औषधि सिन्डिकेटविरुद्ध धर्ना

सरोकारवाला निकाय मौन
श्यामसुन्दर शशि

जनकपुर — औषधि व्यवसायमा व्याप्त मूल्य सिन्डिकेटविरुद्ध जनकचोकमा धर्ना बसेका रायम्स पब्लिक फार्मेसीका सञ्चालक पवन सहनीको मागबारे सरोकारवाला निकाय अझै पनि मौन छन् । यता औषधि व्यवसायी संघले रायम्स फार्मेसीमाथि औषधि आपूर्तिमा लगाएको प्रतिबन्ध कायमै छ । 

औषधि सिन्डिकेटविरुद्ध धर्ना

औषधि आपूर्ति सुचारु गर्न, सस्तो दरमा औषधि उपलब्ध गराउनेलाई सहयोग गर्न, औषधि व्यवसायी संघको ज्यादती अन्त्य गर्न तथा नियमित बाजार अनुगमनको माग राखी सहनी गत दस दिनदेखि धर्ना बसेका छन् ।

बाजार मूल्यभन्दा झन्डै आधा मूल्यमा औषधि बिक्री गर्दै आएको रायम्स पब्लिक फार्मेसीलाई औषधि व्यवसायी संघ, जनकपुरले औषधि आपूर्ति बन्द गराएको छ । संघका महासचिव प्रमोदकुमार अग्रवालले माघ १० गते स्थानीय थोक व्यवसायीहरूलाई पत्र लेखी रायम्स पब्लिक फामेसीलाई औषधि आपूर्ति बन्द गर्न पत्राचार नै गरेको छ ।

पत्रमा संघको विधानको मर्म विपरीत औषधि बिक्री वितरण गरिरहेको र सञ्चार माध्यममा गलत भ्रामक प्रचार,झूटा लक्षण लगाएकाले निज फर्मलाई कुनै किसिमको औषधि आपूर्ति बन्द गरिएको जानकारी गराइएको छ ।

रायम्स पब्लिक फार्मेसी बाजारमा २ सय ३२ रुपियाँमा बिक्री हुने मोन्ताज नामक एन्टिबायोटिक १ सय १६ रुपियाँमा उपलब्ध गराउँदै आएको छ भने बजारमा ३ सय ३५ रुपियाँमा बिक्री हुँदै आएको लैक्सिस सिरप २ सय ८१ रुपियाँमा बिक्री गर्दै आएको छ । जनकचोकमा धर्ना बसेका पवन सहनीले भने– यी एक दुई उदाहरणमात्र हुन् ।

यस्ता अनेकौ औषधि बाजार मूल्यभन्दा दस प्रतिशतदेखि ५० प्रतिशतसम्म कम मूल्यमा उपभोक्तालाई उपलब्ध गराउँदै आएका हौं ।’ बाजार मूल्यभन्दा झन्डै आधा मूल्यमा औषधि बिक्री गरे पनि आफूले राम्रै कमाइ गरेको दाबी सहनीको छ ।

झन्डै आधा मूल्यमा औषधि उपलब्ध गराउन थालेपछि, यहाँका थोक तथा खुद्रा व्यवसायीहरू अतालिएका छन् । धर्नामा ऐक्यबद्धता जनाउन आएका अवकाशप्राप्त राष्ट्रसेवक रामबोध झाले भने, ‘औषधि व्यवसायमा हँुदै आएको ब्रह्मलुट बारे सर्वसाधारणलाई जानकारी नहोस् भनेर रायम्सलाई औषधि आपूर्ति बन्द गराएको छ ।’

औषधि उत्पादक कम्पनीहरू आफ्नो उत्पादन बिक्री गराउन चिकित्सक तथा बिक्रेतालाई आकर्षक उपहार दिनुका साथै पर्याप्त बोनस पनि दिन्छन् । चिकित्सकहरूलाई फ्रिज, टेलीभिजन, वासिङ मेसिनसँगै विदेशका टुरसम्म उपलब्ध गराउँछन् । यसैगरी केही औषधि कम्पनीहरू १ सय कार्टुनमा १ सयसम्म अर्थात् शतप्रतिशत बोनस दिन्छन् । आफ्नो नाम सार्वजनिक गर्न नचाहने एक थोक बिक्रेताले भने– नेपालका केही कम्पनी शतप्रतिशत बोनस दिन्छन् । एकआध कम्पनी बाहेक सबैले १० कार्टूनमा १ देखि ८ कार्टुनसम्म बोनस दिने गरेको उनले वताए । बोनसलाई औषधि व्यवसायीहरू ‘डिल बोनस’ भन्छन् ।

यसरी औषधि बिक्रेताहरू कम्पनीहरूले निर्धारण गरेको अधिकतम मूल्यमा औषधि बिक्री गरेर आधिकारिक कमिसनका अतिरिक्त डिल बोनस बापत प्राप्त शतप्रतिशत अतिरिक्त नाफा समेत कमाउने गरेका छन् । रायम्स पब्लिक फार्मेसीका सञ्चालक पवन सहनी औषधि व्यवसायीहरूले डिल बोनसको नाममा गर्दै आएको ब्रह्मलुटलाई रोक्ने प्रयास गरेको रामबोध झाको कथन छ । उनले भने, ‘उपभोक्ताहरूसँग गरिँदै आएको ब्रह्मलुट रोकिएन भने नागरिक समाज कठोर आन्दोलन गर्न बाध्य हुनेछ ।’

रायम्सका सञ्चालक पवन सहनी भने आफूले डिल बोनसबाट प्राप्त अतिरिक्त औषधिलाई समेत जोडेर मूल्य निर्धारण गर्ने गरेको बताए । ‘अरू बिक्रेताहरू डिल बोनस बापत प्राप्त अतिरिक्त औषधिलाई छुट्टै मूल्य लिन्छन्, हामी सबै जोडेर लागत निर्धारण गर्छौं अनि नाफा जोडेर मूल्य निर्धारण गर्छौं । अनि औषधि सस्तो भइहाल्छ नि,’ उनले भने ।

सहनी खुला बजारमा बजार मूल्यभन्दा सस्तोमा वस्तु उपलब्ध गराउनबाट रोक्नुलाई व्यावसायिक सेन्डिकेटको संज्ञा दिन्छन् । ‘कस्तो विडम्बना ! उपभोक्तालाई सस्तोमा औषधि उपलब्ध गराउँदा आपूर्ति बन्द गराइन्छ । स्थानीय प्रशासन मौन बसेको छ अनि नागरिक समाज अगाडि आउँदैनन्,’ उनले भने । सहनी समस्या समाधानका लागि

जिल्ला प्रशासन कार्यालय धनुषा,जिल्ला जनस्वास्थ्य कार्यालयसहित राजनीतिक दलका नेता तथा स्थानीय युवा संघसंस्थालाई समेत गुहारेका छन् तर कुनै निकायले हालसम्म समस्या समाधानका लागि पहल गरेको छैन । समाजसेवा तथा गरिव तथा विपन्न समुदायलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले तीन महिना पूर्व सञ्चालन गरिएको रायम्स पब्लिक फार्मेसी आगामी तीन महिनाभित्र पब्लिक संगठनको रूपमा विकसित गर्ने लक्ष्य लिएको थियो तर औषधि व्यवसायी संघको असहयोगको कारण फार्मेसी नै बन्द गर्नुपर्ने अवस्था सृजना भएको सहनीले बताए ।

औषधि व्यवसायी सघ, जनकपुरका महासचिव प्रमोदकुमार अग्रवाल रायम्स पब्लिक फार्मेसीका सञ्चालक पवन सहनीको क्रियाकलापले औषधि व्यवसाय नै धरापमा परेको बताउँछन् । संघको विधानमा गुणस्तरीय औषधि सुलभ तरिकाले उपलब्ध गराउने व्यवस्था छ ।

संघसँग आवद्ध सम्पूर्ण व्यवसायीले यो प्रावधान मान्नुपर्दछ,’ उनले भने । रायम्सका सञ्चालक पवन सहनी बाहिरी तत्त्वबाट सञ्चालित रहेको आरोप महासचिव अग्रवालले लगाए । ‘कम्पनीले बिक्रेतालाई उपलब्ध गराउने डिल बोनसमाथि बिक्रेताको हक छ । हामीले निर्धारित मूल्यमा औषधि बिक्री गर्ने हो । कम बेसीमा होइन,’ उनले भने ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?