महानगरमा सार्पसुटर सक्रिय

कान्तिपुर संवाददाता

विराटनगर — सीमावर्ती महानगरमा भारतीय ‘सार्पसुटर’ को गतिविधि बढेपछि प्रहरीले सतर्कता बढाएको छ । जेठ अन्तिम साता मोरङ प्रहरीले भारत सीतामणिका कुनालकुमार सिंहलाई हतियारसहित नियन्त्रणमा लिएको थियो । 

महानगर ९ स्थित मेट्रोसिटी होटल तथा गीत गजलबाट हतियारसहित पक्राउ परेका सिंह विराटनगरका खाद्य कारोबारी जितेन्द्र रायको हत्याको योजनामा नेपाल छिरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीमा अनुसन्धानमा उनी भारु ५ लाख रुपैयाँ सुपारी लिएर रायको हत्या गर्न आएको खुलेको छ ।


सिंहको साथबाट २ थान पेस्तोल र त्यसमा लाग्ने ७ राउन्ड गोली बरामद भएको छ । भारतीय सार्पसुटर प्रयोग गरी व्यापारी रायको हत्या गराउन लगाउने मुख्य नाइके विराटनगरका मन्नुकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख उपरीक्षक विश्व अधिकारीले सञ्चारकर्मीलाई बताए । रायको हत्या योजना बुनेर सार्पसुटर पठाउने सर्लाही गौढैचा नगरपालिका १ का हरिनारयण झालाई पनि प्रहरीले असार पहिलो साता सर्लाहीबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको अधिकारीको भनाइ छ । उनका अनुसार यो घटनामा पाँच जनाको संलग्नता रहे पनि दुई फरार छन् ।


भारतको सीतामणिमै गुप्ताले रायसँगको लेनदेन र रिसइबीको बदला लिन हत्याको योजना बुनेको अधिकारीको भनाइ छ । हत्याको योजना भारतको सीतामढीमा बनाएर गुप्ता पश्चिम नाका हुँदै विराटनगर आएका थिए । पक्राउ परेका गुप्ता केही समयपछि जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरेका अभियुक्त हुन् । उपरीक्षक अधिकारीका अनुसार करणी मुद्दामा गुप्ताले व्यापारी रायले फसाएको गुनासो गर्दै आएका थिए । त्यही रिसिबी साँध्न र गुप्तासँग लिएको ३१ लाख लिन हत्याको योजना बनाएको देखिन्छ ।


रायको हत्या गर्ने योजना गुप्ताले सर्लाहीका हरिनारायण झासँग झुम्का कारागारमा हुँदा बनाएको खुलेको छ । झा पनि कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरेका अभियुक्त हुन् । उनीहरू दुवै झुम्का क्षेत्रीय कारागारमा थिए ।

प्रकाशित : श्रावण २३, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?