२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सडक निर्माणमा लापरबाही

एउटै निर्माण कम्पनीले ४/५ वटा सडकको जिम्मा लिँदा एउटामा पनि समयमा राम्रो काम हुन नसकेको गुनासो
देवनारायण साह

मोरङ — निर्माण कम्पनीले सिसबनी जहदा चक्रपथ सडकको निर्माण समयमा सम्पन्न नगर्दा सीमावर्ती गाउँका बासिन्दालाई समस्या परेको छ । निर्माण कम्पनीले सडकमा हालेको माटो र सडक छेउ खनेको नालाले सवारीसाधन आउजाउमा कठिनाइ छ ।

सडक निर्माणमा लापरबाही

माटो हाले पनि नसम्याएइकाले पैदलयात्रीलाई समेत समस्या भएको स्थानीयले बताएका छन् । ३ महिनादेखि किसानले उत्पादन गरेको तरकारी सहज रूपमा बजार पुर्‍याउन नसकेकोस्थानीय वीरेन्द्र मण्डलले बताए ।


उक्त सडक निर्माणका लागि सडक डिभिजन कार्यालय विराटनगरले रामा बिलडर्स प्रालि राजविराज ४, सप्तरीलाई गत वर्षमा नै निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिएको थियो । तर आव समाप्त भइसक्दा पनि निर्माण कम्पनीले काम गरेको छैन ।


निर्माण कम्पनी र सडक डिभिजन कार्यालयमा ०७५ चैत २८ गतेको सम्झौता अनुसार ०७६ असार १५ गते ७ सय ६० मिटर सडक ग्रोभेल गरी कालोपत्रे, नाला र दुईवटा ह्युमपाइप कलभर्ट निर्माणसमेत गरिसक्नु पर्ने थियो ।


वडा कार्यालयले सडकको मापदण्ड पूरा गर्न सडकमा परेको स्थानीयको घर भत्कायो । निर्माण कम्पनीले घर भत्काएरको ठाउँमा ५/७ फिट नाला निर्माणका लागि खनेर छोडेपछि वर्षामा पानी जमेर समस्या भएको स्थानीयबासीको गुनासो छ ।


यस्तै, रंगेली सडक–रामचोक–सिसबनी जहदा नहर हुँदै भारत सीमासम्म ९ किलोमिटर सडकको काम पनि समयमा नगरेकाले हिलाम्मे भएको छ । निर्माण कम्पनीले सडकमा माटो भरेर ग्रोभेल नहाल्दा हिलाम्मे भएको जहदा ४ मुखियाटोलका रमानन्द मण्डलले गुनासो पोखे । ‘हिलोले सडकमा हिंड्न सक्नेसमेत अवस्था छैन,’ उनले भने, ‘वर्षा सुरु भएदेखि घरबाट कसैले पनि मोटरसाइकल निकाल्न पाएका छैनन् ।’


सडक डिभिजन कार्यालय विराटनगरबाट उक्त सडक १२ करोड २२ लाख ८७ हजार ५ सय ६९ रुपैयाँमा भूमि इन्फास्ट्रक्चर विराटनगरले ठेक्का लिएको हो ।


उक्त कन्स्ट्रक्सनले भारतीय सीमादेखि सौठासम्म ११ मिटर चौडाई भएको १२ दशमलव ५ किलोमिटर सडक निर्माणका लागि २६ करोड ९४ लाख २१ हजार ६ सय ४० रुपैयाँमा ठेक्का लिएको छ । सडक डिभिजनमा ०७४ असार २६ गते सम्झौता गरी ०७४ भदौ ९ गते कार्यादेश प्राप्त गरेको भए पनि हालसम्म पूरा गर्न सकेको छैन ।


यस्तै नोचा–मझारे बोर्डरसम्म ७ किलोमिटर ८ करोड ७० लाख ५५ हजार ६ सय १८ रुपैयाँ र कटहरी–मझारे बोर्डरसम्म ५ किलोमिटर ६ करोड २१ लख २९ हजार ९ सयमा रमन/भूमि जेभि विराटनगरले गत वर्षको जेठमा ठेक्का लिई काम अघि बढाए पनि पूरा गर्न सकेको छैन । कर्सिया–भारत सीमासम्म पनि ९ किलोमिटर १० करोड ८६ लाख ५७ हजार रुपैयाँमा ठेक्का लिएको छ ।

उक्त चारवटा सडकमध्ये तीनवटाको २०७७ साउन र नोचा–भारत सीमा सडकको २०७७ चैत २९ गतेसम्म काम सम्पन्न गर्ने म्याद छ । मोरङमा मात्रै भूमि कन्स्ट्रक्सनले सडक तथा पुल र कल्भर्ट गरी १४ वटा योजनाो ठेक्का लिएको छ ।


तराई मधेस विशेष पूर्वाधार कार्यक्रमअन्तर्ग सडक डिभिजन कार्यालयले सुनसरी र मोरङका ४७ वटा सीमा सडक निर्माणका लागि ठेक्का दिएको छ । भूमि कन्स्ट्रक्सनका निर्देशक शुभम बोहराले बहुवर्षीय ठेक्का प्रणाली अन्तर्गत भएको सम्झौताअनुसार सडक निर्माणको काम भइरहे पनि वर्षा अगाडि माटो पुरेर छोड्नुपर्ने बाध्यताले अहिले समस्या भएको स्विकारे । वर्षा अगाडि ग्रोभेल गर्न नसकिएकाले समस्या भएको उनको भनाइ थियो ।


सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख सुभराज न्यौपानेले निर्माण कम्पनीहरूलाई सडकमा माटो भरेपछि वर्षा सुरु हुनु अगावै ग्रोभेल गर्न निर्देशन दिएको बताए । ‘निर्माण व्यवसायीको लापरबाहीले सडक निर्माणको काममा ढिलाइ भएको छ,’ उनले भने, ‘हिलो भएका सडकमा तत्काल ग्रोभेल हाल्न लगाउँछौं ।’


एउटै निर्माण व्यवसायीले ४/५ वटा सडकको ठेक्का लिएकाले यस्तो अवस्था आएको उनको भनाइ थियो । ‘यहाँका निर्माण व्यवसायीहरूसँग ठेक्का लिने फर्म मात्रै छ, उपकरण र जनशक्ति दुवै छैन,’ न्यौपानेले भने, ‘सबै निर्माण व्यवसायीले उपकरण भाडामा ल्याएर र भारतीय कामदारको भरमा काम गर्दै आएकाले समयमा काम सम्पन्न हुन सकिरहेको छैन ।’ निर्माण कम्पनीको लापरबाहीले तराई मधेस विशेष पूर्वाधार कार्यक्रमअन्तर्गत आएको ६१ करोड बजेटमध्ये ४६ करोड ६२ लाख मात्रै खर्च हुन सकेको र बाँकी रकम फिर्ता गएको उनले सुनाए ।

प्रकाशित : श्रावण २३, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?