कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

अनाथको सेवामा ८१ वर्षे वृद्ध

कान्तिपुर संवाददाता

गरुडा (रौतहट) — गरुडा नगरपालिकका ८१ वर्षीया वंशीराम जैसवाल बुधबार अनाथालयमा आश्रित टुहुरा बालबालिकालाई सम्झाउँदै थिए । 

अनाथको सेवामा ८१ वर्षे वृद्ध

जिल्लाको एक मात्र ‘वंशीराम अनाथालय’ उनले खोलेका हुन् । उनीहरूको हेरचाहमा आफैं खट्छन् । यहाँ द्वन्द्वकालमा आमाबुबा गमाएकाहरू पनि संरक्षणमा छन् । अनाथालयको सेवामा वृद्ध २४ सै घण्टा खट्छन् ।


घरपरिवार र करोडांैको सम्पत्ति त्यागेर उनी अनाथालय खोलेर बसेका हुन् । २०५२ सालमा यसको स्थापना भएको हो । सुरुमा २ जना बालबालिका थिए । अहिले ३० बालक र ५ बालिका गरी बढेर ३५ पुगे ।


छोरा/छोरीले स्याहार गर्नुपर्ने उमेरमा वृद्धा भने अझै जोसका साथ टुहुराको सेवामा सक्रिय छन् । पछिल्लो समय स्वास्थ्यमा केही समस्या आए पनि उनले हिम्मत हारेका छैनन् । बाहिरी दौडधुप र अन्य काममा अनाथालयकै हृदयलाल कुश्वाहलाई राखेका छन् । उनी यहीं हुर्केका टुहुरा हुन् । जैसवाललाई गरुडाका समाजसेवी र धनाढ्यका रूपमा चिनिन्छ । सबै त्यागेर उनी सेवामा लागे । अनाथालयभित्र २०५७ साल देखि सामुदायिक विद्यालय सञ्चालनमा छ । यही विद्यालयमा उनीहरूलाई शिक्षा दिइन्छ । १ देखि ५ कक्षासम्म पढाइ हुन्छ । यहाँ बेलुकी भजन गाइन्छ । त्यसपछि विद्यार्थीलाई अनुशासन सिकाइन्छ ।


२ कट्ठा ५ धुरमा अनाथालयको भवन, विद्यालय र मन्दिर छ । जैसवालका यिनै कार्य देखेर अनाथालयमा सबैल ेसहयोग गर्दै आएका छन् । ‘दाताकै भरमा बलबालिकाको लालनपालन हुन्छ,’ उनले थपे, ‘पछिल्लो समय केही आर्थिक संकट परेको छ ।’ महिनाको १ लाख खर्च हुने उनले सुनाए । यत्रो रकमको जोहो गर्न कठिन हुन्छ । उनले अनाथालयको नाममा एउटा तेल बोक्ने ट्यांकर खरिद गरेका छन् । त्यसैको आम्दानीबाट अनाथालय चलेको छ । नपुग दाताले दिने रकमबाट खर्च गरिन्छ । अनाथालयमा हुर्केका कृष्णकुमार सिंह उच्च शिक्षा हासिल गर्न ५ वर्षअघि कोरिया गएका छन् । उनले त्यहींबाट केही रकम सहयोग गर्दै आएका छन् । जैसवालको घरमा श्रीमती र २ छोरा छन् । उनले घर त्यागेको २४ वर्ष बितेको छ ।


बाहिर चन्दा माग्दा अर्को अर्थ लाग्छ भन्दै उनले कसैसित एक रुपैयाँ पनि मागेका छैनन् । गरुडाका छोटेलाल साहले जैसवालको कार्यको खुलेर प्रशंसा गरे । ‘वृद्ध भइसकेको मानिसको सेवा गर्ने जोस र जाँगरको कदर गर्नुपर्छ,’ उनले भने, ‘उनी एक्लैले नि:स्वार्थ भावनाले सेवा गरिरहेका छन् । यसलाई सबैले सहयोग गर्नुपर्छ ।’

प्रकाशित : फाल्गुन १०, २०७४ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?