२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सवारी र आवास व्यवस्थापनमा समस्या

सन्तोष सिंह

धनुषा — प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंह बुधबार बिहान लगातार मोबाइलमा व्यस्त रहे । तारन्तार उनको मोबाइलमा फोन आउने र उनले पनि फोन गर्ने क्रम चल्नुको कारण थियो, प्रदेशका पदाधिकारीका लागि सवारी र आवासको व्यवस्थापन नहुनु ।

सवारी र आवास व्यवस्थापनमा समस्या

प्रदेश सभामुख पदमा सरोज यादव निर्वाचित भएपछि उनी चढ्ने सरकारी प्राडो गाडि स्टार्ट नै भएन । गाडी चढ्न नजिकै पुगेका सभामुख यादव गाडीमा समस्या आएको खबर पाएपछि फेरि कार्यकक्षतिरै फर्किए । बल्लतल्ल स्टार्ट भएपछि सभामुख यादव फेरि गाडी चढ्न आए । भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले प्रयोग गरिरहेको एउटा गाडी बारा जाने क्रममा बाटामै बिग्रियो । प्रदेश कार्यालयका चालकहरूका अनुसार पुराना र थोत्रा भएकाले गाडीमा निकै समस्या आइरहेको छ । त्यसैले पुराना र थोत्रा गाडी चढ्न मानिरहेका छैनन् । ‘मैले त कुन सरकारी गाडी मन पर्छ । छान्नुस्, नम्बर दिनुस्, म पत्र लेखिदिन्छु भनेको छु,’ सचिव सिंहले भने ।


प्रदेशको मुख्य प्रशासनिक भवन बनाइएको जनकपुर चुरोट कारखानामा भने हाइप्रोफाइलको आवास राखिएको छ । मुख्यमन्त्रीको कार्यालय र आवास, प्रदेश प्रमुखको कार्यालय र आवास, मन्त्रालय र मन्त्रीको आवास, मुख्य सचिवको कार्यालय र आवास जचुकालिकै पुराना घरलाई मर्मत र रंगरोगन गरेर तयार पारिएको छ । तर, मन्त्रालयमा खटिएका कर्मचारी र संसदीय दलका नेताहरूले पनि गाडी र आवास दुवै खोजेपछि व्यवस्थापनमा समस्या परेको हो ।


‘सवारी र आवासको व्यवस्थापनले टाउको दुखाइ भएको छ,’ सचिव सिंहले भने, ‘सबैतिरबाट तानतुन पार्दा पनि गाडीको व्यवस्थापन हुन सकेको छैन ।’ प्रदेश कार्यालयमा अहिले खटिएका सवारी चालकलाई सचिव सिंहले आफ्नै कार्यालयमा हाजिर गराइरहेका छन् । प्रदेश मन्त्रालय र अन्य व्यवस्थापनका लागि ७७ वटा गाडी तत्कालै आवश्यक परेको उनले बताए । त्यसमध्ये १४ वटा केन्द्रले र २४ वटा जिल्लाहरूबाट झिकाउने योजना छ । तर, केन्द्रले दिने भनिएको १४ वटा गाडी पनि प्रदेशभित्रकै जिल्लाका सरकारी कार्यालयले तान्न खोजेपछि गाडी व्यवस्थापन चुनौती बनेको हो । ‘स्थानीय तहमै व्यवस्थापन गरिएको गाडी थोत्रो रहेको भन्दै चढ्नै मान्दैन,’ सिंहले भने, ‘राम्रा र चिल्ला गाडी हामीसँग अहिले छैन ।’ मन्त्री, कर्मचारी र संसदीय दलका नेताहरूले सरकारी सवारी सुविधा पाउने पद हुन् ।


प्रदेश सरकारको कार्यालयले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउत, दुई मन्त्री जितेन्द्र सोनल, विजय यादव, सभामुख सरोज यादव र उपसभामुख उपमाकुमारी देवले गाडी सुविधा पाएका छन् । सचिव सिंहले भने पूर्वाञ्चलको क्षेत्रीय प्रशासक रहेका बेला सिंहले प्रयोग गरिरहेको को१झ ४४४ नम्बरको गाडी नै जनकपुरमा चढिरहेका छन् । ‘प्रदेश १ का प्रमुख सचिव यादव कोइरालाले काठमाडौंबाटै गाडी लिएर आएकाले मैले यो गाडी यहाँ ल्याउन पाएँ,’ उनले भने ।


मुख्यमन्त्री राउत चढने बा१झ ७०९३ नम्बरको प्राडो गाडी काठमाडौंबाट झिकाइएको छ । बिहीबार प्रदेश

संसद्मा विश्वासको मत लिएपछि मुख्यमन्त्री राउत मन्त्रिपरिषद् विस्तार गर्ने मुडमा छन् । मन्त्रिपरिषद् विस्तार हुँदा गाडीको समस्या झन् बढ्नेछ । ‘मन्त्रिपरिषद् विस्तार हुने कुरा आइरहेको छ,’ सचिव सिंहले भने, ‘सबैतिर ताकेता गर्दा पनि गाडीको व्यवस्थापन हुन सकिरहेको छैन ।


प्रदेशमा गाडीको अभावसँगै चालकको व्यवस्थापन पनि समस्या बनेको छ । सिंचाइ, शिक्षा, वन र भन्सार कार्यालयबाट झिकाइएको चालक केही दिनमै आफ्नै कार्यालय फर्किए । दिनरात स्टैन्डबाइ रहनुपर्ने भएकाले सरकारी कार्यालयका चालकहरू प्रदेश सरकारमातहतको गाडी चलाउन मानेका छैनन् । ‘सरकारी कार्यालयका चालकहरू यहाँ बस्नै मान्दैनन्,’ प्रदेश कार्यालयमा खटिएका एक चालकले भने, ‘आएकाहरू पनि केही दिन बसेर फर्किए ।’

प्रकाशित : फाल्गुन १०, २०७४ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?