३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

श्रमले आर्जेको सम्मान

जितेन्द्र साह

(विराटनगर) — सडक छेउमा बसेर जुत्ता मर्मत गरिरहेकाहरूले कति पढेका होलान् ? बढीमा दुई/चार कक्षा । हामीमध्ये धेरैले यस्तै सोच्छौं होला । तर विराटनगर मेनरोडस्थित आन्तरिक राजस्व कार्यालय छेउमै २७ वर्षदेखि जुत्ता मर्मत गर्दै आएका ४८ वर्षीय उमेश रामले बीएको अध्ययनलाई बीचमै छाडेका रहेछन् । गजबको भाषाशैली, टेलिफोन डायरीको सुन्दर अक्षर र ग्राहकसँग गर्ने सभ्य व्यवहारले जो कोहीलाई पनि उनको पृष्ठभूमि खोतल्न करै लाग्छ । 

श्रमले आर्जेको सम्मान

दलित समुदायका रामले नेपाली, हिन्दी र अंग्रेजी फरर पढ्छन् र बुझछन् , आवश्कता परे बोल्छन् पनि । उनकै छेउमा लहरै जुत्ता मर्मत गरी बसिरहेकाहरू पनि उनी जत्तिकै नपढे पनि धेरैले प्राथमिक वा माध्यमिक तहसम्म चाही पढेकै छन् ।


बुबा जुठी रामको निधन र घरको कमजोर आर्थिक अवस्थाका कारण उनी २१ वर्षमै पुर्ख्यौली पेसालाई निरन्तरता दिन बाध्य भए ।


‘बीएको पढाइ सकेर सरकारी जागिर गर्ने इच्छा थियो तर बुबा बितेपछि घरको डामाडोल अवस्थाले त्यो पूरा भएन,’ उनले कान्तिपुरसँग भने । भारत बिहारको मधुवनीस्थित देवनारायण यादव उच्चमाविबाट आईए उत्तीर्ण गरेका हुन् । उनका छ सन्तान छन्, सबै शिक्षित छन् ।


रामका जेठी छोरी पुष्पाले म्याट्रिक, माहिली अन्नपूर्णाले बीए, साहिँली रुबीले बीए अनर्स उत्तीर्ण गरेका छन् भने कान्छी नीरु ८ कक्षामा पढदै छिन् । तीन छोरीपछि जन्मेका जेठो छोरा रोशन ११ कक्षासम्म पढेर भारतको दिल्लीमा जागिर गर्दैछन् भने कान्छो विशाल कक्षा–९ मा पढदै छन् । रामले जेठी र माहिली छोरीको बिहे गरिसकेका छन् । उनका दुई ज्वाइँ नै जागिरे छन् । भारत विहारको दरभंगा जिल्लास्थित दुलारपुर–१० का नागरिक रामको परिवारको नेपालसँग पुरानो र आत्मीय साइनो छ । उनका जेठो हजुरबुबा शंकर र बुबा जुठीको कर्म क्षेत्र पनि विराटनगर नै थियो । तीनवटै पुस्ताको काम गर्ने थलो भने त्यही सडक छेउ रहेछ । अद्भुत के छ भने रामको सारा परिवार विहारमै छ । उनी एक्लै एउटा कोठा भाडा लिएर विराटनगर–६ को सरोचिया बस्तीमा बस्छन् । उनको भान्सा र शयन कक्ष त्यही एउटा कोठा हो ।


बुबा जुठीको निधनपछि २०४९ सालमा विराटनगर आएको रामले बताए । ‘विराटनगरमै काम गर्दागर्दै बुबा बिरामी परेपछि घर फर्कनुभयो, उतै बित्नुभयो,’ रामले भने, ‘नेपालमा कर्म गर्नेको इज्जत छ भनेर बुबा र हजुरबुबाले भनिराख्नुहुन्थ्यो, त्यही भएर म पनि तानिएर यतै आएँ, अनि फर्किनै सकिनँ ।’


उल्लेखनीय के छ भने रामलाई स्थानीय सरकारी कार्यालयका कर्मचारी एवं सञ्चारकर्मीदेखि नागरिक समाजसम्म धेरैजसो विराटनगरवासीले चिन्छन्, आदर र विश्वास गर्छन् । उनी एक दशकदेखि विराटनगरकै एक होटलमा वेटरको काम पनि गर्छन् ।


आन्तरिक राजस्व कार्यालयका प्रमुख दिलीपकुमार गौतमले दिनरात श्रम गरेर गरिखाने राम र उनका साथीहरूको शालीन व्यवहार देखेरै नहटाएको बताए । ‘आवागमनमा अवरोध नहुने गरी राम र उनका साथीहरू फुटपाथको एक छेउमा हाम्रो कार्यालयको भित्तासँग टाँसिएर आनन्दले व्यवसाय गर्छन्,’ उनले भने, ‘वरिपरि चिटिक्क पारेर बस्छन् ।’


उनी भारतका सुकुम्बासी पनि होइनन् । खेतीपाती नभए पनि रामको गाउँमा दुई कट्ठा पुर्ख्यौली जग्गामा करेसाबारीसहितको घर छ । सरकारले रासनकार्ड दिएको छ जसका आधारमा परिवारजनले एकदमै न्यूनतम मूल्यमा खाद्यवस्तु पाउँछन् ।


यति सबथोक हुँदाहुँदै विराटनगर मोहको कारण के त ? भनेर सोध्दा उनी भन्छन्, ‘सारा जवानी यतै बित्यो, स्थानीयसँग घुलमिल भयो, अब विहारमा रत्तिभर मन लाग्दैन, त्यहाँ निसास्सिन्छु ।’ तर यहाँको जति कमाइ आफ्नै गाउँमा पनि गर्न सकिने रामले बताए ।


उनी यहाँ दैनिक औसत ३ सय नेरु कमाउँछन् । दसैं, तिहार र छठ पर्वका बेलामा दैनिक औसत ७ सय नेरुसम्म आम्दानी हुने गरेको उनले बताए । तर रामले भने, ‘मनसुन अफ सिजन हो, यतिखेर कमाइको ठेगाना हुन्न, कहिलेकाहीं बोहनी पनि नहुन सक्छ ।’ रामले महिनामा ३ देखि ४ हजार नेरु घर पठाउने गरेको बताए ।


प्रकाशित : श्रावण १९, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?