३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पानीको सतह घट्दा सिँचाइमा समस्या

शिव पुरी

रौतहट — बागमती नदीमा पानीको सतह घटेपछि रौतहट र सर्लाहीको खेतीयोग्य जग्गामा सिँचाइको समस्या भएको छ । गहुँ र मकैका लागि सिँचाइको पानी नपुग्दा किसान निराश बनेका छन् । 

पानीको सतह घट्दा सिँचाइमा समस्या

बागमती नदीमा अहिले पानीको सतह ५–६ क्युसेक मात्र छ । यति कम पानी हुँदा सिँचाइका मुहान सुकेको छ । बागमती सिँचाइ राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना हो । बागमती नदीको पानीको सतह निरन्तर कम हुन थालेपछि सिँचाइको प्रबन्ध नहुँदा किसान समस्यामा परेका छन् । ‘असार–साउनमा धान रोप्ने समयमा नहरको पानी पटाउन हम्मे पर्छ,’ रंगपुरका किसान सोनेलाल ठाकुरले भने, ‘नहर छ तर पानी पर्याप्त छैन । हिउँदमा मकै र गहुँमा पानी पटाउन पम्पसेटकै भर पर्नुपर्छ ।’ उनले मंगलबार चन्द्रनिगाहपुरस्थित एग्रोमेसिनरीबाट सिँचाइकै लागि पम्पसेट खरिद गरे ।

ठाकुरको खेतीयोग्य जग्गा बागमती सिँचाइकै छेउमा छ । नहरमा पर्याप्त पानी नहुँदा हिउँदे बालीमा पानीको समस्या छ । सिँचाइको भर पर्दा बाली बिग्रने किसानहरूको चिन्ता छ ।


साउदी अरबको आर्थिक सहयोगबाट बागमती सिँचाइ आयोजनाले लामो समयदेखि विभिन्न प्याकेज बनाई सर्लाही र रौतहटका ५५ हजार हेक्टर खेतमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ । आयोजनाले बागमती नदीमा करिब एक किलोमिटर लामो ढोके पुल बनाई नहरमा पानी सप्लाइ गरेको छ । पुलको क्षमता एकलाख २२ हजार क्युसेक छ ।


रौतहटका किसानलाई ४८ र सर्लाहीलाई ६४ क्युसेक पानी उपलब्ध गराउने आयोजनाको लक्ष्य हो । पानीको मुहान सुक्दै गएपछि आधा कम पानी मात्र सप्लाइ हुने गरेको आयोजनका डीई भक्तकुमार लालले बताए । ‘हाम्रो लक्ष्य भनेको दुबै जिल्लाका किसानको खेतमा पानी पुगोस् र खेती गर्न समस्या नहोस् भन्ने हो,’ उनले भने, ‘धान लगाउने बेला ७५ प्रतिशत मात्र पानी पुग्छ । हिउँदमा सिँचाइको ठूलो समस्या छ ।’ नहरको पानी बाँडफाँड र तालिका मिलाउन ८० भन्दा बढी जल उपभोक्ता समूह सक्रिय छन् । उनीहरूले पानी पटाउन पालो लगाउँछन् ।


मध्यतराईका रौतहट, बारा, सर्लाही, महोत्तरी र धनुषाका करिब १ लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य हो । आयोजनले २०३५ सालदेखि २०४४ सम्म आफ्नै श्रोत र साधनबाट विभिन्न शाखा–प्रशाखा नहरको सुरुवात गर्‍यो । साउदी विकास कोषबाट १९७८ जुनमा आयोजनाको आवश्यक संरचनासहित पश्चिम मूल नहर, भलोहिया शाखा निर्माणका लागि आर्थिक सहयोग प्राप्त भयो । जापानी ऋण कोषको सहयोगमा बागमतीको पानीलाई व्यवस्थित गरी निकास दिन करिब १ किमि ढोके पुल बनाई सिँचाइका लागि पानी सप्लाइ गरिएको छ ।


नदीमा पानीको सतह घटेपछि आयोजनालाई समस्या भइरहेको राष्ट्रिय जल उपभोक्ता महासंघका केन्द्रीय सदस्य लक्ष्मी महतोले बताए । ‘नहरमा पानीको मात्रा कम छ,’ उनले भने, ‘मकै, गहुँबालीको समयमा सिँचाइको समस्या झन् बढ्छ ।’ आयोजनाको १ सय ९ वटा सेकेन्डरी र २१ वटा प्रशाखा नहर छ । यसको प्रथम चरणको ४६ हजार ६ सय हेक्टर सिञ्चितमध्ये २८ हजार हेक्टर भरपर्दो सिँचाइ सुविधा पुगेको आयोजनाको दाबी छ ।


आयोजनाले सुनकोसी मरिन डाइभर्सन परियोजना अघि सारेको छ । यसले सिँचाइ सुविधा पुगेको क्षेत्रमा पानीको समस्या नहुने आयोजनाको दाबी छ । सिँचाइ विभागले त्यसको डीपीआर तयार गरिसकेको छ ।


पम्पसेटको भर

नहरमा पर्याप्त पानी नहुँदा वर्षामा समेत किसानले पम्पसेटको भरमा धान खेती गर्न बाध्य छन् । नहरको डिलमै पम्पसेट राखेर अधिकांशले धान रोप्छन् । यो समय जिल्लाको ग्रामीण भेगका किसानको खेतमा चाहे जतिको पानी उपलब्ध हुँदैन ।

किसानलाई नहरमा ४८ क्युसेक पानी चाहिन्छ । योभन्दा कम भए खेतमा पानी पटाउन समस्या हुन्छ । नहरमा पर्याप्त पानी नहुँदा पम्पसेट खरिद गरी पानी पटाउनु परेको किसानको गुनासो छ । नहरमा पानीको मात्रा कम भएपछि किसानले आलोपालो पानी पटाउँदै आएका छन् ।


वर्षाका बेला पूर्वपश्चिम मूल नहरमा क्षति पुग्छ । यसले पानी प्रवाहमा समस्या हुने आयोजनाको प्राविधिकहरू बताउँछन् । टालटुल पारेर जसोतसो नहर सुचारु गरिन्छ । बजेट पर्याप्त नुहँदा नहर मर्मत हुन नसकेको डीई लाल बताउँछन । ‘जति मर्मत हुनुपर्ने हो त्यति गर्न सकिएको छैन,’ उनले भने,‘बजेट अभावले कतिपय स्थानमा नहर जिर्ण छ ।’ आयोजनाले निर्माण गरेको नहरको संरचना १ हजार किलोमिटर हो । यसलाई बर्षेनी मर्मत गर्नुपर्छ । नहरको डिल छेउको भाग वर्षाको भेलले बगाएर क्षति पुग्छ । त्यहींबाट बाहिर पानी जान्छ ।


आयोजनाले खेतीयोग्य जमिनमा नदिको बालुवा जानबाट जोगाउन सिल्टी सेक्टर निर्माण गरेको छ । चाँदी नदीमा यस्तो प्रविधिको सुरुवात गरिएको हो । यसले नदीको बालुवा नियन्त्रण गर्छ । बाढीका बेला नदी छेउका खेतमा बालुवा पसेर खेतीयोग्य जमिन बिग्रन थालेपछि आयोजनाले सिल्टी सेक्टर निर्माण गरेको हो ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?