उखु काट्ने मजदुर भएनन्

शंकर आचार्य

पर्सा — उखु काट्ने मुख्य सिजनमा जिल्लामा कृषि मजदुरको अभाव खटकिएको छ । सीमित दिनभित्र उखु काटेर चिनी मिललाई बिक्री गर्न नपाए कृषकलाई ठूलो मर्का पर्छ । 

उखु काट्ने मजदुर भएनन्

उखु उत्पादक किसान संघर्ष समितिका जिल्ला सचिव पृथ्वी साह कानुले मजदुर अभावको कारण कृषकहरू दोहोरो मारमा परेको बताए । ‘अहिले कृषि मजदुरको अत्यधिक आवश्यकता छ तर खोजेका बेला मजदुर पाइएको छैन,’ उनले भने, ‘मजदुर अभावको कारण एकातिर समयमा बाली काटेर किसानले चिनी मिललाई दिन पाएका छैनन्, अर्कोतिर दिनप्रतिदिन चर्किंदै गएको घामको रापले उखुको रस सुकाउने क्रम पनि बढदै जान्छ, यसरी हामी किसान दोहोरो मारमा परेका छौं ।’ चिनी मिलहरूले उखु क्रसिङ गरिरहेको मौका छोपेर उखु बाली काटन नपाएपछि समस्या भएको उनले बताए ।


सामान्यतया चिनी मिलहरूले फागुन मसान्तसम्म उखु क्रसिङ बन्द गरिसक्ने भएकाले समयमा बाली नकाटे धेरै किसानको उखु बाली खेतमै बस्ने सम्भावना हुन्छ । चिनी मिलले आफ्नो वार्षिक क्रसिङ लक्ष्य भेट्टाएपछि किसानको उखु बाली कुरेर बस्दैनन् । जिल्लामा यस वर्ष करिब ४ हजार बिघामा उखु खेती गरिएकोमा हालसम्म करिब ४० प्रतिशत बाली मात्र काटिएको उनले बताए ।

जिल्लाका युवाहरूमा बढदो वैदेशिक रोजगारीको आकर्षणले वर्षेनी क्रमश: कृषि मजदुरको अभाव हुँदै गएको उनले बताए । ‘युवाहरू रोजगारीका लागि भारत र खाडी मुलुकप्रतिको आकर्षण बढेपछि जिल्लामा कृषि मजदुर अभाव झनै बढी हुन थालेको हो,’ उनले भने, ‘खोजेको बेला मजदुर नपाइने र पाइहाले पनि महँगो ज्याला माग्ने गरेकाले खेतीपाती अब महँगो र मुनाफाविहीन हँुदै गएको छ ।’ थोरै खेत हुने किसानले आफंै खेती गर्न भ्याए पनि धेरै खेत हुने किसान परिवारलाई भने कृषि मजदुरमै आश्रित हुनुपर्ने बाध्यता छ । ‘आफूले नभ्याउँदा मजदुरको भर पर्नै पर्छ,’ कानुले भने, ‘कृषि मजदुर अभावको समस्या दिन दिनै बढदो छ ।’


इन्दु शंकर चिनी उद्योगका व्यवस्थापक राजेश केडिया पनि पछिल्लो केही वर्षयता कृषि मजदुरको अभावले उद्योगमा समयमा उखु आउन नसकेको बताए । ‘यसवर्ष यो समस्या झनै बढेर आएको छ,’ उनले भने, ‘मजदुर अभावले समयमा उखु नकाटिँदा उद्योगको उत्पादन कार्य नै प्रभावित हुनेसम्मको अवस्था आइसक्यो ।’ उनले कृषिप्रधान मुलुकमा नगदे बाली साबित भइसकेको उखु बाली रोप्न तथा भित्र्याउन सरकारले किसानलाई सहुलियत दरमा मेसिन उपलब्ध गराउन आवश्यक भइसकेको बताए ।


राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रम जीतपुरका निमित्ति प्रमुख रामकृष्ण रजकले कार्यालयले गत वर्ष उखु रोप्ने मेसिन भित्र्याए पनि उखु बाली काट्ने उपकरण भने हालसम्म मुलुकमै भित्रिनसकेको बताए । ‘सुगर केन रिपर भनिने भारतमा निर्मित यस्तो सानो उपकरण ३ देखि ४ लाखमा खरिद गर्न सकिन्छ, ठूलो (हार्भेस्टर) उपकरणको मूल्य भने १ करोड ६८ लाख पर्दो रहेछ, यति धेरै लगानी किसानले गर्न पनि सक्दैनन्,’ उनले भने, ‘अब कृषिमा यान्त्रीकरण रहर होइन बाध्यता भइसकेको छ ।’ कार्यालयले यस वर्षको बजेटमा सानै भए पनि सुगर केन रिपर मेसिन खरिदको प्रस्ताव गरेको उनले बताए ।


कृषि औजार अनुसन्धान केन्द्र रानिघाट वीरगन्जका प्रमुख सचिनकुमार मिश्राले उखु नगदे बाली भए पनि यसलाई रोप्न र काट्न पनि आलु बालीभन्दा बढी मजदुर चाहिने बताए । ‘यो नगदे बाली त, रोपिसकेपछि अन्य बाली जत्तिको स्याहार पनि गर्नु पर्दैन,’ उनले भने, ‘तर रोप्न र काट्न भने प्रशस्त मजदुर चाहिन्छ, त्यसकारण यसको खेती अब पूर्ण यान्त्रीकरण विधिबाट गर्नु आवश्यक भइसकेको छ ।’ मिश्राले पनि करिब ४ लाख लागतको सुगर केन रिपर मेसि खरिद गरे किसानले सहजै उखु बाली काट्न सक्ने भएकाले किसानले सामूहिक रूपमा भए नि यो मेसि खरिद गर्न सुझाए । ‘एउटा किसानले यो उपकरण खरिद गर्न महँगो पर्ला,’ उनले भने, ‘धेरै किसानले समूहमा खरिद गर्न सक्छन् ।’

प्रकाशित : फाल्गुन ४, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?