लाउद्दिनले बताए ।


‘उत्पादित काठ समितिले ए, बी र सी वर्गमा विभाजन गरी क्रमशः १ हजार ८ सय र ६ सय प्रति क्युबिफिटमा उपभोक्ता समितिलाई ५० देखि १ सय क्युबिफिटसम्म आवश्यकताका आधारमा बिक्री गर्दै आएको छ,’ उनले भने, ‘समितिले गरिबीको रेखा मुनि रहेका परिवारलाई प्रति वर्ष २ परिवार समेट्ने गरी शौचालयसहितको दुई कोठे घरसमेत निर्माण गर्दै आएको छ ।’


समितिले चालु वर्षमा ८० लाख आम्दानी गरेको छ । ‘सामुदायिक वनको संरक्षण र विकासका लागि हरियाली सामुदायिक वन मुलकमै प्रेरक छ,’ उनले भने, ‘उपभोक्ता समितिले गरेको मिहिनेत र कामले मुलुकका २ हजारभन्दा बढी सामुदायिक वनलाई उछिनेर राष्ट्रिय पुरस्कार जित्न सफल भएको हो ।’


गरिबी निवारण कार्यक्रमअन्तर्गत आव ०७४/७५ देखि बर्सेनि ५/५ लाख थप्दै जाने गरी घुम्ती कोषको स्थापना गरेको अध्यक्ष मगरले बताए । उनले घुम्ती कोषबाट समितिका सदस्यहरूलाई आयआर्जनमूलक कामका लागि प्रतिसदस्य १० देखि ६० हजारसम्म न्यून ब्याजमा सहुलियत ऋण उपलब्ध गराउँदै आएको बताए ।


उपभोक्ता समितिले थोरै समयमा उदाहरणीय वनको संरक्षण र व्यवस्थापन गर्दै आएकाले २०७५ सालमा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय सान्त्वना पुरस्कार प्राप्त गरेको थियो । यस्तै, सोही वर्ष जिल्ला वन कार्यालय मोरङबाट जिल्लाको उत्कृष्ट, २०७४ मा जिल्लामा दोस्रो र २०७३ मा जिल्लामा सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।

प्रकाशित : श्रावण ७, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?