२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मन्त्रालय र मन्त्री निवास तयार

सन्तोष सिंह

धनुषा — जनकपुर चुरोट कारखाना (जचुकालि) को चार तले अधिकृत निवास भवनमा प्रदेश २ का चार वटा मन्त्रालय स्थापना गरिएको छ । 

मन्त्रालय र मन्त्री निवास तयार

पहिलो तलामा सामाजिक विकास, दोस्रो तलामा आर्थिक मामिला तथा योजना, तेस्रो तलामा आन्तरिक मामिला तथा कानुन र चौथो तलामा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको बोर्ड झुन्डयाइएको छ । मन्त्रालयलाई सुविधासम्पन्न बनाउन कर्मचारी र कामदार खटिएका छन् । टेबल–कुर्सी र सोफाले मन्त्रीको कार्यकक्ष सजाइएको छ ।

लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको आवासीय क्षेत्रमा प्रदेश मन्त्रालय, मन्त्री निवास र अन्य बन्दोबस्त मिलाउने काम तीव्र बनेको छ । संरक्षण अभावमा जीर्ण जचुकालिको भवनले नयाँ रूप पाएको छ । ‘दुई–चार दिनमै मन्त्रालय र मन्त्रीको निवास तयार हुन्छ,’ मर्मतसम्भारमा खटिएका एक कर्मचारी भने, ‘मन्त्रालय र मन्त्री निवास रहने सबै भवनलाई मर्मत गरी रंगरोगन गरिएको छ ।’

जचुकालिका बरिष्ठ अधिकृत बस्ने चार वटा क्वार्टरलाई मर्मतसम्भार गरिएर मन्त्रीको निवास बनाइएको छ । ती चार वटै क्वार्टर भवनमा एकै प्रकारको रंग, कार्पेट, फर्निचर लगाइएको छ । मन्त्री निवासको तल्लो तल्लामा एउटा बेडरूम, बैठक कक्ष, किचन रहेको छ भने माथिल्लो तलामा मन्त्रीको बेडरूम बनाइएको छ । मंगलबार बिहानैदेखि मन्त्रालय र मन्त्री निवासलाई अन्तिम रूप दिन आँगनमा इँटा ओछ्याउने काम भइरहेको छ ।

जचुकालिको कम्पाउन्डभित्र प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र आवास, प्रदेश प्रमुखको कार्यालय र आवास, चार वटा मन्त्रालय र मन्त्रीहरूको आवास राखिएको छ । यसअघि जनकपुरको सहरी विकास तथा भवन निर्माण कार्यालयमा रहेको मुख्यमन्त्रीको कार्यालय जचुकालिभित्रै सारिएको छ । केन्द्रीय शासकिय भवन सिंहदरबारजस्तै प्रदेश २ का सबै सरकारी निकाय जचुकालि कम्पाउन्डभित्र राखिने योजना रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थको कार्यालय र निवास सुरुमा जचुकालिमा राखिएको थियो । त्यसपछि क्रमश: प्रदेश २ को अन्य कार्यालयहरू त्यहीं लगिएको हो ।

प्रदेश प्रमुखको निवासकै वरिपरि मुख्यमन्त्री र अन्य ६ जना मन्त्रीका लागि निवासको तयारी गरिएको छ । प्रदेशको ७ मन्त्रालय, ७ जना मन्त्री, ७ जना मन्त्रालयका सचिव, मुख्य सचिवको निवास र कार्यालयको तयारी अन्तिम चरणमा पुगेको सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख गंगाप्रसाद यादवले जानकारी दिए । ‘निवास र मन्त्रालयको तयारी पूरा भएको छ,’ यादवले भने, ‘भवनमा प्रवेश गराउन मात्र बाँकी छ ।’


प्रादेशिक संरचनाको भौतिक निर्माणका लागि सरकारले प्रदेश २ लाई ७ करोड ५० लाख रुपैयाँ दिएको छ । चार मन्त्रालयको भवन तयारी गरी कार्यालय व्यवस्थापनको काममा कर्मचारी आफैं जुटेको छ । मंगलबार मन्त्रालयको भवनहरूमा फर्निचर राखिएको छ । मन्त्रालयको व्यवस्थापनमा सचिव तथा कर्मचारीहरू खटिएका छन् । अहिले बाहिर रहेका दुई मन्त्रालय भौतिक पूर्वाधार र कृषिलाई पनि सशस्त्र प्रहरी बसिरहेको जचुकालिको क्षेत्रीय बिक्री कार्यालयलाई तयार पारिदैछ । सशस्त्र प्रहरीलाई जचुकालिको पहिलाको अस्पताल भवन उपलब्ध गराइएको छ ।


जचुकालिको क्षेत्रीय बिक्री कार्यालयको मर्मत र रंगरोगनपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा राखिएको भौतिक पूर्वाधार र सहकारी डिभिजन कार्यालयमा रहेको कृषि मन्त्रालय पनि जचुकालिभित्रै तानिने प्रमुख यादवले जनाए ।


जचुकालिको कभर्ड हललाई समेत तयार पारिँदैछ । जीर्ण अवस्थामा रहेको कभर्ड हलको झ्याल, ढोकाको सिसा नयाँ लगाइएको छ । स्टेजलाई प्लाइबोर्ड लगाएर नयाँ रूप दिइएको छ । कभडृ कललाई पनि रंगरोगन गरिँदैछ । तयारी गर्न लागिएको जचुकालिको कभर्ड हल भने कुन परियोजनका लागि प्रयोग गर्ने भन्ने खुलाइएको छैन ।

२०२१ सालमा स्थापना भएको जचुकालि २०६७ सालमा बन्द भएको थियो । २०७० असार २० गते जचुकालिका कर्मचारीलाई अवकाश दिइएको थियो । बन्द भएपछि उद्योग मन्त्रालयले हेर्दै आएको जचुकालिमा प्रदेश सरकारको कार्यालय स्थापनाले त्यहाँ फेरि चहलपहल बढेको छ । जचुकालिको ३३ बिघा ९ कठ्ठा क्षेत्रफलको जग्गा र भौतिक संरचना उद्योग मन्त्रालयले पछि जिल्ला प्रशासन कार्यालय धनुषाको मातहतमा सारेको थियो ।

अझै आइपुगेनन् कर्मचारी

प्रदेश २ को सरकारी संरचनाको तयारी अन्तिम चरणमा पुगे पनि यहाँ खटिएका कर्मचारी अझै आइपुगेका छैनन् । कर्मचारी नआइपुग्दा व्यवस्थापकयि काममा समस्या भइरहेको छ ।

प्रदेश २ को संसद सचिवालयमा खटिएका २७ जना कर्मचारीमध्ये ७ जना मात्रै आइपुगेको छ । सह–सचिव दिवाकर पौडेलको नेतृत्वमा ७ जना कर्मचारी आइतबार आइपुगेको छ । संसद सचिवालयमा खटिएका सबै कर्मचारी नआउँदा प्रशिक्षणका लागि केन्द्रीय संसद सचिवालयबाट आएका ४ जना कर्मचारी पनि जनकपुरमै रोकिएका छन् ।

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयमा ४ जना कर्मचारी मात्रै छन् । ३३ जना कर्मचारी खटाइएको यो मन्त्रालयका अरू कर्मचारी अझै आइपुगेका छैनन् । मंगलबार मन्त्रालयमा नासुद्वय भोगेन्द्र राउत र अनिता राउत मात्र देखिए । ‘अन्य कर्मचारीहरू अब केही दिनमै आइपुग्छन्,’ भौतिक पूर्वाधार मन्त्रालयकी नासु अनिताले भनिन्, ‘केही त जनकपुर आइसकेका छन्, अब हाजिर हुन आउँछन् ।’ आर्थिक मामिला तथा योजना मन्त्रालयमा पनि १० जना कर्मचारी मात्रै हाजिर भएका छन् । २७ कर्मचारी खटाइएको यो मन्त्रालयका अन्य कर्मचारी आइपुगेका छैनन् ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?