छात्रवृत्ति विवादले विद्यालयमा तालाबन्दी

कान्तिपुर संवाददाता

सर्लाही — छात्रवृत्ति वितरणमा अनियमितता गरेको आरोपमा गोडैता नगरपालिका–१२ स्थित वैद्यनाथ आधारभूत विद्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । छात्रवृत्ति विवाद मिलाउन यसअघि भएको प्रयास असफल भएका कारण ९ दिनदेखि विद्यालयको पठनपाठन अवरुद्ध भएको हो ।

२ सय ८० रुपैयाँका दरले छात्रवृत्ति दिएर ४ सय रुपैयाँ बुझेको भर्पाइमा दस्तखत गराउन खोजेपछि स्थानीय आन्दोलित भएका हुन् । विद्यालयमा छात्रवृत्ति पाउने विद्यार्थीको संख्या ४ सय ४१ छ ।


प्रधानाध्यापक यादवले जिल्ला शिक्षा कार्यालयको गलतीले छात्रवृत्तिमा विवाद उत्पन्न भएको बताए । ‘विद्यार्थी संख्याका आधारमा बजेट निकासा नहुँदा समस्या भयो,’ उनले भने, ‘थोरै बजेटवाट सबै विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने भएकाले रकम घटाएर दिनुपर्ने भयो ।’ शिक्षा कार्यालयले १ लाख २५ हजार १ सय रुपैयाँ मात्र छात्रवृत्तिका लागि रकम निकासा गरेको छ । त्यो रकम ३ सय १२ जना विद्यार्थीलाई मात्र ४ सय रुपैयाँको दरले पुग्छ ।


पुग्ने विद्यार्थीलाई ४ सयको दरले छात्रवृत्ति दिएको भर्पाइ गराएर ४ सय ४१ जनालाई नै बराबरी भाग लगाउन खोज्दा अनियमितताको आशंकामा विद्यालयमा तालाबन्दी गरिएको प्रधानाध्यापक यादवले बताए ।


‘शिक्षा कार्यालयको नियमअनुसार समान वितरण गर्न पनि नपाइने,’ उनले भने, ‘बजेट अपुग भएर केहीले नपाउँदा पनि विवाद नै हुन्छ । बैठकले कम बजेटबाटै सबैलाई समान भाग लगाउने निर्णय भएको थियो । तर, दलितलाई उचालेर विद्यालयमा तालाबन्दी गराइयो ।’ दलित अगुवाले छात्रवृत्तिको रकम प्रधानाध्यापक शिवशंकर राय यादवले अनियमितता गर्न खोजेको आरोप लगाएका छन् । दलित अगुवा सुधिर पासवानका अनुसार अघिल्लो वर्ष छात्रवृत्तिको रकम बढी आउँदा फिर्ता गएको थियो । ‘यसवर्ष कसरी कम बजेट आयो ?,’ उनले भने, ‘हामीलाई अनियमितताको आशंका छ ।’

प्रकाशित : फाल्गुन ९, २०७४ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?