धूलो छोप्न बारुण यन्त्र

कान्तिपुर संवाददाता

सर्लाही — चैतको मौसममा हावाहुरीसँगै आगलागीका घटना वर्षेनी भइरहेका छन् । अग्नि नियन्त्रणका लागि हरहमेसा तयारी अवस्थामा राख्नुपर्ने वारुण यन्त्र भने सडकमा धूलो उड्न नदिने प्रयोजनका लागि पानी छ्याप्न प्रयोग भइरहेको छ । सर्लाहीमा मलंगवा र हरिवन नगरपालिकासँग मात्र दमकल छ । 

पूर्वपश्चिम राजमार्गको नवलपुरदेखि सदरमुकाम मलंगवासम्म निर्माणाधीन रहेको सडकमा फुङफुङ उडिरहेको धूलोलाई नियन्त्रणका लागि वारुणयन्त्रबाट पानी छर्किएको हो । स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिले मतदाताको मन जित्न धुले सडकमा दमकल लगाएर पानी छिट्न थालेका हुन् । ८ लाख जनसंख्या र घना बस्ती रहेको सर्लाही आगलागीको उच्च जोखिममा पर्ने जिल्ला हो । यहाँको ग्रामीण क्षेत्रमा फुस र खपरा तथा बाँसको टाँटीको धेरैजसो घर रहेकाले यो सिजनमा आगलागीको सम्भावना धेरै हुन्छ ।


सर्लाहीमा उखुबारी र पराल थन्क्याएको ठाउँमा आगलागीका घटना सुरु भइसकेको छ । अति आवश्यक काममा प्रयोग हुने वारुण यन्त्रलाई धूलो छोप्नमा प्रयोग भइरहेकोमा सर्लाहीवासी असन्तुष्ट छन् । ‘आगलागीको मौसममा वारुण यन्त्रलाई अरू काममा प्रयोग गर्दा ठूलै जनधनको क्षति हुन सक्छ,’ सर्लाहीका नागरिक अगुवा उग्रकान्त झाले भने, ‘यो वारुण यन्त्रको दुरुपयोग हो, सरकारी बजेटको चरम दोहन हो ।’


सर्लाहीको नवलपुर–मलंगवा २६ मिलोमिटर सडकको दुबैतर्फ ढल निर्माणको काम भइरहेको छ । ठेक्का सम्झौताअनुसार ढल निर्माणपछि सडकलाई कालोपत्रे गरिनेछ । ढल निर्माण र सडक विस्तार गर्दा ठाउँठाउँमा माटो खनिएकाले यो सडक खण्ड धुलाम्मे छ ।


‘ठेक्का सम्झौताअनुसार धूलोको व्यवस्थापन ठेकेदार कम्पनीले नै गर्ने हो,’ झाले भने, ‘यहाँ त जनता रिझाउने नाममा अतिआवश्यकीय साधन मात्र होइन, सरकारी पैसाको पनि नोक्सानी भइरहेको छ ।’ ठेकेदारकै लापरवाहीले समयमै निर्माण नसकिएको नवलपुर–मलंगवा सडक खण्डमा ठेकेदार कम्पनीले नै धूलो थामथुम गर्न पानी छर्किने व्यवस्था गर्नुपर्ने सर्लाहीवासीको माग छ ।


मलंगवा नगरपालिकाका मेयर निरसल साहले बाध्यताले मात्रै वारुण यन्त्र धूलो व्यवस्थापनमा प्रयोग गर्नु परिरहेको बताए । ‘एउटा कामका लागि ल्याएको साधन अर्काे काममा बाध्य भएर प्रयोग गर्नु परेको छ,’ मेयर साहले भने, ‘धूलोले गर्दा सहर नै फोहोर हुन थालेपछि दमकल (वारुणयन्त्र) ले पानी छिट्नु परेको हो, यो हाम्रो बाध्यता हो ।’ मलंगवाका मेयर साहले भने सडक निर्माणमा ठेकेदार कम्पनीले आफ्नो दायित्व पूरा नगर्दा त्यसको असर नगरपालिकावासीले भोगिरहेको स्वीकार गरे । ‘ठेकेदार कम्पनीलाई आफ्नो काम पूरा गर्न दबाब बढाउनुपर्छ,’ उनले भने ।


मलंगव–नवलपुर सडक खण्डमा लालबन्दी, हरिपुर, कविलासी र मलंगवा नगरपालिका पर्छन् । लालबन्दी र हरिपुर नगर क्षेत्रका सडकमा ठेकेदारकै ट्यांकरले पानी छिटै आएको छ ।

मलंगवामा मात्र नगरपालिकाले पानी छिट्न आफ्नो स्रोतसाधन दुरुपयोग गरेको हो । वारुण यन्त्रको दुरुपयोग मात्र नभई पानी छिटा नगरपालिकालाई ठूलो आर्थिक भार पनि बढेको छ । धूलोमा पानी छर्किन मलंगवा नगरपालिकाले प्रयोग गरिरहेको वारुण यन्त्रमा प्रत्येक महिना १ हजार २ सय लिटर इन्धन (डिजेल) खर्च भइरहेको छ । मेयर साहले पनि वारुण यन्त्रको अन्यत्र प्रयोगले इन्धन र मर्मतमा खर्च हातै बढेको स्वीकार गरे ।

प्रकाशित : फाल्गुन ८, २०७४ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?