कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सुरु भए आर्थिक वर्षका योजना

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका वाडा नं ५ उकालीपानीका लक्षुमण गुरुङले ‘उकाली पानी पैदलमार्ग निर्माण उपभोक्ता समिति’ को जिम्मेवारी पाएका छन् । वडाले विनियोजन गरेको ३ लाख रुपैयाँ खर्चनका लागि बनाइएको उपभोक्ता समितिमा कोषाध्यक्ष महिला राखिएको छ । ७ सदस्यीय कार्य समितिमा महिला पुरुष, आदिवासि जनजाति मिलाएर समिति गठन गरिएको हो ।

सुरु भए आर्थिक वर्षका योजना

गुरुङ सांस्कृतिक भवन निर्माणका लागि यही ठाउँमा अर्को उपभोक्ता समिति पनि बनाइयो । वडागत योजनाअन्तर्गत फुङलिङ नगरपालिकाबाट विनियोजित १० लाख रुपैयाँ खर्चनका लागि समिति गठन गरिएको हो । उपभोक्ता समिति गठनका लागि वडाध्यक्ष भीमादेवी ओझा वडा सचिव कर्ण मादेनलगायत वडाका सदस्यहरू टोलमा पुगेका थिए ।


लाभान्वित टोलका प्रत्येक घरधुरीलाई पत्र र स्थानीय एफएम रेडियोबाट सार्वजनिक सूचनामार्फत निम्त्याइएको थियो । आर्थिक वर्षको अन्त्यमा हतारमा काम गर्ने प्रवृत्तिको अन्त्य गर्ने उद्देश्यले फुङलिङ नगरपालिकाले यो वर्ष भदौ नलाग्दैदेखि उपभोक्ता समिति गठन प्रकृया सुरु गरेको छ । टोलवासी भेला भएपछि उपभोक्ता समिति गठन निर्देशिका वाचन गरेकी वडाध्यक्ष भीमादेवी ओझाले यो आर्थिक वर्षमा माघ मसान्तसम्म सम्पूर्ण काम सक्ने गरी योजना सुरु गरिएको बताइन् ।


उनले त्यही अनुसारको काम गर्न सक्नेलाई मात्रै उपभोक्ता समितिमा बस्न पनि आग्रह गरिन् । ‘उपभोक्ता समिति गठन गर्ने अधिकार तपाईं उपभोक्ताको हो,’ ओझाले थपिन्, ‘समयमै काम सक्ने, पारदर्शी हिसाबले काम गर्ने व्यक्तिलाई चयन गर्नुहोस, तपाईं हामी सबैका लागि राम्रो हुन्छ ।’ ओझाले साउन मसान्तसम्ममा सबै उपभोक्ता समिति गठन गरिसक्ने कार्ययोजना बनाइएको पनि बताइन । यो वडाले १७ वटा उपभोक्ता समिति गठन गर्नुपर्ने छ ।


नगरपालिकाबाट विनियोजित ९७ लाख रुपैयाँ खर्चनका लागि १७ वटा योजना रहेको वडाकार्यालयले जनाएको छ । जसमा भवन निर्माण, सडक निर्माण, खानेपानी योजना सञ्चालनलगायत छन् । वडा ५ मात्रै नभएर वाडा नं १० फुरुम्बुले पनि उपभोक्ता समिति गठन सुरु गरेको छ ।


वडालाई नौवटा टोलमा विभाजन गरेर उपभोक्ता समिति गठनका लागि टोलबासीलाई आहान गरिएको छ । अब प्रत्येक टोलमा पुगेर समिति गठन गर्ने अध्यक्ष गमबहादुर फुरुम्बु लिम्बूले बताए । वाडा नं ७ का वडासदस्य जीवन पालुङवा आफ्नो वडाले भने भदौ पहिलो सातामात्रै उपभोक्ता समिति गठन गर्ने बताउँछन् ।


‘हामी साउनभरिमा काम गर्ने क्षेत्रका बासिन्दाको लिखित अनुमति लिन्छौं,’ उनले भने, ‘त्यसका लागि फर्मेट बनाएका छौं र त्यो तयार भएपछि समिति गठन गर्छौं ।’ नगरपालिकाभरि उपभोक्ता समिति गठन गरेपछि अध्यक्ष, सचिव र कोषाध्यक्षलाई अभिमुखीकरण तालिम दिने तयारी छ ।


एक दिने तालिममा सम्झौतादेखि निकासासम्मको प्रकृयाबारे जानकारी गराइनेछ । सार्वजनिक सुनुवाइ कार्यक्रममा उपभोक्ताले २२ पटकसम्म धाउनु परेको गुनासो गरेकाले लामो समय धाउन नपर्नका लागि चाहिने कागजात र प्रक्रियाका विषयमा उपभोक्तालाई जानकारी गराउने नगरप्रमुख छत्रपति प्याकुरेल बताउँछन् ।


यस्तो अभ्यास गत वर्ष पनि गरिएको थियो । तर हैरानी भने कम नभएको गुनासो उपभोक्ताको छ । गत आर्थिक वर्षमा मलेप प्रतिवेदनले अनियमित बजेट ठूलो देखाएपछि नगरपालिकाले आन्तरिक लेखा परीक्षक भूपाल सेन्दाङलाई कागज परीक्षण गराएर मात्रै निकासा दिएको छ । यसले बेरुजु रकम र अनियमित रकम कम भएको बुझाइ नगरपालिकाको छ ।


नगरपालिकाले हिउँदमै योजना सकेर निकासा दिने गरी काम गर्ने दाबी गरेको छ । उपभोक्ता समिति टोलका बासिन्दालाई सहज हुने गरीका घरमा भेला भएर गर्ने गरिएको छ ।

प्रकाशित : श्रावण २५, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?