सीसीटीभी निगरानीमा वीरगन्ज

ठूला आपराधिक घटनाको अनुसन्धानमा सीसीटीभी क्यामेरा प्रभावकारी
भूषण यादव

वीरगन्ज — महानगरका सडक र सार्वजनिक स्थलमा हुने सबै गतिविधिमा निगरानी राख्न प्रहरीले सीसीटीभी (क्लोज सर्किट क्यामेरा) विस्तार गर्ने भएको छ । 

अपराध नियन्त्रमा प्रभावकारी भूमिका खेलेपछि पर्सा प्रहरीले सिंगो आर्थिक नगरीलाई सीसीटीभीको स्क्रिनबाट नियाल्ने योजनासहित अभियान थालेको हो । हत्या, बम विष्फोट, अपहरण, लुटपाट लगायतका घटना बढ्दै गएपछि ६ वर्ष अगाडि वीरगन्ज उद्योग वाणिज्य संघ, बैंक तथा वित्तिय संस्था र प्रहरीको समन्वयमा नगर क्षेत्रम सीसीटीभी जडान गरिएका थिए । ०६८ मंसिरदेखि यहाँ सीसीटीभी राख्ने अभियान चले पनि पछिल्लो मधेस आन्दोलनका क्रममा ७० वटा सीसीटीभी क्यामेरा आन्दोलनकारीले फुटाइदिएका थिए । ‘हाल मर्मतसम्भार गरी ४४ वटा सीसीटीभी सञ्चालनमा रहेका छन्,’ पर्साका प्रहरी उपरिक्षक डा.गणेश रेग्मीले भने, ‘अपराध नियन्त्रण र अनुसन्धानमा सीसीटीभी प्रभावकारी देखिएकाले वीरगन्ज महानगरपालिकामा सयभन्दा बढी क्यामेरा जडान गर्ने अभियानमा छौँ ।’

यसका लागि वीरगन्ज उद्योग वाणिज्य संघ, वीरगन्ज महानगरपालिका, होटल, बैंक तथा वित्तिय संस्थाले अग्रसरता लिएका छन् । महानगरपालिका कार्यालयले सीसीटीभी जडानका लागि १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गत शुक्रबार गरेको छ । उद्योग वाणिज्य संघले १० रुपैयाँ लाख र अन्य व्यवसायीले समेत आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । संघले सीसीटीभी जडानका लागि ‘सेफर वीरगन्ज’ संस्था नै स्थापना गरेको छ । उक्त संस्थाले आर्थिक संकलनका लागि गत साता सिनेमा हलमा ‘च्यारेटी सो’ समेत देखाइएको थियो, जसबाट करिब ४ लाख रुपैयाँ संकलन भएको एसपी रेग्मीले जनाए ।

सेफर वीरगन्जका अभियन्ता गणेश लाठका अनुसार सडकको मोटरसाइकल चोरीदेखि ठूला आपराधिक घटनाको अनुसन्धानमा पनि सीसीटीभी क्यामेरा प्रभावकारी देखिएको छ । अगामि दुई महिनाभित्र सहरमा २ सय सीसीटीभी जडान गर्ने लक्ष्य लिएका छौँ, वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका लाठले भने, निजी क्षेत्रबाटै आर्थिक सहयोग बटुलेका छौँ । सहरको मूख्य चोक मानिएको घन्टाघर, माइस्थान, आदर्शनगरको कैलाश चोक र अलखिया चोकमा ३ सय ६० डिग्रीमा घुम्न सक्ने र झन्डै आधा किलोमिटरसम्म जुम गरी हेर्न मिल्ने क्यामेरा जडान गरिसकिएको उनले जनाए । पहिलो चरणमा घन्टाघरदेखि लिंकरोड हुँदै बसपार्क, दोस्रोमा अलखिया चोकदेखि इनर्वा प्रहरी चौकी र अन्तिम चरणमा रानीघाट क्षेत्रमा क्यामेरा जडान गरिने सेफर वीरगन्जका अभियन्ता लाठले जनाए ।

यसैगरी वीरगन्जका प्रत्येक बैंकलाई ‘कर्पोरेट सोसल रेस्पोन्सबिलिटी’ अन्तर्गत कार्यालय परिसरको सडकतर्फको सुरु र अन्तिम कुनामा कम्तिमा दुइटा सीसीटीभी जडान गर्न आह्वान समेत गरिएको छ । एसपी रेग्मीले भने, ‘ सबै बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।’ उनका अनुसार महानगरपालिकाभित्र सञ्चालनमा रहेका होटल व्यवसायीलाई पनि होटलको मुख्य गेटमा सीसीटीभी क्यामेरा जडान गर्न भनिएको छ । शान्ति सुरक्षा र अपराध अनुसन्धान कार्यमा सहयोगका लागि वीरगन्जमा मात्र नभई परवानीपुरमा पनि २० वटा सीसीटीभी क्यामरा जडान भइरहेको वीरगन्ज महानगरापालिका २१ का अध्यक्ष हविव मियाँले जनाए । यसअघि आदर्शनगर, रानीघाट, माइस्थान, घन्टाघर, बसपार्क, भन्सार क्षेत्रम सीसीटीभी जडान भएका थिए । सीमावर्ती सहरमा अपराध नियन्त्रणमा सीसीटीभी सर्भिलियन्स उत्तम उपाय मानिन्छ । नगरलाई सुरक्षा कवक्ष भित्र राख्ने अभियानमा सबैले सहयोग पुर्‍याएको छन् । ‘सीसीटीभीबाट फाइदा बाहेक अरू केही नहुने भएको र यसले अपराध अनुसन्धान तथा सुरक्षामा अतुलनीय योगदान दिने भएकाले आर्थिक नगरी वीरगन्जलाई पूर्ण रूपले सीसीटीभी निगरानी भित्र राख्न अभियान चलाइएको हो,’ एसपी रेग्मीले भने, ‘आफ्नो सहर सुरक्षित बनाउने अभियानमा सर्वसाधारणले पनि सहयोग गरेका छन् ।’

प्रकाशित : फाल्गुन २, २०७४ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?