२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

किन महानगर जहिल्यै डुब्छ ?

अव्यवस्थित बसोबास, प्राकृतिक निकासको विनाश र अतिक्रमण मुख्य समस्या
देवनारायण साह

मोरङ — प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका बर्सेनि डुबानमा पर्दै आएको छ । वर्षायाममा जमेको पानीको सहज निकास नहुँदा महानगरबासी डुबानको समस्या झेल्न बाध्य छन् ।

किन महानगर जहिल्यै डुब्छ ?

दुई वर्षअघि भएको अविरल वर्षाले विराटनगर अत्यधिक प्रभावित भएको थियो । अधिकांश घरमा पानी पसेर करोडौंको क्षति भएको थियो । त्यो बेला विराटनगर विमानस्थल डुबान भएर १५ दिनसम्म हवाई सेवा अवरुद्ध रह्यो । नगर क्षेत्रमा रहेका सरकारी कार्यालयमा पानी जमेर सेवाग्राही प्रभावित भएका थिए ।


असार अन्तिम सातादेखि सुरु भएको वर्षाले यस वर्ष पनि महानगरका धेरै घर डुबानमा परे । वर्षाले विराटनगर ८ को सुकुम्बासी बस्ती, १२ को बखरी, सिमराही, १५ को पारिजात र मुसहरी टोल, ६ को ब्रह्मपुरा र रामपुर डुबानमा परेका थिए । वडा ७ र १६ मा समेत घर–घरमा पानी पसेको थियो ।


सहिद रंगशालामा प्रदेश १ सरकारले आयोजना गरेको मुख्यमन्त्री गोल्डकप प्रतियोगिताको खेल हुन नसकेपछि धरानमा सारिएको थियो । २०२८ सालमा लगातार २२ दिनसम्म झरी परेर विराटनगर जलमग्न भएको जानकारहरू बताउँछन् । उनीहरूका अनुसार २०३६ र २०४४ सालमा पनि वर्षाले विराटनगर जलमग्न हुँदा अधिकांश घरमा पानी पसेको थियो ।


पछिल्लो समय अव्यवस्थित घर निर्माण, पानीको प्राकृतिक निकास मासिनु, आवस्यक सर्वेक्षण नै नगरी सर्वसाधारणको घरभन्दा अग्लो सडक र नाला निर्माण, प्लाष्टिकजन्य फोहोरले पानीको बहाब रोकिनु, सिंघिया र केसलिया खोला अतिक्रमण र दोहनले क्षति बढदै गएको छ ।


विराटनगरका ८४ वर्षीय माधवप्रसाद घिमिरेले अहिले जस्तो पहिले वर्षा र बाढीले विराटनगरमा क्षति नहुने गरेको बताए । ‘पहिले विराटनगरको मूल बजारबाट बग्ने घोघा पैनी, बस्दा पैनीलगायतबाट वर्षाको पानी निकास हुन्थ्यो,’ उनले भने, ‘अहिले त्यो मासेर कतिपयले घर निर्माण गरेका छन् भने कतिपय ठाउँमा महानगरले नै सडक निर्माण गरेको छ ।’


स्थानीय दधिराज सुवेदीका अनुसार विराटनगरको पूर्वमा रहेको सिंघिया र पश्चिममा रहेको केसलिया खोला अतिक्रमण र खोला किनारमा भएको अव्यवस्थित बस्ती निर्माणले पनि पानीको प्राकृतिक बहाव रोकिएर पानी जमेर घर–घरमा पस्ने गरेको छ ।


इन्जिनियर कृष्णहरि पोखरेलले विराटनगर डुबान हुनुको प्रमुख कारण भौतिक संरचनाको अव्यवस्थित निर्माण भएको बताए । ‘विराटनगरको पानी निकास हुने पुराना बस्ता पैनी, दुधुवा खोल्सा र घोघा पैनी अहिले मासिएका छन्,’ उनले भने, ‘उत्तर–दक्षिण अग्लो बाँध जस्तो निर्माण गरिएको कोसी राजमार्ग, विराटनगरको मूल सडक र सुनसरी मोरङ सिचाइँ आयोजनाको नहर र त्यसमाथि पूर्व–पश्चिम साना सहरी सडकले पानीको निकासमा अवरोध गरेकाले बर्सेनि डुबान हुँदै आएको छ ।’


यस्तै, महानगरमा एसियाली विकास बैंकको सहयोगमा सञ्चालित परियोजनाअन्तर्गतको सडक र नालाको डिजाइन पानीको बहाबको सर्वेक्षणबिना गरिएकाले समस्या भएको पोखरेलको भनाई थियो । ‘महानगरस्थित प्रत्येक सडक र नाला पुनर्निर्माण भइरहेको छ,’ उनले भने, ‘सडक उचाइ बढाइएको छ । नालाको उचाई पनि बढाइएको छ, तर आवश्यकभन्दा कम चौडाईमा निर्माण भइरहेको छ ।’


अहिले बन्दै गरेको नालाले थोरबहुद पानीको निकास भए पनि डुबानको स्थायी समाधान हुन नसक्ने उनको भनाइ छ ।

एडीबीको दोस्रो चरणको योजना क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गत ७४ किलोमिटर सडक, ४६ दशमलव ८३ किलोमिटर नाला र २० किलामिटर ढल निर्माणको काम एकसाथ भइरहेको छ । २ अर्ब ६३ करोडको लागत रहेको सडक, नाला र ढल निर्माणका लागि चीनको झोङहेङ कन्स्ट्रक्सन ग्रुप बेइजिङले २ अर्ब ६१ करोड १० लाख ९२ हजार २ सय ९४ रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण गरिरहेको छ ।


यस्तै, तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय विराटनगरले महानगरमा सघन सहरी विकास परियोजना अन्तर्गत १५ वटा सडकको एकसाथ निर्माण गरिरहेको छ । इन्जिनियर पोखरेलका अनुसार महानगरको पूर्व र पश्चिममा रहेको सिंघिया र केसलिया नदी किनारको सुकुम्बासी बस्ती सारेर सुरक्षित र व्यवस्थित बसोबास गराउनु आवश्यक छ । नदीमा सामान्य बाढी आउँदा समेत सुकुम्बासीका घर डुब्दै आएका छन् ।


विराटनगरलाई बाढी मुक्त बनाउन केशलिया नदीको ४ अर्ब २१ करोड ७० लाख ५६ हजार ८ सय ६० र सिंघिया खोलाको १ अर्ब २१ करोड १६ लाख ६० हजारको नदी नियन्त्रणको विस्तृत अध्ययन प्रतिवेदन बनाएर तत्कालीन जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरले विभाग र मन्त्रालयमा पेस गरिसकेको छ । तर, हालसम्म सरकारको ध्यानाकर्षण हुन सकेको छैन ।


विराटनगर महानगर प्रमुख भीम पराजुलीले महानगरलाई बाढी र डुबानबाट सुरक्षित गर्नका लागि तटबन्ध आवश्यक रहेको र त्यो महानगरको बजेटले सम्भव नभएकाले संघीय र प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरे समस्या समाधान गर्नु आवश्यक रहेको बताए ।


६ लेन परियोजना, क्षेत्रीय सहरी विकास परियोजनालगायतका योजनाको काम सम्पन्न भएपछि डुबानको समस्या समाधान हुने उनको दाबी छ । पूर्वको पानी पश्चिममा पठाउनका लागि ६ लेन परियोजना अन्तर्गत कोसी राजमार्गमा पानीको डाइभर्सन खोल्ने काम भइरहेकाले समस्या नहुने उनको भनाई थियो ।

प्रकाशित : श्रावण १४, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?