२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

काम नसक्ने ठेकेदारलाई जरिवाना

लीलावल्लभ घिमिरे

पाँचथर — तोकिएको समयमा काम सम्पन्न नगरेको भन्दै पुष्पलाल (मध्यपहाडी) लोकमार्ग फिदिम आयोजना कार्यालयले ५ निर्माण व्यवसायीलाई जरिवाना गरेको छ । कारबाहीमा परेका व्यवसायीबाट १ करोड २२ लाख असुली गरेको आयोजनाका प्रमुख अभिमान मुल्मीले बताए ।

आयोजना कार्यालयका अनुसार सम्झौतामा तोकिएको समयावधिभित्र पुल र सडकको काम सम्पन्न नगर्ने निर्माण कम्पनी कारबाहीमा परेका हुन् । तेह्रथुमको खोरुङगा खोलामा निर्माणाधीन पुल समयमा नसकेको भन्दै कोसी एन्ड न्यौपाने कन्ट्रक्सन प्रालिलाई ५९ लाख ६९ हजार १ सय ६५ रुपैयाँ जरिवाना गरेको आयोजना प्रमुख मुल्मीले बताए ।


यसै गरी इलाइट कन्ट्रक्सन प्रालिलाई पनि ७ लाख ७३ हजार ३ सय रुपैयाँ जरिवाना गरेको छ । तेह्रथुममा सडक निर्माण गर्ने हिम्दुङ एन्ड थोकर कन्ट्रक्सन प्रालिलाई आयोजनाले ५४ लाख ५३ हजार २ सय २६ रुपैयाँ जरिवाना गरेको छ । गौरा त्रिशुली जेभि कन्ट्रक्सन प्रालिलाई १ लाख ७५ हजार १ सय ५२ रुपैयाँ जरिवाना गराएको छ । एरिमा कन्ट्रक्सन प्रालिलाई १ लाख १९ हजार ८ सय २० रुपैयाँ जरिवाना गरिएको छ ।


आयोजनाले तोकिएको अवधिमा काम सम्पन्न गर्न कडाइ गरेको जनाएको छ । सरकारले सञ्चालन गरेको राष्ट्रिय गौरवका आयोजनामध्ये मध्यपहाडी आयोजना एक हो । नेपाल भारत सीमा पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडी जिल्लाको धुलाघाट सम्म जोड्ने यो सडकको लम्बाई १ हजार ७ सय ७६ किमि रहेको छ ।


दश मिटर चौडाइ रहेको उक्त सडक निर्माणका लागि धुलीखेल, गोरखा, पर्वत, दैलेख र पाँचथर जिल्लामा आयोजना कार्यालय स्थापना गरी काम अघि बढाएको छ । आर्थिक वर्ष ०७८/७९ मा सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना प्रमुख मुल्मीले बताए ।


पाँचथरमा रहेको आयोजनाले चिवाभञ्ज्याङदेखि भोजपुरको चखेवासम्म ३ सय ८६ किमि हेर्ने गरेको छ । उक्त खण्ड मध्ये १ सय ८२ किमि कालोपत्रे भइसकेको छ । बाँकी खण्डका लागि काम भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ । कालोपत्रे भइसकेको खण्डमध्ये आयोजनाले नै गरेको ६० किमि हो ।


भोजपुरमा २२ किमि, तेह्रथुममा १८ किमि र पाँचथरमा २० किमि मध्यपहाडी लोकमार्ग आयोजनाले नै बनाएको हो । पाँचथरमा ४० किमि, वसन्तपुर हिले खण्डमा २२ किमि भोजपुरमा ६४ किमि पर्ने आयोजना कार्यालयले जानकारी दिएको छ । आयोजनाले ३५ वटा प्याकेजमा ६ अर्ब ४४ करोड ७३ लाख रुपैयाँमा ठेक्का लगाइसकेको छ ।

प्रकाशित : श्रावण २४, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?