कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

ट्युसन पढ्नेको सदरमुकाममा लर्को

ताप्लेजुङ — सरस्वती च्यारिबुक माध्यमिक विद्यालय लेलेपकी अनुष्का राई अहिले कक्षा १० मा पढ्छिन् । उनले आगामी चैतमा एसईई परीक्षा दिनुपर्ने छ । फक्ताङलुङ गाउँपालिका ६ इलाडाँडा घर भएकी उनको स्कुल असारदेखि बर्खे बिदा भएको छ ।

ट्युसन पढ्नेको सदरमुकाममा लर्को

साउन १५ देखि खोल्ने गरी विद्यालय बर्खे बिदा गरिएको हो । बर्खामा खोलानाला बढ्ने, बाढीपहिरोको त्रास हुने र घरबाट विद्यालयसम्म आउन बालबालिकालाई कठिन हुने भएकाले प्रत्येक वर्ष विद्यालय बिदा गर्ने प्रचलन छ । धान, मकै, कोदोजस्ता अन्नबाली लगाउने मुख्य सिजन भएकाले कतिपय बालबालिकाले परिवारलाई सहयोग पनि गर्छन् । त्यसका लागि पनि अभिभावकले यो सिजनमा बिदा चाहन्छन् । आगामी चैतमा एसईई परीक्षामा सामेल हुने अनुष्का भने अहिले सदरमुकाम फुङलिङ झरेकी छन् । पढ्नकै लागि झरेकी उनी कान्तिपुर ट्युसन सेन्टरमा भर्ना भएकी छन् ।


आठराई त्रिवेणी गाउँपालिकाको सरस्वती मावि हाङपाङकी सनम गुरुङ पनि सदरमुकाममा छन् । सदरमुकाम फुङलिङबाट तीन घण्टाको पैदलमा घर भएकी उनी असार पहिलो साता सदरमुकाम आएकी हुन् । अभिभावकले घरैबाट ट्युसन सेन्टरको बन्दोबस्त मिलाइदिएपछि आएकी उनी साउन १५ गते घर फर्कने छिन् । फुपूको घरमा बसेर पढ्दै आएकी उनीसँग एक जना साथी पनि छिन् ।


लेलेपकी अनुष्का र हाङपाङकी बिनु मात्रै नभएर जिल्लाका ग्रामीण क्षेत्रका कक्षा १० का अधिकांश विद्यार्थी यतिवेला सदरमुकाम फुङलिङका ट्युसन सेन्टरमा छन् । एक ट्युसन सेन्टरका सञ्चालकका अनुसार करिब ८ सय विद्यार्थी सदरमुकाममा अध्ययनरत रहेको अनुमान छ ।


यी सबै आगामी चैतमा हुने एसईईको तयारीका लागि आएका हुन् । आएका सबै विद्यार्थी गणित, विज्ञान र अग्रेजीको ट्युसन पढ्छन् । गणितको ट्युसन पढाउने शिक्षक भीम कार्कीका अनुसार सदरमुकाम आएका हरेक विद्यार्थीको पहिलो रोजाइ गणित हुने गरेको छ । उनीहरूले एक महिना पढेको ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । यो शुल्कमा प्रत्येक दिन २ घण्टा पढाउने उनले बताए ।


यस वर्ष माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रमणि पौडेल विज्ञान र गणितका शिक्षक बिदामा घर जाने भएकाले विद्यार्थीले ट्युसन सेन्टर जानुपरेको बताउँछन् । विद्यार्थीले पनि बाहिर जाने खोज्ने र उनीहरूको अधिकार र स्वतन्त्रता हनन गर्न पनि नमिल्ने भएकाले रोजाइ सदरमुकामको ट्युसन भएको पौडेलले बताए । अर्का शिक्षक सन्तोष भट्टराई यसै वर्ष भएको शिक्षक समायोजनले गणित विज्ञानका धेरै शिक्षक नभएका कारण पनि विद्यार्थी सदरमुकाम आएको बताउँछन् । तर यसरी विद्यार्थी बिदामा ट्युसन पढ्न सदरमुकाम आएको भने आधा दशक भएको छ । ‘

प्रकाशित : श्रावण ८, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?