१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

चौतारोमा कार्यालय

‘विद्यालयले प्रयोग गर्न छोडेको कोठा मर्मत गरेर वडा कार्यालय चलाउने सहमति भएपछि फर्निचर लिन जाँदा अर्कै वडाले लगिसकेछ, त्यो पनि पाइएन’ 
भरत जर्घामगर

सिरहा — सुन्दा अनौठो लाग्न सक्छ, सगरमाथा अञ्चलको व्यापारिक केन्द्रसमेत रहेको लहान नगरपालिकाका एक वडाध्यक्ष चौतारामा बसेर कार्यालयको काम गर्न बाध्य छन् । 

चौतारोमा कार्यालय

लहान नगरपालिकाको उत्तरवर्ती क्षेत्र वडा १६ को वडा कार्यालय भवन अभावमा चौतारोमा सञ्चालित छ । सचिव राजकुमार साह चौतारो बसेर कागज तयार गर्छन् भने वडाध्यक्ष गडुलबहादुर मगर प्लास्टिकको रातो कुर्सीमा बसी हस्ताक्षर गर्छन् । कार्यालय सहयोगी छविन्द्र खुलाल उभिएर सचिव र वडाध्यक्षलाई सघाउँछन् । सेवाग्राही चौरमा बस्छन् । कागजपत्र आधारभूत विद्यालयको दराजमा थन्क्याउँछन् । अतिआवश्यक कागजात कार्यालयको छापलगायत वडा सचिव साहको झोलामै हुन्छन् । सिरहामै पुरानो र ठूलो नगरपालिका लहान हो । २०३२ सालमा स्थापित नगरपालिकामा २४ वडा छन् ।

सिंहदरबारको सेवा गाउँमै पुर्‍याउने उद्देश्यअनुरूप स्थानीय सरकारका रूपमा नगरपालिका र गाउँपालिको पुनर्संरचना भए पनि पूर्वाधारको अभावमा सेवा प्रवाह प्रभावित भएको छ । तराईकै सुगम जिल्ला सिरहामा स्थानीय तहको पूर्वाधार तयार नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । कतिपय नगरपालिका र गाउँपालिका कार्यालय भवन नहुँदा जनप्रतिनिधि र कर्मचारी एकै कोठामा कोचिएर काम गर्नुपर्ने बाध्यतामा छन् भने थुपै्र स्थानमा दुई वा दुईभन्दा बढी वडा कार्यालय एकै कोठामा सञ्चालित छन् ।

२०७१ मंसिर १६ मा मन्त्रिपरिषदको निर्णयबमोजिम साबिकको तरेगना गोविन्दपुर गाविस लहान नगरपालिकामा गाँभिएको थियो । गाविसको वडा १ देखि ६ गाभिएर १६ र ७, ८ र ९ वडा नगरपालिकाको १७ नम्बर भएको हो । साविकको गाविस भवन १७ नम्बर वडामा परेपछि १६ नम्बर वडा कार्यालयविहीन भएको हो । कार्यालय नभएकै कारण विद्यालयको चौतारोमा बसेर सेवाग्राहीको काम गर्न बाध्य भएको वडा सचिव राजकुमार साहले बताए । ‘आफूनै बसेर काम गर्ने टेबल कुर्सी छैन,’ उनले भने ‘सेवाग्राही चौरमा बस्छन्, पानी पर्‍यो भने कार्यालय कसरी सञ्चालन गर्ने भन्ने पिरलो छ ।’ कार्यालय नभएकै कारण सचिवले सिफारिसलगायत अति आवश्यक कागजपत्र झोलामा बोकेर हिँडेका हुन्छन् । ‘सेवाग्राहीको जुन बेला काम पर्छ झोलैबाट कागजपत्र निकाली काम गरिदिन्छु,’ उनले भने । उदयपुरको सीमासँग जोडिएको उत्तरवर्ती विकट चुरे क्षेत्र रहेको उक्त वडामा आरिदमार, बर्दमार, आहाले, टाँडे, कतले, रूम्जाटार, भसुवा, भमरे, ओदाले, मैनाटार, तरेगनालगायत करिब दुई दर्जन बस्ती पर्छ । वडामा दैनिक सेवाग्राहीहरू विभिन्न सिफारिस, मालपोत तिरो लगायतका सेवाका लागि आउँछन् । तर वडा कार्यालय भवन नभएकै कारण नगरपालिकाले उपलब्ध गराएको फर्निचरसमेत वडाले ल्याउन सकेको छैन ।

‘कार्यालय सञ्चालनका लागि नगरपालिकाले दिने फर्निचर लगायतका सामानहरू आफ्नै कार्यालय नहुँदा ल्याउन ढिलाइ भयो,’ वडाध्यक्ष मगरले भने, ‘विद्यालयले प्रयोग गर्न छोडेको कोठा मर्मत गरेर वडा कार्यालय चलाउने सहमति भएपछि फर्निचर लिन जाँदा अर्कै वडाले लगिसकेछ, त्यो पनि पाइएन ।’ विद्यालयको चौरमै संसद विकास कोष र लहान नगरपालिकाको २० लाख रुपैयाँ लागतमा ६ कोठे भवनको डीपीसी र छत ढलानसम्म निर्माण भएको छ । तर नगरपालिकाले दिने कबोल गरेको पाँच लाख रुपैयाँ पनि निकासा नगरेपछि भवन अधुरो छ । वडा नम्बर १६ मात्र होइन पूर्वाधार अभावमा लहान नगरपालिकाको १४ र १५ वडा एउटा सानो कोठामा सञ्चालित छ ।

कोठामा दुई वडाध्यक्ष महेश श्रेष्ठ र ईश्वर बस्नेत दुई वटा कुर्सी टेबल जोडेर काम गर्छन् । छेवैमा सचिव पशुपति चौधरी काम गर्छन् । सेवाग्राही काम लिएर आउँदा कोच्चिएर भए पनि काम गर्न बाध्य भएको दुवै वडाध्यक्षले सुनाए । ‘गाउँमै सेवा दिने भनिए पनि कोठा अभावमा जनता मारमा परेका छन्,’ उनले भने, ‘यो वर्ष पूर्वाधार निर्माणमै सीमित होलाजस्तो छ ।’ लहान नगरपालिकाको १६, १४, १५ वडा मात्रै होइन भवन अभावमा वडा १ देखि ९ वडासम्म नगरपालिकाको पुरानो भवनको सटरमा सञ्चालित छन् ।

गाउँपालिका झन् समस्यामा स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि प्रत्येक सेवाहरू गाउँपालिकामै पाउने व्यवस्था भए पनि पूर्वाधार खडा नहुँदा सिरहाका अधिकांश गाउँपालिका समस्यामा छन् । लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, बरियारपट्टी लगायत गाउँपालिका पूर्वाधार अभावमा समस्या छन् ।

जिल्ला सदरमुकामस्थित प्रत्येक विषयगत कार्यालयबाट प्राप्त हुने सेवाहरू गाउँपालिकाबाटै ती कार्यालयका प्रतिनिधिहरूबाट प्रदान हुने व्यवस्था भए पनि कर्मचारी बस्ने भवन नहुँदा गाउँपालिकाले सेवाग्राहीलाई सेवा प्रदान गर्न सकेको छैन । विषयगत कार्यालयहरूबाट खटिएका कर्मचारीहरू भने कार्यकक्षको अभावमा कोही कार्यालयमै आउँदैनन् भने कोही गाउँपालिका भवनको छेउको चिया पसलमा गफ गरेर दिन बिताउँछन् ।

‘विषयगत कार्यालयका कर्मचारी मात्र होइन गाउँपालिकाकै विभिन्न फाँटका कर्मचारीहरूलाई बस्न पनि कोठाको अभाव छ,’ लक्ष्मीपुर पतारी गाउँपालिका वडा ३ का सचिव शंकर बीसीले भने, ‘अहिले हाम्रो वडाका पदाधिकारीलाई बस्ने कोठाको त व्यवस्था गरिएको छैन ।’

लक्ष्मीपुर पतारी गाउँपालिका गठन भएपछि गाउँपालिकाको कार्यालय साविक महेशपुर पतारीको गाविस कार्यालयमा सञ्चालन भएको छ । सोही कारण स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि साविक महेशपुर पतारी गाविस पर्ने वडा नं. ३ का वडा कार्यालयलाई बस्ने कोठाको समेत अभाव भएको छ । उक्त वडा कार्यालयले आफ्नो कार्यालय सञ्चालनका लागि भाडाको घर खोज्नुपर्ने अवस्था छ ।

कोठा अभाव गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष समेतलाई परेको छ । तीन वटा कोठा रहेको उक्त भवनको बैठक कोठामा गाउँपालिका अध्यक्ष रामबल्लभ साह तथा उपाध्यक्ष आशादेवी यादवको संयुक्त कार्यकक्ष बनाइएको छ । अर्को कोठामा प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत र अर्को कोठालाई गाउँपालिकाको जिन्सी कक्ष बनाइएको छ । गाउँपालिकाको लेखा फाँट, योजना, सामाजिक विकास, पञ्जिका लगायतका सम्पूर्ण शाखाहरू गाउँपालिकाको मूल भवनदेखि तीन सय मिटर पर महेशपुर बजारका पुराना भाडाका घरहरूमा सञ्चालन छन् ।

सिरहामा ८ नगरपालिका र ९ गाउँपालिका छन् । तीमध्ये अधिकांशमा पूर्वाधार अभावमा भाडामा कार्यालय सञ्चालित छन् । कतिपय नगरपालिकाले नगर र गाउँसभामा भवन निर्माणका लागि बजेट विनियोजन गरेका छन् भने कतिपय गाउँपालिकामा विवादका कारण गाउँसभा बस्न केको छैन ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?