जस लिन हानथाप

सन्तोष सिंह

धनुषा — सरकार छाड्नुअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले जनकपुरको सौन्दर्यकरणका लागि विनियोजन गरेको दुई अर्ब रुपैयाँमा ‘राजनीति’ तातेको छ । ‘आफ्नो प्रयासले सरकारले बजेट विनियोजन गरेको भन्दै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीबीच जस लिने होडबाजी चलेको हो । 

ऐतिहासिक र धार्मिक महत्त्व बोकेको जनकपुरको पोखरीको सौन्दर्यकरण, ढल–नाला र शौचालय निर्माणका लागि सरकारले फागुन ३ गते करिव दुई अर्ब रुपैयाँ बराबरको योजना स्वीकृत गरेको हो । जनकपुरधाम सहलगानी सरसफाइ तथा पोखरी संवद्र्धन आयोजना र जनकपुरधाम सहलगानी ड्रेनेज आयोजनाअन्तर्गत सरकारले यहाको पोखरी सौन्दर्यकरण, शौचालयको निर्माण र ड्रेनेज निर्माण गरेर जनकपुरको सरसफाइमा सुधार ल्याउने योजना समेटिएको छ ।


रामायणकालीन सम्बन्ध जोडिएको जनकपुरमा पाँच दर्जनभन्दा बढी पोखरी छ । यहाका पोखरीहरू अहिले जीर्ण, अतिक्रमित र फोहरमय छ । जनकपुरका यही पोखरीहरूको सौन्दर्यकरण र सहरलाई सफा बनाउन सरकारले स्वीकृत गरेको आयोजना आफ्नो पहलमा आएको भन्दै नेपाली कांग्रेस र राजपाबीच जस लिने होडबाजी चलेको छ । आयोजना स्वीकृत भएपछि जनकपुर उप–महानगरपालिकाका मेयर लालकिशोर साहले पत्रकार सम्मेलन नै गरेर आफ्नो पहलमा आयोजना ल्याउन सफल भएको दाबी गरे । मेयर साह राजपाका नेता हुन् ।

मेयर साहले पत्रकार सम्मेलन गरेलगत्तै धनुषा कांग्रेसले सीता प्यालेस होटलमा सञ्चारकर्मीलाई नै बोलाएर जनकपुरमा यो आयोजना ल्याउनमा कांग्रेसको हात रहेको बताए । ‘जनकपुरमा यो आयोजना हाम्रै पहलमा आएको हो,’ देउवा सरकारमा खानेपानी तथा सरसफाइ मन्त्री रहेका कांग्रेस नेता महेन्द्र यादवले पत्रकार सम्मेलनमा भने, ‘नेता विमलेन्द्र निधिको सहयोगमा म मन्त्री हुँदा यो आयोजना स्वीकृत भएको हो, यसमा राजपाका नेता राजेन्द्र महतोको कुनै हात छैन ।’ मेयर साहले भने आफूहरू (राजपा) निर्वाचित भएपछि जनकपुरका लागि यो ठूलो आयोजना ल्याउन सम्भव भएको बताए ।


‘जनकपुरको सौन्दर्यकरण, पोखरी, नाला र शौचालय निर्माणका लागि सरकारसँग बजेट लिन हामीले लबिइङ गरिरहेका थियौं,’ मेयर साहले भने, ‘माघको १० र ११ खानेपानी तथा सरसफाइ मन्त्रालयमा भएको बैठकमा म पनि सहभागी थिए, त्यही बैठकबाट यो आयोजना कार्यान्वयनका लागि निर्णय भएको हो ।’ धनुषा निवासी नै रहेका कााग्रेस नेता यादव भने खानेपानी तथा सरसफाइमन्त्री हुँदा आफ्नो र नेता निधिको चाहनामा आयोजना जनकपुर ल्याउन सम्भव भएको दाबी गरे ।


सरकारले जनकपुरको लागि यो आयोजना स्वीकृत भएलगत्तै राजपाले नेता राजेन्द्र महतोको कारण जनकपुरले दुई अर्बभन्दा बढीको बजेट पाएको ‘हल्ला’ फिँजाएपछि त्यसलाई चिर्न धनुषा कांग्रेसले पत्रकार सम्मेलन गरेको थियो । कांग्रेस नेता निधि र महतो धनुषाका निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धी थिए । महतोले निधिलाई पराजित गरेको थियो । जनकपुरको २५ वटा वडामध्ये निर्वाचन क्षेत्र नम्बर ३ मा उप–महानगरपालिकाको धेरैजसो १७ वटा वडा पर्दछ ।


८५ प्रतिशत सरकारी अनुदान र १५ प्रतिशत स्थानीय तहले व्यहोर्नुपर्ने यो आयोजनाका लागि स्थानीय तहले व्यहोर्ने १५ प्रतिशतमध्ये ५ प्रतिशत लगानी नगदमै हुनुपर्ने समझौतापत्रमा उल्लेख छ । आयोजनाको सम्झौतापत्रमा आयोजना प्रमुख विद्यानाथ भट्टराई र जनकपुर उप–महानगरपालिकाका मेयर साह तथा रोहवरमा खानेपानी तथा सरसफाइ मन्त्री यादवले हस्ताक्षर गरेका छन् ।


तीन वर्षमा सम्पन्न हुनुपर्ने यो आयोजनाअन्तर्गत परिक्रमा सडकभित्रको २२ वटा पोखरीको सौन्दर्यकरण गर्ने, बाथरूमसहितको सार्वजनिक शौचालयको निर्माण, पानी व्यवथापनका लागि ट्युवेल र जनकपुरको ५२ किलोमिटर क्षेत्रमा ड्रेनेजको निर्माण हुनेछ । जनकपुरको फोहर व्यवस्थापनका लागि एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा स्वीकृत भएको परियोजना ल्यान्डफिल्ड साइड विविध कारणले अलपत्र बनेको छ ।

प्रकाशित : फाल्गुन ८, २०७४ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?