कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खोला र जंगलमा फोहोर विसर्जन

पर्वत पोर्तेल

काँकडभिट्टा — मेचीनगरपालिकाले फोहोर व्यवस्थापनका लागि सेनेटरी ल्यान्डफिल साइड निर्माणको पहल २०६१ सालतिरै गरेको थियो । तत्कालीन शाही शासनकालका नगर प्रमुख कल्याण खडकाले निर्माणका लागि पहल थालेका थिए । तर, अहिलेसम्म नबन्दा नगरमा जम्मा हुने फोहोर व्यवस्थापन हुन सकेको छैन ।

जिल्लाका १५ वटै स्थानीय तहको यो साझा समस्या हो । कसैले खोलामा बगाइरहेका छन् । कसैले खुला जमिन र जंगल क्षेत्रमा विसर्जन गरिरहेका छन् । झापामा दैनिक सय टनभन्दा बढी फोहोर उत्पादन हुने अनुमान छ ।


मेची क्याम्पस भद्रपुरको वातावरण विज्ञान विभागका प्रमुख सहायक प्राध्यापक दिवस दाहालले खोला र जंगल जस्ता क्षेत्रमा फोहोर विसर्जन गरिनु दुर्भाग्य रहेको जनाए । उनका अनुसार जथाभावी फोहोर विसर्जन गर्दा निकट भविष्यमा मानवमा जटिल स्वास्थ्य समस्या देखा पर्न सक्ने दाबी गरे ।


मेचीनगरले वडा ६ काँकडभिट्टातिर जम्मा हुने फोहोर मेची खोलाको बगरमा फ्याँक्ने गरेको छ । जथाभावी फोहोर छरिएको छ । दुर्गन्धित बनेको छ । नगरको फोहोरले मेचीनगर ७ को सुकुम्बासीका टोलमा बढी दुर्गन्ध फैलिने गरेको छ ।


स्थानीय विमला तामाङका अनुसार मेचीको बाढीले फोहोर बगाएर धान खेतभरि छरिदिएको छ । ‘धान खेतभरि प्लास्टिकै प्लास्टिक छ’, तामाङले गुनासो पोखिन्, ‘फोहोरको दुर्गन्ध त सहेकै थियौं, अब खेतभरि प्लास्टिकै प्लास्टिक भएको छ त्यो पनि सहनु पर्ने हामीले ।’ मेचीनगरकै धुलाबारी, चारआली लगायतको फोहोर पनि स्थानीय खोला र जंगल क्षेत्रमा विसर्जन गरिन्छ ।


भद्रपुरले २०६५ सालमा ल्यान्डफिल बनाउने प्रकृया अघि बढायो । तर, मेचीनगर जस्तै असफल बन्यो । भद्रपुरले पनि मेची किनारमा फोहोर विसर्जन गर्दै आएको छ । नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठका अनुसार डम्पिङ साइट निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन भइसकेको बताइन् ।


२०६५ मा स्थानीय विकास मन्त्रालयको करिब २६ लाख सहयोगमा ल्यान्डफिल निर्माण पहल थालिए पनि यो तुहिएको थियो । तत्कालीन नगर अधिकृत जीवनकुमार पाठकसहित संयन्त्रका सदस्यको मिलेमतोमा अनियमित तरिकाले जग्गा खरिद गरिएको भन्ने स्थानीयको आरोपपछि योजना तुहिएको हो ।


नगरपालिका र राजनीतिक संयन्त्रका प्रतिनिधिले चन्द्रगढी र ज्यामिरगढी गाविसको सिमानास्थित तत्कालीन चन्द्रगढी ७ (भद्रपुर ९) घोडामारा भन्ने स्थानको हडिया खोला बगरमा ६ बिघा ९ कठ्ठा १० धुर जग्गा खरिद गरेको थियो । जग्गा खरिदमै भ्रष्टाचार भएको आरोप लागेको थियो । पछि यो स्थान ल्यान्डफिल साइटका लागि अनुपयुक्त ठहर गर्दै अन्यत्रै बनाउने प्रकृया नगरले थालेको थियो ।


विर्तामोडले नगरको फोहोर राजमार्ग छेउको खुला जमिनमा पुर्दै आएको छ । अर्जुनधाराले बिरिङ खोलामा बगाउँछ । केही दिनअघि विरिङ खोला आसपास बसोबास गर्ने स्थानीय गुनासो लिएर नगरमा आएको प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले बताए ।

दमकले रतुवा खोलाको माथिल्लो भागमा फोहोर विसर्जन गर्छ । कन्काईले धनुषकोटी धार्मिक पर्यटन क्षेत्र पूर्वको जंगलमा फोहोर विसर्जन गर्दै आएको छ । शिव सताक्षीले राजमार्ग उत्तरको रतुवामाई वृक्षरोपण आयोजनाको जंगल क्षेत्रमा फोहोर थुपार्छ । गौरादहले वडा १ मा रहेको एउटा पोखरीको नजिकै फोहोर पुर्ने गरेको छ ।


अस्थायी रूपमा खोला र जंगलमा फोहोर विसर्जन गर्दै आएका यी नगरले ल्यान्डफिल्ड साइट निर्माणको प्रकृया सुरु भइसकेको जनाएका छन् ।


दमकका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बिगत ५ वर्षदेखि नै नगरको फोहोर निजी संस्था पाथवे नेपालले गर्दै आएको जनाएको छ । उसले रतुवा खोलाको माथिल्लो क्षेत्रमा फोहोर फ्याक्दै आएको छ । तिम्सिनाले भने, ‘हामीले गरेको फोहोर व्यवस्थापनले रतुवामा तटबन्धनको काम पनि गरेको छ, अस्थायी रूपमा फोहोर पनि विसर्जन भइरहेको छ ।’


उनका अनुसार वैकल्पिक ऊर्जा केन्द्र र विश्व बैंकको अनुदान सहयोगमा व्यवस्थित ल्यान्डफिल साइट निर्माणको काम सुरु भइसकेको छ । करिब २३ करोडको लगानीमा दीर्घकालीन फोहोर व्यवस्थापन गरिनेछ । गौरादह नगरका मेयर रोहितकुमार साहले पनि डम्पिङ साइटका लागि काम सुरु भएको जनाए । उनले नगरको ग्वालडुव्वा पश्चिममा जमिन खरिद गरिएको जनाए । बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले नगरले खाली जमिनमा फोहोर व्यवस्थापन गरिरहेको जनाए ।

प्रकाशित : श्रावण २१, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?