गाभिएका विद्यालय संरक्षणविहीन

कान्तिपुर संवाददाता

धनकुटा — कतै विद्यार्थीभन्दा शिक्षक बढी त, कतै विद्यार्थी नै शून्य भएपछि अन्य विद्यालयमा गाभिएका अधिकांश विद्यालयको भौतिक सम्पत्ति संरक्षण अभावमा लथालिंग बनेको छ ।

विद्यार्थी संख्या न्यून बन्दै बन्द हुने अवस्थामा पुगेका सामुदायिक विद्यालय अन्यत्र गाभिनेक्रम बढ्दै गएको छ । तर, त्यसरी गाभिएका विद्यालय भवन प्रयोगविहीन मात्र नभई कतिपय स्थानमा अश्लील गतिविधि हुने गरेको गुनासो बढेको छ ।


जिल्लामा हालसम्म २२ सामुदायिक विद्यालय अन्य विद्यालयमा गाभिसकेका छन् । विगत १ वर्षभित्र मात्र ५ विद्यालय गाभिएको शिक्षा विकास तथा समन्वय एकाइ स्रोतले जनाएको छ । विगत १ वर्षको अवधिमा मात्र ५ विद्यालय गाभिएको एकाइका शाखा अधिकृत देवी सुवेदीले जानकारी दिए ।


गाभिएका विद्यालयको भौतिक संरक्षणतर्फ सम्बन्धित निकायको चासो नगएको आफूहरू समक्ष पनि गुनासो आउने गरेको बताए । ‘गाभिएका विद्यालयको सार्वजनिक सम्पत्ति संरक्षण नभएकोबारे सबैतिरबाट प्रश्न उठिरहेको छ,’ उनले भने, ‘अन्य विद्यालयमा मर्ज गरिने नीति ल्याए पनि त्यसको प्रयोग भए/नभएको अनुगमनको पाटो हुन नसक्नु कमजोरी हो ।’ स्थानीय तहले सार्वजनिक संस्थालाई अन्य सार्वजनिक संस्थालाई जिम्मा दिएर भएपनि संरक्षण गरिनुपर्नेमा नीतिगत व्यवस्था रहेको उनले बताए । कैयौं विद्यालयको अवस्था दयनिय छ ।


जिल्लाका कुल २९१ मध्येबाट २२ वटा मर्ज भएपछि अब २८६ सामुदायिक विद्यालय कायम छन् । मुलुकभरको पछिल्लो तथ्यांक अनुसार हालसम्म ७ सय २४ विद्यालय गाभिएको शिक्षा विकास निर्देशनालयका निर्देशक उपेन्द्र दाहालले बताए । मर्जर गरिएको विद्यालयको अवस्थाबारे सम्बन्धित विद्यालय तथा स्थानीय तहले गम्भीर भएर व्यावस्थापन गर्नुपर्ने उनको तर्क छ ।


शिक्षाको अधिकार स्थानीय तहलाई जिम्मा दिईएपनि त्यसको व्यवस्थापनमा आवश्यक चासो जान सकेको छैन । धनकुटा नगरपालिकाभित्रका गाभिएका केहि विद्यालयको अवस्था नियाल्दा अत्यन्त टिठ लाग्दो देखिने धनकुटा ६ कचिंडेका दोजराज बास्तोलाले बताए ।


धनकुटा ६ को गोकुण्डेश्वर माविमा गाभिएको कचिंडेको सरस्वती राष्ट्रिय प्राथमिक विद्यालयका व्यवस्थापन समितिका तत्कालिन अध्यक्षसमेत रहेका बास्तोलाका अनुसार उक्त विद्यालय अश्लिल क्रियाकलाप गर्ने थलो बनेको छ ।


विद्यालयको झयाल ढोका चोरी भएको छ भने त्यहाँ हुने अवान्छित गतिविधिले स्थानीयलाई हिँडडुल गर्न पनि असहज भएको उनको भनाई छ । ‘२०१५ मा स्थापित विद्यालय थोरै विद्यार्थी भएकाले गोकुण्डेश्वरमा हस्तान्तर गरिएको हो,’ उनले भने, ‘विद्यालय व्यवस्थापन गर्न नसक्दा निर्लज्ज प्रकारका गतिविधि हुने गरेका छन् ।’

प्रकाशित : श्रावण २२, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?