२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

दलितलाई छुट्टै इनार !

भरत जर्घामगर

सिरहा — दलित समुदायको पहिचान तथा आत्मसम्मानका लागि पनि ऐतिहासिक चमार आन्दोलनसँगै सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले समेत महत्त्वपूर्ण जिल्ला हो ‘सिरहा’ । सिरहामा दलित समुदायका लोक नायक प्रतापी राजा सलहेशले राज्य गरेको प्रमाण लहानदेखि तीन किलोमिटर पश्चिम सल्हेश फूलवारीले समेत देखाउँछ । 

दलितलाई छुट्टै इनार !

दलित समुदायका प्रतापी राजाले राज्य गरेको यही जिल्लाका दलित समुदाय सामाजिक रूपमा बहिष्कृत, तिरष्कृत र चर्को जातीय छुवाछूतको मार सहन बाध्य छन् । अहिलेसम्म पनि सिरहाका बहुसंख्यक दलित समुदाय खोला नदीको किनार, पोखरीको डिल, गाउँको पुछारमा रहेको ऐलानी पर्ती र गिरहत (मालिक) को जमिनमा बसोबास गर्दै आएका छन् । आफ्नै एक धुर पनि जमिन नरहेका बहुसंख्यक दलितलाई सार्वजनिक धारा, इनार, मठ मन्दिर, होटल, विद्यालय, विवाह, भोजभतेर लगायतका सार्वजनिक स्थलमा छुवाछूत गर्ने क्रम रोकिएको छैन ।

यसको ज्वलन्त उदाहरण सिरहाको गोलबजार नगरपालिका ३ तेतरियास्थित दलित रामआशिष मरिक डोम परिवारमा पाइन्छ । बस्तीमा ५० भन्दा बढी साह तेली समुदायको बसोबास छ । त्यही बस्तीमा दलित रामअशिषको एक्लो परिवारको बसोबास छ । तर खानेपानीकैं लागि उनले एक्लैंका लागि बेग्लै इनार बनाउनुपर्‍यो ।

बस्तीमा घर नजिकैं इनार त थियो तर इनारमा पानी भर्न त के, छायासम्म पर्न नदिएपछि रामआशिष परिवारले ४५ वर्षसम्म पोखरीको पानी खाएर गुजारा चलाए । ‘टोलको इनारमा पानी भर्न दिएन, ११ जनाको परिवारलाई चाहिने पानीको स्रोत खोला परी रहेको कुम्भी खाडी बन्यो,’ उनले भने ‘त्यही खाडीको दहमा जमेको पानीले ४५ वर्षसम्म धान्यो ।’ हिउँदमा दहको पानीले जसोतसो टारे पनि वर्षामा धमिलो पानी पिउन बाध्य थियो उनको परिवार । धमिलो पानीकैं कारण झाडापखालाले रामआशिषका परिवारका बुबा लोटन, पूर्णी र धनसेर मरिकलाई मृत्युको मुखमा पुर्‍यायो ।

पछि छिमेकी गाउँका समाजसेवी कारीमान पुलामीको पहलमा ग्रामीण खानेपानी तथा सरसफाई कोषको सहयोगमा रामआशिषको आँगनमैं एक लाख लगानीमा इनार बनाइयो । गाउँ ब्लक जग्गामा बसोबास गर्दै आएका मरिक परिवारमा खानेपानीको समस्या टरेपनि छुवाछूत र अरूबाट अपहेलित हुनुपर्दा मन कुँडिएको अनुभव छ ।

रामआशिष मात्र होइन सिरहा धनगढीमाई ११ स्थित नैनपुर बस्तीमा दलित पुलकित मरिक डोमको एक्लो घर छ । महतो, सदाय, साह लगायतको दुई दर्जनभन्दा बढीको बसोबास रहेको बस्ती बीचमा पुलकितको एक्लो घर छ । सधैंभरि कथित उपल्लो जातिले पानी भरिदिएपछि मात्र इनारको पानी प्रयोग गर्दै आएका पुलकित मरिक परिवारले इनार छोएपछि पानी पिउन त पाएनन् नै नाकाबन्दी सहनुपर्‍यो ।

‘पछिल्लोपटक प्रशासनले त्यही पानी सेवन गराएपछि गाउँलेले इनार नै प्रयोग गरेनन,्’ पुलकितले भने, ‘अहिले एक्लो मेरो लागि मात्र त्यो इनार भएको छ ।’ उनका अनुसार आफ्नो परिवारले इनार प्रयोग गर्न थालेदेखि गाउँलेले खेतबारी पटाउन र बस्तुभाउलाई मात्र इनारको पानी प्रयोग गर्न थालेका छन् ।

‘मपनि मानव नै हुँ’, उनले भने, ‘इनार प्रयोगले बस्तुभाउसँग दाजिदिँदा अपमान बोध हुँदो रहेछ ।’ अपमान सहेरै पुलकित परिवार बाँसको सामग्री बनाएर बिक्रीबाट गुजारा चलाइरहेका छन् । ‘जग्गाजमिनको नाममा ५ धुर जति ऐलानी जग्गामा घर बनाएर गुजारा चलाउँछु’, पुलकितकी पत्नी प्रमिलाले भनिन् ‘अन्य जाने ठाउँछैन, अपहेलित भएरपनि बस्नै पर्‍यो ।’ रामआशिष र पुलकित मात्र होइन सिरहाका अधिकांश दलित बस्तीलाई खानेपानीका लागि बेग्लै इनार र टयुबेल जडान गरिएका भेटिन्छन् ।

‘सार्वजनिक इनारमा गरिने भेदभाव कानुनी रुपले दण्डनीय मात्र होइन, मुलुक नै छुवाछूत मुक्त राष्ट्र घोषणा भइसक्यो,’ दलित अधिकारकर्मी उमेश बिसुन्के भन्छन्, ‘ऐन कानुन नै आइसके पनि अझै त्यस व्यवस्थाले न पोखरीको पानी पिउन बाध्य मरिक परिवारलाई केही राहत भयो न जातीय विभेद गर्ने स्थानीय गाउँलेलाई छोयो ।’ ‘यो नै बिडम्बना छ,’ उनले भने ‘राजनीतिक परिवर्तन भए पनि समाज परिवर्तन नहुँदा पराकाष्ठा अझै दलितले सहनु परेको अवस्था छ, परिवर्तनका लागि सबै जागरुक हुन आवश्यक छ ।’

छुवाछूत घटना

दशकअघि लालपुर टोडकेका मनेश्वर मरिक सहित तीन घरपरिवारले खानेपानीका निम्ति कुटपिट मात्र सहनुपरेन इनार छोएको आरोपमा स्थानीय समाजबाट ५ सय ५१ रुपैयाँ जरिवाना तिर्नुपर्‍यो । त्यस्तै पार्वती मरिकसँग गाउँका इनारमा पानी भर्दा स्थानीय गाउँलेले कुटेको र दलितले छुएको भन्दै इनारमैं गोबर घोलेर हालिदिएको विगत ताजै छ । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ को दफा ४ को उपदफा २ मा कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म संस्कृति, रीतिरिवाज, जात जाति, वंश समुदाय वा पेशाका आधारमा जातीय भेदभाव वा छुवाछूत गरी सार्वजनिक वा निजी स्थानमा प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लागाइने छैन भन्ने उल्लेख छ ।

त्यसैगरी उपदफा २ (ख) मा व्यक्तिगत वा सामूहिकरूपमा सार्वजनिक स्थान वा समारोहबाट निष्काशन सामाजिक वहिष्कार वा कुनै प्रकारको भेदभाव गर्ने वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रदर्शन गर्न नहुने उल्लेख छ ।

कसैले कुनै पनि व्यक्तिलाई जात, जाति वंश समुदाय वा पेसाका आधारमा सार्वजनिक सेवाको प्रयोग गर्न वा उपभोग गर्नबाट वञ्चित गरिनु हँुदैन भन्ने बुझ्दाबुझ्दै २१ औं शताव्दीमा पनि इनारको पानी छोएको निहुमा कुटपिट गरिनु निन्दनीय घटना भएको बताउँछन् लहान क्याम्पसका समाजशास्त्र मानव शास्त्रका उपप्राध्यापक शोभितलाल चौधरी । ‘पुरातनवादी सोंच राख्ने समाज अझैपनि कायमैं छ,’ उनले भने, ‘यसले गर्दा पनि समाजबाट जातीय छुवाछूतका घटना हटन सकेका छैनन् ।’

पछिल्लोपटक दलित समुदायले थालेका पहिचान र आत्मसम्मानको आन्दोलनले पुरातनवादी सोंच राख्ने समाजमा हलचल ल्याएको छ यसले गर्दा समाजबाट बिस्तारै विभेद हट्दै जाने उनले बताए । जातीय आधारमा दलित महिलामाथि कुटपिट गरिए पनि केही व्यक्तिहरूले कानुनी उपचार भन्दा सामाजिक रूपमा मिलाउन र प्रहरी प्रशासनमा नजाने समेत धम्की दिने प्रवृत्तिले पनि छुवाछूत घटनामा कमी आउन नसक्दा समाजमा एक खाले पीडक मनोविज्ञान कायम रहेको ठम्याइ मनोविज्ञान शास्त्रका उपप्राध्यापक कन्हैया भट्टको छ ।

‘दलित समुदायले स्वयं पनि आफूविरुद्धको सामाजिक, सांस्कृति उत्पीडनविरुद्ध आन्दोलनमासँगै राजनीतिक हिस्सेदारी खोज्न थालेकाले पुरानो मनोविज्ञान समाजबाट हटदै जाने उपप्राध्यापक भट्टले बताए । तर दलितहरूले सामाजिक रूपमा ल्याएको जागरण गाउँगाउँमा पुर्‍याउन आवश्यक छ ।

प्रकाशित : फाल्गुन १, २०७४ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?