३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मकैको घोगामा दाना लागेन

शिव पुरी

गैंडटार (रौतहट) — चन्द्रपुर नगरपालिका ३ गैंडाटारकी नन्दमाया दाहाल आइतबार खेतमा हरियो मकैका बोट काट्न व्यस्त थिइन् । मकैमा दाना नलागेपछि उनले मकैका बोटै काटेकी हुन् । मकैका घोगा ठूलो भए पनि कुनैमा दाना लागेको छैन । 

मकैको घोगामा दाना लागेन

गाउँभरिका किशानले लगाइएको उन्नत जात (हाइब्रिड) मकैमा दाना नलागेको पीडित किसानहरूले बताएका छन् । गाउँका झन्डै ३ सय बिगाहामा लगाइएको ‘बन्नी’ जातको मकैमा दाना नलागेको हो । ‘यसपालि नराम्रो क्षति व्यहोर्नुपर्‍यो,’ स्थानीय शोभा फुयालले भनिन्, ‘मकै लगाउन २५ हजार ऋण गरेको थिएँ । त्यो तिर्न समेत गार्‍हो हुने भयो ।’ बन्नी जातको मकै लगाउँदा टन्न रकम कमाउन सकिने भन्दै बिउ कम्पनीले किसानलाई प्रोत्साहन गरेको उनको भनाइ छ । किसानले गत कार्तिकको पहिलो साता बिउ लगाएका हुन् । गत वर्ष प्रतिकठ्ठा ४ क्विन्टलसम्म फलेपछि किसान यसैमा

हौसिएका हुन् ।

‘गत वर्ष राम्रो फल्यो भनेर लगाएका हांै,’ दाहालले भनिन्, ‘तर यसपटक ठूलो क्षति भयो ।’ उनले ११ कठ्ठामा मकै लगाएकी छन् । बोट सप्रे पनि भित्र दाना लागेको छैन । दाना नलागेपछि हरियोमै बोट काटेर पशुलाई खुवाउनुको विकल्प नभएको दाहालले बताइन् । दाना लागेको भए यो मकै चैतमा भित्र्याउन योग्य हुन्थ्यो ।

स्थानीय किसानले मंगलेश्वर, मैनाली र राउत एग्रोभेटबाट उन्नत जात (हाइब्रिड) का मकैको बिउ खरिद गरेको बताए । किसानले मकै पोलेर खान घर ल्याउँदा घोगामा दाना नलागेको देखेका थिए । एकपछि अर्को बोट भाँचेर हेर्दा खोया मात्र फेला पारेका थिए । त्यसपछि गाउँमा हल्लीचल्ली भएको थियो । अधिकांशको बोट सप्रेको छ । हेर्दा कसैले पनि दाना लागेको छैन भन्ने अनुमान गर्न सक्दैनन् । बोटमा घोगा लागे पनि दाना छैन ।

भारतको हैदराबादस्थित निजिबिजी उत्पादन कम्पनीबाट नेपाल ल्याइएको बिउ बारास्थित अरबिन्द एग्रो सेन्टरमार्फत स्थानीय एग्रोभेटले किसानलाई बिक्री गरेके हो । अरबिन्दले बारा, पर्सा र रौतहटका एग्रोभेटलाई यही बिउ बिक्रीवितरण गर्छ । यो नेपाल सरकारले प्रमाणित गरेको बिउ हो । एग्रो सेन्टरका सञ्चालक अरबिन्द साहले खुला सीमा भएकाले किसानले नक्कली बिउ ल्याएर लगाएको हुन सक्ने बताए । ‘सबै बिउ हामीकहाँबाट लगेको होइन,’ उनले भने, ‘चिसोले गर्दा पनि दाना नलागेको हुन सक्छ । अर्को कुरा भारतबाट नक्कली बिउ ल्याई लगाएको होला ।’ मकैलाई दिइने मल पनि पारिबाट ल्याइएको नक्कली हुन सक्ने उनले जनाए । किसानले बाली लगाएका बेलादेखि मल र सिँचाइको प्रशस्त सुविधा पुर्‍याएका थिए । यहाँका किसानले वर्षमा २ पटक मकै बाली लगाउँछन् । उन्नत जातको फलेपछि त्यही खेतमा लोकल मकै लगाउँछन् । पछिल्लो समय जिल्लामा उन्नत जात (हाइब्रिड) मकै लगाउन थालिएको हो ।

गैंडाटारका १ हजार किसानले श्रेष्ठ, बन्नी र ड्राइगन जातको मकै लगाइएको छ । केही किसानको श्रेष्ठ मकैमा समेत दाना लागेको छैन । यो बोटबाटै व्यापारीले खरिद गरी लैजान्छन् । पोलेर खान यो मकै निकै लोकप्रिय छ । बन्नी जात कुखुराको दाना बनाउन बढी प्रयोग हुन्छ । मकै खेतीका लागि पकेट क्षेत्र मानिएको गैंडाटारमा यस वर्ष दाना नलागेपछि करोडौंको क्षति व्यहोर्नुपरेको छ । किसानले बिउ बिक्री गर्ने बिज भण्डारलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन् । बिज भण्डारले प्रतिकेजी ६ सयका दरले किसानलाई बिउ बिक्री गरेको हो । उनीहरूले बिक्री गरेको बिउ पुरानो भए पनि बाहिरको खोल भने नयाँ थियो । पुरानो नक्कली बिउ बिक्री गरेको हुन सक्ने किसानको शंका छ ।

‘हामीलाई नयाँ भनेर पुरानो नक्कली बिउ बिक्री गरेको शंका छ,’ स्थानीय किसान लोकनाथ दाहालले भने, ‘यस विषयमा छानबिन हुनु जरुरी छ ।’ दाहालको संयोजकत्वमा २१ सदस्यीय संघर्ष समति गठन गरिएको छ । समितिले कृषि विकास कार्यालयको सन्तपुर उपशाखालाई जानकारी गराएको छ । पहिलो चरणमा क्षतिका बारेमा स्थानीय प्रशासन र जिल्ला कृषि विकास कार्यालयलाई जानकारी गराइने समितिले जनाएको छ ।

७ दिनको अल्टिमेट दिइने र सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्ने समितिका संयोजक दाहालले बताए । उनीहरूले धर्ना, जुलुस र बिज भण्डारमा ताल लगाइने जस्ता कार्यक्रम अघि बढाउने जनाए । समितिले किसानले लगाएको मकैको तथ्यांक र क्षतिको विवरण संकलन सुरु गरेको छ । जिल्ला कृषि विकास कार्यालय प्रमुख राजनारायण यादवसित सम्पर्क गर्दा हुन सकेन । उनले प्रयोग गर्ने सबै मोबाइलको स्विच अफ गरेका थिए । कार्यालयबाट अहिलेसम्म किसानको खेतमा प्रतिनिधि पुगेको छैन ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?