‘बदली’ ले सजिलो

शंकर आचार्य

निचुटा (पर्सा) — अन्नसँग दैनिक उपभोग्य बस्तु साटेर गर्जो टार्ने ‘बदली’ परम्पराले ग्रामीण भेगका उपभोक्तालाई सजिलो भएको छ । हेर्दा सामान्यजस्तो लागे पनि ग्रामीण भेगमा अझै पनि अन्नपातबाट दैनिक उपभोग्य बस्तु साट्ने यो परम्पराले ग्रामीण भेगका आवश्यक सामान खरिद गर्न सहज बनाएको छ ।
स्थानीयले धान, गहुँ, मकै आदिसँग आफूलाई चाहिएको बस्तु साटछन् । 

‘बदली’ ले सजिलो

स्थानीय सुकदेव चौधरी ‘बदली’ तराईको पुरानो परम्परा रहेको बताउँछन् । ‘यो तराईको पुरानो परम्परा हो,’ उनले भने, ‘ग्रामीण भेगमा अधिकांश परिवार खेती किसानी गर्छन्, किसानको हातमा सधंै पैसा हुँदैन तर उसको भकारीमा अन्न हुन्छ, पसलेले त्यही अन्न बापत आफ्नो मालसामान साटेर दिने

भएकाले यो परम्परालाई बदली भन्ने गरिएको हो ।’

गाउँका बालबालिकाले घुमन्ते व्यापारीले साइकल र ठेलामा बेच्न ल्याउने बरफ, आइसक्रिम, चिनी मिठाई, हावा मिठाई, महिलाहरूले टीका, चुराजस्ता सौन्दर्य सामग्रीहरू पनि यसरी अन्नपातसँगै साट्ने चलन कायमै रहेको स्थानीय गृहिणी कोशिला देवी बताउँछिन् । ग्रामीण भेगका व्यापारीले यस्तो सुविधा नदिए स्थानीयलाई निक्कै समस्या हुने उनले बताइन् । आफूहरू दैनिक उपभोग्य खाद्यान्नहरू नुन, तेल, साबुन, सेम्पु, बेसार, च्युरा, भुजा आदि देखि विद्युतीय उपकरणहरूसमेत यसरी किराना पसलमा बदली गरेर गर्जो टार्ने गरेको उनले बताइन् । ‘यो तराईको मौलिक परम्परानै हो,’ कोशिला भन्छिन्, ‘यसले ग्रामीण भेगका बासिन्दालाई धेरै राहत दिएको छ, विशेषगरी हामी गृहिणीलाई झनै सजिलो छ, घर व्यवहार गर्ने क्रममा आवश्यक सामग्री खरिद गर्न हाम्रो हातमा सधैं पैसा हँुदैन यस्तो अवस्थामा अन्न सबैभन्दा सहज माध्यम हुन्छ ।’

अन्नसँग मालसामान साटदा स्थानीय पसले मात्र नभई घुमन्ते व्यापारीहरूलाई राम्रै फाइदा हुने भएकाले उनीहरू आफ्ना मालसामान नगदमा भन्दा अन्नसँगै बदली गर्न रुचाउँछन् । स्थानीय किराना पसले भिखारी महतो आफ्नो पसलमा अझै पनि दैनिक हुने कुल बिक्रीको २५ प्रतिशत यसरी अन्नमै विनिमय र साटफेर हुने गरेको बताउँछन् । ‘गाउँघरका उपभोक्तासँग सहरबजारका उपभोक्ताजस्तो सधैं हातमा पैसा हँुदैन, त्यसकारण उनीहरू गर्जो टार्न आफूसँग भएको धान, गहँु, मकै, चामलजस्ता अन्न लिएर आउँछन्,’ उनले भने, ‘हामीले पनि सहजै उनीहरूको अन्नपातसँग मालसामान साटिदिने गरेका छौं ।’

पसलमा यसरी संकलन हुने अन्नपात बिक्री गर्न आफूलाई समस्या नरहेको उनले बताए । घुमन्ते अन्न व्यापारीहरू पनि आफ्नो पसलमा संकलन हुने अन्न खरिद गर्न आउने गरेको उनले बताए । यसरी अन्न बिक्री गर्दा आफूहरूलाई ५ देखि १० प्रतिशतसम्म फाइदा हुने गरेको उनले बताए ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?