कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

समुन्नतिको आधार बन्दै उखु

यस प्रदेशमा ७ वटा चिनी मिल छन्
अमन कोइराला

सर्लाही — दिनानुदिन मजदुर अभाव र सजिलो खेती भएकाले प्रदेश २ मा उखुबाली निकै फष्टाएको छ । उखु खेती बढेसँगै चिनी मिल पनि थपिएका छन् । एकपटक रोपेपछि कम्तीमा ३ वर्षसम्म लगातार उत्पादन हुने भएकाले उखु खेती किसानका लागि निकै सजिलो बनेको छ । वर्षमा ३ महिना खटेपछि ९ महिना फुर्सद हुने भएकाले उखु खेतीमा आकर्षण बढदै गएको हो ।

प्रदेश २ को आठवटै जिल्ला पर्सादेखि सप्तरी सम्म उखु खेती पर्याप्त हुने गर्छ । वीरगंजमा चिनी कारखाना स्थापनादेखि सुरु भएको खेती चिनी मिल विस्तारसंगै फैलिएको हो । सरकारी चिनी कारखाना बन्द भए पनि निजी मिल स्थापनाले उखु खेतीलाई बढाउन मद्दत गरेको छ । सरकारी बन्द भए पनि सबैजसो निजी चिनी मिल नाफामा गएका छन् ।

२०४२ सालमा हरिवनमा इन्दुशंकर चिनी मिल स्थापना भएपछि खेती फैलिने क्रम बढदै गएको हो । उखु खेती बढदै गएपछि सर्लाहीमा चिनी मिल थपिएर तीन पुगेका छन् । हरिवनको इन्दुशंकर र धनकौलको अन्नपूर्ण चालु अबस्थामा छ । यसै वर्ष बग्दहमा अर्काे चिनी मिल धमाधम निर्माण भइरहेको छ । चिनी मिल आसपासका पानी लाग्ने खेतमा उखु फैलिने क्रम जारी छ । जिल्लामा करिब २३ हजार हेक्टरमा उखु खेती हुंदै आएको छ ।

चार वर्षदेखि उखु खेती गरेका लालबन्दी नगरपालिका २ का किसान ज्वालाप्रसाद पोखरेलले निकै सजिलो र राम्रो आम्दानी हुने गरेको अनुभव सुनाए । ‘चिनी मिल पहिलेनै खुले पनि हामी उखु रोप्न निकै ढिला गरेछौं,’ उनले भने, ‘मजदुर अभावका बेला जोताई खर्च बढी नलाग्ने भएकाले उखु खेती अहिले निकै सजिलो बनेको छ ।’ उनले आम्दानीको दृष्टिकोणले पनि उखु खेतीको विकल्प नभएको बताए ।

धान, गहुँ, दाल, तोरी जस्ता खाद्यान्न उत्पादन गर्न धेरैपटक जोत्नुपर्ने, निरन्तर मजदुर चाहिने झन्झट किसानलाई पर्छ । आफैंले गोरु पालेर जोत्दा खर्च लागे पनि थाहा हुँदैन थियो । ‘ट्रयाक्टर लगाएर नगद तिर्नु पर्दा खर्च निकै लागेको जस्तो हुँदो रहेछ,’ उनले भने, ‘अहिलेको सजिलो विकल्प भनेको उखु खेती नै हो ।’ उखु खेती गर्दा रोप्ने र काट्ने बेला २ पटक मात्र मजदुर चाहिन्छ । रोप्ने बेला वाहेक जोतिरहनु पर्दैन ।

उखु किसानको सशक्त संगठन भएकाले मूल्य बढाउन दवाबका लागि किसानलाई केही सजिलो छ । उखु उत्पादक संघ लगायत करिब आधा दर्जन संगठन किसानको हितमा सक्रिय छन् । किसानलाई सुविधा, समयमा भुक्तानी, उत्पादनको मूल्य बढाउने जस्ता विषयमा ती संगठनले काम गर्छन् । धान, गहुंँलगायतका बालीमा किसानका लागि बोलिदिने कोही छैन ।

तराईमा उखु खेतीले किसानको जीवनस्तरमा परिवर्तनपनि नल्याएको होइन् । गरिबीमा गुजारा गर्ने किसानलाई उखु खेतीले निकै माथि पुर्‍याएको छ । किसानलाई पक्का घर, ट्रयाक्टरको मालिक मात्र नभई बालबच्चालाई अंग्रेजी माध्यमका विद्यालयमा पढाउन सक्ने बनाउने देन उखु खेतीलाई जान्छ ।

बसवरियाका किसान शिवचन्द्र चौधरीले उखु खेतीले किसानको आर्थिक, समाजिक र दैनिक जीवन शैलीमा नै परिवर्तन ल्याएको बताए । रोप्ने र काट्ने बेला गरी तीन महिना मात्र ब्यस्त हुनुपर्ने भएकाले बाँकी ९ महिना किसान फुर्सदमा हुन्छन् । उखु खेतीकै कारण सामाजिक काममार्फत राजनीतिमा सफल हुने पनि यस अबधिमा धेरै छन् ।

भर्खरै सम्पन्न निर्वाचनमा स्थानीय तह र प्रदेश सभामा अगुवा किसानले विभिन्न पार्टीवाट टिकट पाउनुलाई पनि उखु खेतीकै देन मान्न सकिन्छ । प्रदेश सभाका सांसद डिल्ली प्रसाद उप्रेती उखु खेती गर्ने अगुवा किसान हुन् । उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली पनि प्रदेश सभामा काँग्रेसवाट उमेदवार बनेर पराजित भएका थिए । प्रदेश सभाका अर्का सांसद वीरेन्द्र प्रसाद सिंहपनि उखु किसान पृष्ठभुमिका हुन् । उखु खेतीका कारण फुर्सदिला बनेका किसान राजनीतिमा पनि सफल देखिएका छन् । तल्लो स्तरका जनताको पीरमर्का, किसानका दु:ख बुझेका उनीहरू राजनीतिमा उचाई बनाएर सांसद बन्न सफल भएका हुन् ।

प्रदेश सांसद डिल्ली प्रसाद उप्रेतीले उखुकै कारण आफुले आर्थिक र राजनीतिक सफलता पाएको स्वीकारे । उनले उखुवाट फाइदा हुने देखेपछि जग्गा भाडमा लिएर समेत खेती गरेको वताए ।

‘उखुखेतीबाट आर्थिक मात्र नभई राजनीतिक रुपमा पनि अगाडी बढ्न मद्दत पुग्यो,’ हरिवनको पूर्व गाविस अध्यक्ष समेत भइसकेका उनले भने, ‘फुर्सदको समय समाजिक काममा लाग्न पाइयो, राजनीतिक गतिविधिमा समय दिन सकियो । अहिले सांसद बन्नुका पछाडि पनि उखु खेतीको निकै ठूलो योगदान छ ।’ उखु खेतीले गर्दा किसानलाई हेर्ने दृष्टिकोणपनि फेरीएको उनले वताए ।

‘किसान भने पछि धुस्रे फुस्रे, गरिब, चेतना नभएको र सरसफाइमा वास्ता नभएको मान्ने परिपाटी थियो,’ उनले भने, ‘अहिले सफा लुगा, राम्रो घर, राजनीति बुझेको, ब्यबस्थीत बसोवास र मोटरसाइकल नचढ्ने कमै छन् । उखु खेतीको यसमा ठूलो भुमिका छ ।’ पछिल्लो समयमा भने उखुको मूल्यका कारण किसान र मिल संचालक विच तनाव बढै गएको छ । महंगी बृद्धि हुंदै गएपनि त्यस अनुपातमा उखुको मूल्य बढाउन चिनी मिल मन्जुर नहुंदा किसानको नाफा घटो छ । यसबर्षपनि उखुको मूल्य तय भइसकेको छैन् । मिल संचालक र किसान विच वार्ता जारी छ ।

प्रदेश २ मा ७ वटा चिनी मिल छन् । सबै भन्दा बढी सर्लाहीमा ३, वारा, रौतहट, महोत्तरी, सिरहामा १/१ मिल रहेका छन् । चिनी मिल बढी भएपछि उखु खेती बढ्नु स्वभाविक हो । देशभर खतप हुने चिनीको ६० प्रतिशत प्रदेश २ का उद्योगले उत्पादन गर्दै आएको उप्रेतीले वताए । उनले सर्वाधिक उखु खेती हुने प्रदेश २ मा किसानले उचित मूल्य पाउने अबस्था सृजना गर्नुपर्ने, चिनी मिलवाट विद्युत उत्पादन गर्ने र सबै मिललाई पूर्ण क्षमतामा संचालन गर्ने अबस्था सृजना गर्नुलाई आगामी प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने औंल्याए ।

‘त्यसो गर्न सके किसान आर्थिक रुपमा सवल हुन्छन,’ उनले भने, ‘उद्योग बढेर रोजगारी सृजना हुन्छ । विजुली निकाल्न सकिने खोलानाला नभएकाले मिलवाट निकालेको विद्युतले प्रदेशका लाठि ठूलो टेवा पुग्छ र पुरै प्रदेश समृद्ध बन्न सक्छ । उचित नीति लिएर अघि बढे प्रदेश २ लाई छिटै समृद्ध बनाउन सक्ने सम्भावना देखिन्छ ।’

प्रकाशित : माघ २३, २०७४ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?