१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सदरमुकाममै छैन ‘ब्लड बैंक’

भरत जर्घामगर

सिरहा — सदरमुकाम सिरहा बजारमा ‘ब्लड बैंक’ नहुँदा रगत अभावमा बिरामी समस्यामा छन् । रगत अभावमा सदरमुकामस्थित जिल्ला अस्पतालमा प्रसूति गृह सञ्चालन हुन सकेको छैन । ब्लड बैंक नभएकै कारण तत्कालै रगत आवश्यक पर्ने बिरामीलाई अस्पतालले बाहिर ‘रेफर’ गर्दै आएको छ ।

जसका कारण बिरामी थप उपचारका लागि जनकपुर, लहान र पूर्वको विराटनगरसँगै भारतको जयनगर पुग्न बाध्य छन् । चिकित्सकका अनुसार दुर्घटना, चोटपटक, गर्भवती शल्यक्रिया गर्दा तत्कालै रगत आवश्यक पर्दछ । ५० शय्याको जिल्ला अस्पतालमा उपचार गराउन आउने बिरामीहरूको दैनिक चाप भए पनि ब्लड बैंक नहुँदा सामान्य शल्यक्रिया गर्नुपर्ने खालका बिरामीलाई बाहिर रेफर गर्न बाध्य भएको अस्पतालले बताउँदै आएको छ । अस्पतालका अनुसार एकातिर रगत अभाव रहेको र अर्कोतर्फ अस्पतालमै पनि सर्जरी, गाइनोलगायतमा विशेषज्ञ चिकित्सक छैन ।

अस्पताल प्रशासनका अनुसार ५ जनाभन्दा बढी विशेषज्ञ चिकित्सकको अभाव भएकै कारण करारमा भर्ना गरेका चिकित्सकका भरमा अस्पताल चलेको छ । तर, ब्लड बैंक सञ्चालन नहुँदा र दरबन्दीअनुसार चिकित्सक अभावकै कारण बिरामी रेफर गर्नुबाहेक अस्पतालसँग कुनै विकल्प नरहेको जिल्ला अस्पताल सिरहाका प्रमुख डा. चुमनलाल दासले बताए ।

सामान्य बिरामीलाई पनि रेफर गरेको तथ्यांक हेर्दा जिल्ला अस्पताल रेफर सेन्टरजस्तो भएको छ । गएको साउनदेखि पुससम्म ४ हजार १ सय २१ मध्ये ७३ बिरामी रेफर भएको आकस्मिक कक्षको तथ्यांकमा उल्लेख छ । सदरमुकाममै ब्लड बैंक नहुँदा लहानस्थित रक्तसञ्चार केन्द्रले जिल्लाभरि रगत आपूर्ति गरेको छ । केन्द्रका अनुसार जिल्लाभर २ हजार ८ सय युनिट रगत आवश्यक पर्छ । तीमध्ये दुई हजार युनिट लहानमै खपत हुन्छ । अरू जिल्लाका मिर्चैया, कर्जन्हा क्षेत्रमा खपत भइरहेको छ । केन्द्रमा अहिले ८ सय युनिट रगतमात्रै छ । केन्द्रका प्रमुख प्रदिप यादवले सीमित स्रोतसाधनमा जसोतसो रगत अभाव पूर्ति गरिरहेको जानकारी दिए ।

रगत अभाव हुन नदिन ११ वर्षअघि ब्लड बैंक स्थापनाका लागि जिल्ला अस्पतालले हाताभित्र रेडक्रसलाई ६ धुर जग्गा उपलब्ध गराएको थियो । ५ वर्षअघि रेडक्रसले आन्तरिक र बाह्य स्रोत जुटाई पाँच कोठे भवन निर्माण गरेको थियो । तर, समयमा अस्पतालले सुचारुका लागि उपकरण उपलब्ध नगराएपछि सञ्चालनमा ढिलाइ भएको रेडक्रसले जनाएको छ ।

‘हामीले आन्तरिक र बाह्य स्रोत जुटाएर त्यतिखेर झन्डै १० लाख लागतमा भवन निर्माण गर्‍यौं,’ उनले भने, ‘तर समयमा उपकरण नआउँदा सञ्चालन हुन सकेन ।’ उनले अहिले अस्पतालले केही उपकरण उपलब्ध गराएकाले सञ्चालनका लागि तयारी गरिरहेको बताए । ब्लड बैंक सञ्चालन नभएपछि रेडक्रसले दुई कोठा स्टेसनरी र सीडी पसलेलाई भाडामा लगाएर रकम असुल्दै आएको छ ।

सिरहा अस्पतालका प्रमुख डा. चुमनलाल दासले ब्लड बैंक सञ्चालनका लागि केहि उपकरण खरिद गरिसकेको र केही अपुग रहेकाले नगरपालिकासँग सहकार्य गरिरहेको जानकारी दिए ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?