कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मेचीनगरमा बढ्यो अनियमितता

पर्वत पोर्तेल

काँकडभिट्टा — मेचीनगर नगरपालिकाबाट आर्थिक वर्ष ०७५/७६ मा कार्य सम्पन्न भएका योजना र बजेटका विषयमा नगरवासीले अनियमितता भएको आरोप लगाएका छन् । नगरले अहिले आधा दर्जनभन्दा बढी भ्रष्टाचारका आरोपको सामना गरिरहेको छ । 

मकै खेतीको अनुदान दुरुपयोग, २५ सय ट्र्याक्टर ढुंगा गायब, बिरुवा वितरणमा अनियमितता, नदी उकास क्षेत्रमा वृक्षरोपण, सडक कालोपत्रेमा लापरबाही जस्ता योजनामा मेचीनगरबाट भ्रष्टाचार र अनियमितता भएको स्थानीयको आरोप छ ।


नगरवासीको आरोपलाई लिएर नगरका मेयर विमल आचार्यले भने सामाजिक सञ्जालमा आम नगरवासीलाई भ्रमित बनाउने काम मात्र गरिएको टिप्पणी गरेका छन् । उनले भ्रष्टाचारको आरोपको खण्डन गर्नर् सोमबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरे । र, सबै आरोपको खण्डन मात्र गरेनन्, कर्मचारी र जनप्रतिनिधिको खुलेर बचाउ पनि गरे ।


चाक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रमअन्तर्गत मकै खेती गरी पशुपालनका लागि पशु आहार दाना बनाएको र मकैसमेत उत्पादन गरिएको मेयर आचार्यको दाबी छ । करिब दुई बिघाभन्दा बढी जग्गामा उक्त खेती भइरहेको उनले बताए ।


नगरपालिका र बाहुनडाँगी पशुपालन प्रालिबीचको करार सम्झौतामा जेठ मसान्तसम्म काम सक्नुपर्ने उल्लेख छ । अहिले पनि खेती भइरहेको हो भने नगरपालिकाले के आधारमा भुक्तानी दियो भन्ने नगरवासीको प्रश्न छ । मकै खेती सम्पन्न गरिसकिएको भनेर उपमेयरको संयोजकत्वको अनुगमन टोली र ४ नम्बरका वडाध्यक्ष नवीन बरालले सिफारिस दिएका छन् । ‘सम्पन्न भइनसकेको योजनालाई के आधारमा भुक्तानी दिइयो ?’ बाहुनडाँगीका एक स्थानीयले भने, ‘यसले जनप्रतिनिधि र कर्मचारीको गल्ती ढाकछोप गर्ने काम भएको देखिन्छ ।’


वडा २ र ३ मा संकलित निन्दा खोला रातारात गायब पारिएको विषयमा स्थानीयले नगरको ध्यानाकर्षण गराएपछि भ्रष्टाचारको अर्को मुद्दा सतहमा आएको हो । ०७५/७६ मा नगरपालिकाको आन्तरिक आय राजस्व व्यवस्था गर्न प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरिएका मेचीनगरका नदीहरूमा नदीजन्य निर्माण सामग्री उत्खनन, संकलन र बिक्री गर्न ठेक्का लगाइएको थियो । जसमा निन्दाको गिट्टी, ढुंगा उत्खननका लागि करिब ५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।


सम्झौताअनुसार ८ सय घनमिटर लम्बाइ र ४० मिटर चौडाइसम्म मात्रै उत्खनन गर्न पाउने उल्लेख थियो । तर १३ सय घनमिटर लम्बाइ र ६० मिटर चौडाइसम्म उत्खनन गरिएको थाहा पाएपछि स्थानीयले विरोध गर्दै उत्खनन रोकेपछि ठेकेदार सम्झौता तोडेर हिँडेका थिए । करिब ७५ लाख रुपैयाँ बराबरको २५ सय ट्र्याक्टर ढुंगा गायब पारिएको राप्रपाका नगर अध्यक्ष सुशील आचार्यको दाबी छ । ‘ढुंगामा कुनै भ्रष्टाचार भएको छैन भनेर मेयरले सफेद झूट बोलिरहेका छन्’, सर्वदलीय संयन्त्रका सदस्यसमेत रहेका आचार्यले भने, ‘माइन्युट पनि गायब पारिएको छ ।’

प्रकाशित : श्रावण १७, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?