आदर्श अब स्मार्ट स्कुल
इलाम — सदरमुकामस्थित जिल्लाकै जेठो आदर्श माविलाई सूचना प्रविधि मैत्री स्मार्ट स्कुल बनाइएको छ । सूचना प्रविधिलाई अधिक्तम उपयोग गर्दै डिजिटल माध्यमबाट शिक्षा प्रदान गर्ने उद्देश्यले राणाशासन कालमा नै स्थापना गरिएको यो विद्यालयलाई स्मार्ट स्कुलका रूपमा विकास गरिएको हो ।
२००५ सालमा नै स्थापना भएको यो विद्यालयलाई आधुनिक र डिजिटल मैत्री बनाउने कार्यको सुरुवाता संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले गरे । ‘आफू पढदा विद्यालय पोसाक लगाएर जान पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो,’ विद्यालयका इतिहाहस कोट्याउँदै नेम्वाङले भने, ‘अहिले प्रदेश मध्येकै पहिलो आधुनिक विद्यालयका रूपमा देख्न पाउँदा हर्षित छु ।’
पूर्व प्रधानमन्त्री झलनाथ खनाल र आफूले त्यो विद्यालय पढेको सन्दर्भ कोट्याउँदै नेम्बाङले काँग्रेस नेता कुलबहादुर गुरुङले अध्यापनसमेत गराएको इतिहास दर्शाए । नेम्बाङले अझै पनि राज्यले गर्ने धेरै काम भएकाले सहकार्य र सहमितिको विकल्प नभएको बताए ।
स्मार्ट स्कुलमा गइसकेपछि अब विद्यालयका हरेक कक्षामा चक डस्टरसहित मार्करले लेख्नु पर्ने दिनको अन्त्य भएको छ । त्यस्तै विद्यार्थी स्मार्टबोर्डमार्फत चाहेको कुरा सिक्ने छन् भने भने अत्याधुनिक सूचना–प्रविधिको अधिक्तम प्रयोग गर्नेछन् ।
यो विद्यालय सूचना प्रविधि मैत्री बन्नका लागि सञ्चार तथा सूचना मन्त्रालय र प्रदेश सरकारको सहयोग रहेको छ । सूचना मन्त्रालयबाट विद्यालयलाई ७० लाख रुपैयाँ बराबरका कम्पुटर, स्मार्ट हाइटबोर्ड, प्रोजेक्टर, साउन्ड सिस्टम, नेटवर्क क्यामेरालगायत २० प्रकारका सामग्री प्रदान गरेको हो । त्यस्तै प्रदेश सरकारबाट करिब २० लाख रुपैयाँ बराबरका कम्प्युटर, सिसी क्यामेरा, एलइडी टिभीलगायतका सामग्री प्रदान गरिएको छ ।
‘मुलुकमा ४० वटा विभिन्न सेलालाई विद्युतीय प्रविधिमार्फत लगिएको छ,’ सूचना विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले भने, ‘यस्ता प्रविधिको सञ्चालन गर्नसँगै प्रयोग गर्न पनि विद्यालयलाई प्रविधि मैत्री बनाउन जरुरी भएको हो ।’ उनले प्रतिनिधि सभाका हरेक निर्वाचन क्षेत्रमा १/१ वटा यस्ता विद्यालयलाई स्मार्ट स्कुलका रूपमा अपग्रेड गरिने जनाए ।
यसअघि नै तत्कालीन उच्च माविमा विज्ञान विषयको पढाइ सञ्चालन गर्दै आएको आदर्शले प्राप्त गरेको महत्त्वपूर्ण अवसरलाई जसरी पनि सुसञ्चालन गर्नुपर्ने सरोकारवालाको भनाइ छ । ‘निकै महत्त्वपूर्ण अवसर र चूनौतीपूर्ण जिम्मेवारी पाएको महसुस गरेका छौं,’ व्यवस्थापन समितिका अध्यक्ष कोमल निरौलाले भने, ‘यसको सही उपयोग र निरन्तरताका लागि राज्यका ३ तहकै सरकार, अभिभावक, विद्यालय परिवार र स्थानीयवासी क्रियाशील बन्नुपर्छ ।’
डिजिटल सामग्री नियमित मर्मत सम्भार, विद्युत् अनियमितता, इन्टरनेट भरपर्दो नहुनु, दक्ष जनशक्तिको अभाव जस्ता कुराले भने यसको चुनौती देखिएको छ । १ देखि १२ कक्षासम्म सञ्चालित यो विद्यालयमा १ हजार ७ सय ६१ जना विद्यार्थी छन् । अङ्ग्रेजी माध्यममा समेत पठनपाठन सुरु गरेको विद्यालयमा विद्यार्थी संख्या थपिँदै गएको अवस्थामा सूचना प्रविधिको उपयोगले विद्यार्थीको चाप थप बढ्न सक्ने विद्यालयले जनाएको छ ।
प्रकाशित : श्रावण ३२, २०७६ १०:३२