ठेकेदारको धरौटी जफत

डिभिजन सडक कार्यालयले निर्माणको ठेक्का लिएर काम नगर्ने सात कम्पनीलाई जरिवाना र ३ वटाको ३ करोड ४१ लाख धरौटी जफत गरेको छ 
दीपेन्द्र शाक्य

संखुवासभा — निर्माणको ठेक्का लिएर काम नगर्ने आधा दर्जन बढी ठेकेदार कम्पनी कारबाहीमा परेका छन् । तुम्लिङटार डिभिजन सडक कार्यालयले समयमै काम सम्पन्न नगरेका ७ वटा निर्माण कम्पनीलाई जरिवाना तिराएको छ । उसले ३ वटा निर्माण कम्पनीबाट ३ करोड ४१ लाख धरौटी जफत पनि गरेको छ । 

ठेकेदारको धरौटी जफत

तुम्लिङटार डिभिजन सडक कार्यालयलका अनुसार ओयसिस इन्जिनियर्स एन्ड बिल्डर्सलाई १७ लाख, कोसी एन्ड न्यौपाने निर्माण सेवालाई १६ लाख ८० हजार, हरिहरि निर्माण सेवालाई १४ लाख ५७ हजार असुल गरिएको छ ।


त्यस्तै, सगरमाथा लोहनी ब्रदर्स जेभीलाई २ लाख ५० हजार, सर्वउद्धार सगरमाथा दोभान जेभीलाई ६ लाख ५० हजार, याक्थुहाङ निर्माण सेवालाई १४ लाख ५० हजार, विनायक निर्माणलाई १८ हजार र बज्र एन्ड सन्सलाई ११ हजार जरिवाना तिराइएको छ ।


स्वच्छन्द निर्माण सेवाले न्यून काम गरेपछि २ करोड २१ लाख पेस्की रकम जफत गरेको छ । कान्छाराम एनवी जेभीसँग १ करोड ९ लाख र मना कन्स्ट्रक्सनसँग ११ लाख धरौटी जफत गरेको जनाएको छ ।


ओयसिस इन्जिनियर्स एन्ड बिल्डर्सले भोजपुरको टक्सार मानेभन्ज्याङ बैकुन्ठे यु वालांखा सडक ठेक्कामा लिएको थियो । २०७२ असार १० मा ठेक्का सम्झौता गरेर २०७५ असार २५ सम्म निर्माण सम्पन्न नभएपछि १७ लाख जरिवाना तिरेको हो । कोसी एन्ड न्यौपानेले भोजपुरको दिङला नेपालेडाँडा मझुवा चालिसे गोथेबजार दोभान फेदी साल्पा सडक ठेक्कामा लिएको थियो । २०७२ साउन १२ मा ठेक्का सम्झौता गरेर २०७४ असार २४ मा सम्पन्न गर्नु पर्ने भए पनि काम पूरा गरेको थिएन । उसलाई पनि १६ लाख ८० हजार जरिवाना असुलेको सडकले जनायो ।


इखुवा खोला पुलको ठेक्का लिएको हरिहरि निर्माण सेवाले पनि १४ लाख ५७ हजार जरिवाना तिरेको छ । उसले २०६९ असार २६ देखि २०७५ असार २५ मा सक्ने गरी पुलको ठेक्का लिएको थियो । सर्वउद्धार सगरमाथा दोभान जेभीले चिर्खुवा खोला पुल २०६८ असार १९ मा ठेक्का लिएर २०७५ असार २५ मा सक्ने भनेको थियो ।


काम सम्पन्न नभएपछि ६ लाख ५० हजार जरिवाना तिरेको छ । वसन्तपुर गुफापोखरी सडक खण्ड निर्माणको ठेक्का लिएको सगरमाथा लोहनीले पनि काम पूरा गरेन । उसले ६ लाख ५० हजार जरिवाना तिरेको छ । याक्थुहाङ निर्माण सेवाले टुटेदेउराली मुढे सडकको काममा लापरबाही गरेर काम सम्पन्न नगरेपछि १४ लाख ५० हजार जरिवाना तिरेको छ ।


संखुवासभा र भोजपुर जोड्ने अरुण नदीमाथिको पक्की पुलको ठेक्का लिएर ३० प्रतिशत मात्र काम गरेर छाडेको स्वच्छन्द निर्माण सेवाको २ करोड २१ लाख धरौटी जफत गरिएको प्रमुख कुवेर नेपालीले बताए । उनका अनुसार पटकपटक निर्माणको कामलाई अघि बढाउन पत्राचार गरे पनि बेवास्ता गरेपछि स्वच्छन्दको धरौटी जफत गरिएको हो । यो पुल २०६७ असार २५ मा सम्झौता भएको थियो ।


२०७३ कात्तिक २० मा सम्पन्न हुनुपर्ने पक्की पुल अलपत्र अवस्थामा छाडिएको छ । पुलका लागि केही पिल्लर मात्र उठाउने काम भएको छ । यो पुल निर्माण नहुँदा भोजपुर र संखुवासभाका करिब १५ हजार बढी स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको छ । स्थानीय काठको डुंगाबाट जोखिम मोलेर अरुण वारपार गर्ने गर्छन् ।


उनका अनुसार याक्खा चोक पिलुवा सडक निर्माणका लागि ठेक्का पाएका कान्छाराम एनवी जेभीले पनि सडक अलपत्र छाडेका छन् । वर्षातका बेलासमेत सडक मर्मतमा बेवास्ता गरेपछि धरौटी जफत गरिएको उनले बताए । ‘न्यून काम गर्ने ठेकेदारलाई कारबाही गरेका हौं,’ उनले भने, ‘सडकको काम ठेक्का लिने र पेस्की रकम लिएर काम नगरेपछि कारबाही गरेका हौं ।’


कान्छाराम एनवीले उक्त सडक २०७५ असार २२ मा सम्झौता गरेका थिए । मना कन्स्ट्रक्सनले कात्तिके घाटमा फेरी निर्माणका लागि २०७२ असार ३० मा सम्झौता गरे पनि २०७३ माघ ३० सम्म केही काम नगरे पछि ११ लाख धरौटी जफत गरिएको हो ।

प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतम पर्याप्त बजेट भएर पनि ठेकेदारका कारण विकास निर्माणमा यो जिल्ला पछि परेको बताउँछन् ।

प्रकाशित : श्रावण ७, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?