२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बिरामीको चाप थेग्नै मुस्किल

कान्तिपुर संवाददाता

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको संख्या अत्यधिक भएको छ । यसले गर्दा प्रतिष्ठानलाई बिरामीको चाप थेग्न मुस्किल हुन थालेको छ ।

बिरामीको चाप थेग्नै मुस्किल

प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐयरका अनुसार दैनिक ३ हजारदेखि ३ हजार ५ सय जना उपचारका लागि आउने गरेका छन् । अन्य जिल्लाबाट रिफर भएर आएका बिरामीले सहज उपचार समेत पाउन सकेका छैनन् ।

डा. ऐयरले भने, ‘सामान्य प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरे निको हुने बिरामीदेखि जटिल रोग भएका बिरामी एउटै काउन्टरमा भेला भएपछि भिड भएको हो । टर्सरी सेन्टरका रूपमा विकास भए पनि तत्काल ल्याब रिपोर्ट दिने, ओपीडीमा सहजै चिकित्सक भेट्ने र आफ्नो रोगबारे जानकारी लिने इच्छा सबैको भए पनि त्यो व्यवस्था गर्न सकिएको छैन । हामी प्रयास गरिरहेका छौं ।’

आईसीयू, इमर्जेन्सी, शल्यक्रिया, प्रसूति र मेडिसिन कक्षहरू विस्तार गर्ने भनिए पनि बेलाबेलामा आइरहने एकपछि अर्को लफडाले बिरामीका लागि प्रतिष्ठान साँघुरिएको डा. ऐयरले बताए । शल्यक्रिया विभागका एक चिकित्सकले आफ्नो नाम नबताउने सर्तमा भने, ‘शल्यक्रिया कक्षकै अभाव भएको छ । अढाइदशक अघि १५ जना शल्यक्रिया गर्ने अवधारण अनुसार डिजाइन गरेको शल्यक्रिया कक्षमा अहिले पालो–पालो शल्यक्रिया गर्नुपर्छ । २४ घण्टामा ९० भन्दा बढी शल्यक्रिया गर्नुपरेको छ । न्युरो र बालरोगको शल्यक्रियाको कक्ष एउटै भएकाले पालो गर्नु परेको हो ।’

उनका अनुसार प्रतिष्ठानमा हाडजोर्नी, इएनटी, आँखा, न्युरोलोजी, कार्डियो थोरासिक, पेडियाट्रिकका सुपर स्पेसियालिटी सर्जरी पनि थपिएका छन् । तर, शल्यक्रिया कक्षको अभावले बिरामीलाई कुनै सर्जनले दिएको प्लान र समय तालिका अनुसार काम गर्न खोज्दा अर्को टिमले त्यो कक्षमा काम गरिरहेको हुन्छ । ती चिकित्सकले भने, ‘कक्ष अभावले कतिपय अवस्थामा ६ महिनापछि गर्ने गरी समय सार्नु पर्ने अवस्था छ ।’

प्रसूतिको अवस्था झन् बेहाल छ । एउटै शय्यामा ४ जना गर्भवतीलाई राख्नुपर्ने अवस्था छ । प्रसूति विभागका चिकित्सक डा. सूर्य रिमालले भने, ‘शय्या थोरै छ । पूर्वका अधिकांश जिल्लाबाट गर्भवती आउँछन् । कहाँ राख्ने, केमा राख्ने ? बन्दै गरेको मातृ तथा शिशु उपचार केन्द्रको भवन भूत बंगला भयो ।’

दक्ष चिकित्सक र जनशक्ति हुँदा हुँदै पनि प्रसूति विभागमा शय्या पाउनै मुस्किल भएको गुनासो बिरामीहरूले गर्दै आएका छन् । प्रतिष्ठानसँग मुटुसम्बन्धी दक्ष चिकित्सक हुँदा हुँदै पनि शल्यक्रियाका लागि थप कक्ष अभावले पालो पर्खिनु पर्ने अवस्था छ । डाइलाइसिसको त पालो पाउनै गाह्रो हुने गरेको छ ।

एमआरआई उपकरण पुरानो भएकाले अधिकांश बिरामीलाई प्रतिष्ठानले अन्यत्र पठाउने गरेको छ ।निमित्त उपकुलपति प्राडा गुरुप्रसाद खनालले आफू भर्खरै प्रतिष्ठान दैनिक सञ्चालनको अधिकार लिएर आएकाले बिरामीको चाप व्यवस्थापन गर्नु नै पहिलो प्राथमिकता रहेको बताए । उनले भने, ‘सबै काम एकै पटक गर्न सकिन्न । विस्तारै सुधार्दै जाने छौं ।’

प्रकाशित : श्रावण २८, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?