२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

प्रदेश समुन्नत बनाउने उखु

३ महिना मात्रै काम गरे पुग्ने खेतीले किसान आकर्षित
अमन कोइराला

सर्लाही — दिनानुदिन मजदुर अभाव भए पनि सजिलो खेती भएकाले प्रदेश २ मा उखुबाली निकै फस्टाएको छ । खेती बढेसँगै चिनी मिल पनि थपिएका छन् । एकपटक रोपेपछि कम्तीमा ३ वर्ष लगातार फल पाउने भएकाले किसानका लागि निकै सजिलो बनेको छ । वर्षमा ३ महिना खटेपछि ९ महिना फुर्सद हुने भएकाले उखुमा आकर्षण बढदै गएको हो ।

प्रदेश समुन्नत बनाउने उखु

प्रदेश २ को आठवटै जिल्ला पर्सादेखि सप्तरीसम्म उखु खेती पर्याप्त हुने गरेको छ । वीरगन्जमा चिनी कारखाना स्थापनादेखि सुरु भएको खेती चिनी मिल विस्तारसँगै फैलिएको हो । सरकारी चिनी कारखाना बन्द भए पनि निजी स्थापनाले खेतीलाई बढाउन दिएको हो । सबैजसो निजी मिल नाफामा छन् ।

०४२ मा हरिवनमा इन्दुशंकर चिनी मिल स्थापना भएपछि खेतीले व्यापकता पाएको हो । उखु खेती बढदै जाँदा सर्लाहीमा चिनी मिल थपिएर तीन पुगेका छन् । हरिवनको इन्दुशंकर, धनकौलको अन्नपूर्ण चालु अवस्थामा छन् । यसै वर्ष बग्दहमा अर्काे मिल निर्माण हुँदैछ । चिनी मिल आसपासका पानी लाग्ने खेतमा उखु फैलिने क्रम जारी छ । जिल्लामा करिब २३ हजार हेक्टरमा उखु खेती हँुंदै आएको छ । चा वर्षदेखि उखु खेती गरेका लालबन्दी नगरपालिका २ का ज्वालाप्रसाद पोखरेलले निकै सजिलो र राम्रो आम्दानी हुने गरेको अनुभव सुनाए । ‘चिनी मिल पहिल्यै खुले पनि हामी उखु रोप्न निकै ढिला भएछौं,’ उनले भने, ‘मजदुर अभाव र जोताइ खर्च बढी लाग्ने भएकाले उखु अहिले निकै सजिलो बनेको छ ।’ उनले आम्दानीको दृष्टिकोणले पनि उखु खेतीको विकल्प नभएको बताए । धान, गहुँ, दाल, तोरीजस्ता खाद्यान्न उत्पादन गर्न धेरैपटक जोत्नुपर्ने, निरन्तर मजदुर चाहिने झन्झट किसानलाई पर्छ । आफैंले गोरु पालेर जोत्दा खर्च लागे पनि थाहा हुंँदैन थियो । ‘ट्रयाक्टर लगाएर नगद तिर्नु पर्दा खर्च निकै लागेको जस्तो हुँदोरहेछ,’ उनले भने, ‘अहिलेको सजिलो विकल्प भनेको उखु खेती नै हो ।’ उखु रोप्ने र काट्ने बेला २ पटकमात्र मजदुर चाहिन्छ । रोप्ने बेलाबाहेक जोतिरहनु पर्दैन ।

सशक्त संगठन

उखु किसानको सशक्त संगठन भएकाले मूल्य बढाउन दबाबका लागि किसानलाई केही सजिलो छ । उखु उत्पादक संघलगायत करिब आधा दर्जन संगठन किसानको हितमा छन् । किसानलाई सुविधा, समयमा भुक्तानी, उत्पादनको मूल्य बढाउने जस्ता विषयमा ती संगठनले काम गर्छन् । धान, गहुँलगायत बालीमा किसानका लागि बोलिदिने कोही छैन । तराईमा उखु खेतीले किसानको जीवनस्तरमा परिवर्तन पनि नल्याएको होइन् । गरिबीमा गुजारा गर्ने किसानलाई उखु खेतीले निकै माथि पुर्‍याएको छ । किसानलाई पक्का घर, ट्रयाक्टरको मालिक मात्र नभई बालबच्चालाई अंग्रेजी माध्यमका विद्यालयमा पढाउन सक्ने बनाउने देन उखु खेतीलाई जान्छ ।

उखुबाटै राजनीतिमा

रोप्ने र काट्ने बेला तीन महिनामात्र ब्यस्त हुनुपर्ने भएकाले बाँकी ९ महिना किसान फुर्सदमा हुन्छन् । उखु खेतीकै कारण सामाजिक काममार्फत राजनीतिमा सफल हुने पनि यस अवधिमा धेरै छन् ।

भर्खरै सम्पन्न निर्वाचनमा स्थानीय तह र प्रदेशसभामा अगुवा किसानले विभिन्न पार्टीबाट टिकट पाउनुलाई पनि उखु खेतीकै देन मान्न सकिन्छ । प्रदेशसभा सदस्य डिल्ली उप्रेती उखु खेती गर्ने अगुवा किसान हुन् । उत्पादक महासंघ अध्यक्ष कपिलमुनी मैनाली पनि प्रदेशसभामा कांग्रेसबाट उम्मेदवार बनेका थिए । प्रदेशसभाकै अर्का सांसद वीरेन्द्रप्रसाद सिंह पनि उखु किसान पृष्ठभूमिका हुन् । उखु खेतीका कारण फुर्सदिला बनेका किसान राजनीतिमा पनि सफल देखिएका छन् । तल्लो स्तरका जनताको पीरमर्का, किसानका दु:ख बुझेका उनीहरू राजनीतिमा उचाइ बनाएर सांसद बन्न सफल भएका हुन् ।

मूल्यमा किचलो

पछिल्लो समय उखुको मूल्यका कारण किसान र मिल सञ्चालकबीच तनाव बढदै गएको छ । महँगी वृद्धि हुंदै गए पनि त्यसअनुपात मूल्य बढाउन चिनी मिल सहमत नहुँदा किसानको नाफा घटो छ । यस वर्ष पनि उखुको मूल्य तय भइसकेको छैन । मिल सञ्चालक र किसानबीच वार्ता जारी छ । प्रदेश २ मा ७ वटा चिनी

मिल छन् । सबैभन्दा बढी सर्लाहीमा ३, बारा, रौतहट, महोत्तरी, सिरहामा १/१ मिल छन् ।

चिनी मिल बढी भएपछि उखु खेती बढ्नु स्वाभाविक हो । देशभर खपत हुने चिनीको ६० प्रतिशत प्रदेश २ का उद्योगले उत्पादन गर्ने गरेको सांसद उप्रेतीले बताए । उनले सर्वाधिक उखु खेती हुने प्रदेश २ मा किसानले उचित मूल्य पाउने अबस्था सृजना गर्नुपर्ने, चिनी मिलबाट विद्युत उत्पादन गर्ने र सबै मिललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने अबस्था सृजना गर्नुलाई आगामी प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने औंल्याए ।

प्रकाशित : माघ २०, २०७४ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?