कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हुलाकी सडक सिरहा खण्ड निर्माण सुरु

कान्तिपुर संवाददाता

सिरहा — तराई–मधेसका इलाका जोड्ने बहुप्रतिक्षित हुलाकी सडकको सिरहा खण्डमा निर्माण थालिएको छ । तर अतिक्रमण गरि बनाइएको घर–टहरा हुलाकी सडक निर्माणका लागि बाधक बनेको छ । 

सिरहा अन्तर्गत बलानदेखि कमला नदीसम्मको २९ दशमलव ८८ किलोमिटर खण्डमा तीन वर्षभित्र हुलाकी सडक निर्माण गर्न ठेकेदार कम्पनीले माघ २४ गतेबाट काम सुरु गरेको छ । ११ मिटर चौडाइ भएको कालोपत्रे सडक निर्माणका लागि स्वच्छन्द–रोशन–महादेव खिम्ती जेभी कम्पनीसँग १ अर्ब २० करोड २० लाख रुपैयाँमा ठेक्क सम्झौता भएको हो । पुरानो, जीर्ण भएका र बन्न बाँकी गरी १ सय २० कल्भर्ट त्यो सडक खण्डमा निर्माण गरिनेछ । कम्पनीले सिरहाको बरियारपट्टी–खोक्सी र औरहा–गणेशपुर गरी दुई खण्डबाट हुलाकी सडकको निर्माण थालेको छ ।


सडक निर्माणका लागि माटो पुर्ने काम भइरहेको छ । तर, हुलाकी सडक खण्डमा सिरहामा पर्ने ८ वटा बस्ती हटाउन समस्या भएको छ । ती बस्तीले कतै सडक साँघरो हुने गरी अतिक्रमण गरेको छ भने कतै सडकको बीच भागमै स–साना मन्दिर र पार्क निर्माण गरिएका छन् । हुलाकी मार्गको अतिक्रमण र अवरोध हटाउन सरकारी निकायमा डेलिगेशन गए पनि त्यसको सुनुवाइ भएको छैन ।


बरियारपट्टी–३ का बद्री यादवले अहिले हुलाकी मार्गको ठाउँठाउँमा रहेको अतिक्रमित बस्ती, मन्दिर र पार्कले सडक निर्माण प्रभावित भएको बताए । उनलाई डर छ, अतिक्रमित बस्ती नहटे हुलाकी सडक फेरि नबन्ला कि ।


हुलाकी सडकमा पर्ने बस्ती अतिक्रमण र अवरोधहरू हटाउन हुलाकी राजमार्ग निर्देशनालयले चासो देखाउनुपर्ने ठेकेदार कम्पनीले जनाएको छ । ‘हामीलाई सडक निर्माण गर्न जिम्मेवारी दिएको हो’ निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर चन्द्रनारायण यादवले भने, ‘सडक निर्माण कार्यमा अवरोध आएन भने हामी साढे दुई वर्षमै सडकको निर्माण सक्छौ ।’


सिरहा खण्डको हुलाकी राजमार्ग रेखदेख गर्ने जिम्मेवारी पाएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका साइट इञ्जिनियर मनोज मण्डलले सडकमा पर्ने अतिक्रमित बस्ती र अरू अवरोध हटाउन पहल भइरहेको बताए ।


‘बोलपत्र भर्खरै सकार भएकोले समुदायसँग कुरा गर्न भ्याएका छैनौं,’ उनले भने, ‘अतिक्रमणमा परेको र अवरोध भएका बस्तीका अगुवासँग छलफल गरेर अवरोध हटाउने पहल हुन्छ ।’ हुलाकी सडक निर्माणपछि सिरहाको दक्षिणवर्ती भगवानपुर, ठाडी, इनरुवा, नवराजपुर लगायत चार दर्जन बस्तीका बासिन्दालाई सदरमुकाम सिरहा बजार आवतजावतमा सहज हुनेछ । हुलाकी सडक जीर्ण भएकै कारण ती क्षेत्रका बासिन्दा लहान हुँदै ६० किलोमिटर फन्को मारेर सिरहा बजार पुग्न बाध्य छन् ।

प्रकाशित : फाल्गुन ८, २०७४ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?