कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

धुमधामसाथ रोपाइँजात्रा

रोपाइँ सकेर फुर्सदिलो भएको अवसरमा चाडपर्व नजिकिएको जनाउ दिँदै जात्रा गर्ने गरिएको छ

ताप्लेजुङ — हिमाली जिल्ला ताप्लेजुङमा जेठ पहिलो सातादेखि नै किसानहरू खेतीमा निस्कन्छन् । बाँजो जोत्ने, धानवाली लगाउने कोदो रोप्नेजस्ता बर्खे खेतीमा व्यस्त हुन्छन । साउन १५ देखि भने ७० प्रतिशत बढी किसान फुर्सद हुन थाल्छन् ।

धुमधामसाथ रोपाइँजात्रा

भदौ लाग्दा जिल्लाका अधिकांश किसानले काम सिध्याएका हुन्छन । तिनै किसानलाई सदरमुकाम निम्त्याउन र मनोरञ्जन प्रदान गर्न सदरमुकामका बासिन्दाले जात्रा देखाउँछन् । यो परम्परादेखि चल्दै आएको विधि हो । किसानलाई निम्त्याउन अपनाएको विधि अहिलेसम्म पनि कायम छ ।


रक्षाबन्धन तथा जनै पूर्णिमाको दिन लाखेको नृत्य हुन्छ । द्वितीयाको दिन नेवार समुदायमा मृत्यु भएकाहरूको खाग गाईजात्रा निकालिन्छ । तेस्रो दिन रोपाइँ जात्रा हुन्छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट नवमीको दिन कृष्ण र कंसको लीला देखाएपछि जात्रा समाप्ती हुन्छ ।


त्यहीअन्तर्गतको रोपाइँ जात्रा सदरमुकाम फुङलिङमा शनिबार प्रस्तुत गरिएको छ । नेपाल भाषा तथा सांस्कृतिक समाजको आयोजनामा प्रस्तुत गरिएको हो । ताप्लेजुङमा भएका विभिन्न जातजातिको वेशभूषामा उपस्थित नृत्यकर्मीले सदरमुकामभरी नृत्य तथा गायन प्रस्तुत गरे ।


विगत वर्षदेखि नै नाच्नमा अभ्यस्त एक सय जना कलाकार नृत्यमा सहभागी भए भने गायक, संगीतकार उपस्थित थिए । एउटा हातमा कोदालोको प्रतीकको रूपमा लठ्ठी बोकेर बाउसेको भूमिका निर्वाह गर्ने पुरुष र हातमा बीउको प्रतीक बोकेर नृत्य गर्ने महिलाहरू कम्मरमा पटुकी बाँधेर उपस्थित भएका थिए ।


रोपाइँजात्राको अवसरमा ताप्लेजुङमा घोडा नृत्य प्रस्तुत गरिँदै । तस्बिर : आनन्द गौतम/कान्तिपुर


तोक्मेबाट सुरु भएको जात्राको नृत्यकारहरूले टुक्रे सेर्पाटोल पुगेर समापन गरे । नेवार र अन्य जातका युवायुवतीहरू उत्सुकताका साथ जात्रामा सहभागी थिए । महिलाहरू कोही पुरुषको कपडा लगाएर पुरुषको भूमिका निर्वाह गरिरहेका थिए त कोही महिलाहरू डोकामा सिस्नु बोकेर भीड नियन्त्रण गर्दै थिए । कोही घोडचढी प्रदर्शन गर्थे ।


विविध संस्कृति र जातीय सद्भावको धनी जिल्लामा परम्परादेखि प्रदर्शन हुँदै आएको रोपाइँ जात्रालाई यो वर्ष पनि निरन्तरता दिइएको हो । ‘रोप हे रोप रोपारे नानी हो...’ भन्ने भाकाको गीत र बाजाको तालमा बीउ रोपेको अनुभूति नृत्यकारले दिन्थे । रोपाइँ जात्रा हेर्न भने गाउँबाट ठूलो संख्या सदरमुकाम भित्रिने गरेका छन् ।


रोपाइँ जात्रापछि केही दिन स्थगित हुने र कृष्ण जन्माष्टमीको दिन कृष्ण भगवान्को प्रतीकलाई जन्म दिएर नवमीको दिन कंसको प्रतीक लाखे वध गर्ने नृत्य प्रस्तुत गरिने गरिएको छ । ताप्लेजुङमा यही पर्वसँगै हिउँद लागेको अनुभूति गर्ने र व्यापार वृद्धि हुने मान्यता रहेको उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे बताउँछन् ।

प्रकाशित : भाद्र १, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?