१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जनकपुर स्मार्ट सिटी बनाइने

कान्तिपुर संवाददाता

जनकपुर — प्रदेशको अस्थायी मुकामसमेत रहेको जनकपुरधामलाई स्मार्ट सिटी बनाइने भएको छ । जनकपुर उपमहानगरपालिकाको प्रथम सभामा बुधबार नगर प्रमुख लालकिशोर साहले जनकपुरलाई स्मार्ट सिटी बनाउने घोषणा गरेका हुन् ।

जनकपुर स्मार्ट सिटी बनाइने

उपमहानगरपालिकाको प्रथम नगरसभा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख साहले स्मार्ट सिटीका रूपमा विकास गरी जनकपुरलाई सुन्दर, सफा र व्यवस्थित सहर बनाउन बनाउने घोषणा गरेका हुन् । आर्थिक वर्ष २०७४/०७५ मा १ अर्ब ७४ करोड ५१ हजार ४० हजार रुपैयाँ आय प्राप्त प्रक्षेपण गर्दै साहले स्मार्ट सिटी निर्माणलाई मुख्य प्राथमिकतामा राखेका हुन् । ‘जनकपुर ऐतिहासिक र धार्मिक सहर हो,’ प्रमुख साहले भने, ‘यो सहरले प्रदेशको राजधानीका रूपमा राजनीति हैसियत पाएको छ, यसको विकास र विस्तारका लाथि थुप्रै योजना ल्याएका छौं,’ उनले भने ।


जनकपुरको फोहोर व्यवस्थापन र ढल निर्माण, धार्मिक र ऐतिहासिक मठ–मन्दिरको व्यवस्थापन, पोखरीको सौन्दर्यकरण र संरक्षण तथा नगर सुरक्षाका लागि सडक बत्ती, सिसि क्यामरा, ट्राफिक संकेतको बन्दोबस्त नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको छ । साहले २६ बुंदे प्राथमिकता सूची प्रस्तुत गर्दै साहले धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको जनकपुरको विषयमा वेबसाइड, गाइड बुक/ब्रोसर तयार पारिने बताए । उनले जनकपुरबाट प्लास्टिकको झोला विस्थापन गर्न माटोको भाँडा र कागज तथा कपडाको झोला प्रयोगमा ल्याइने घोषणा गरे ।

जानकी मन्दिर तथा राममन्दिरलगायत पुरातात्त्विक महत्त्वका धरोहरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने र जनकपुरको लामखुट्टे नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउने प्रमुख साहले घोषणा गरे । जनकपुर उपमहानगर पालिकाले बाह्य चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन तथा योजना निर्माण तथा जनकपुरको उत्तरमा बाबा पेट्रोलनजिक सहिद प्रवेशद्वार निर्माण गर्ने योजना ल्याएको छ ।


नगर प्रमुख साहले जनकपुरको विकास र समृद्धिका काममा राजनीतिभन्दा माथि रहेर काम गर्नेसमेत बताए । ‘विकासका नाममा राजनीति होइन, सहमति खोज्छौं,’ साहले भने । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जनकपुरको प्रथम नगरसभाको उद्घाटन गरे । उनले जनकपुरलाई राजधानी लायक सहर बनाउन आफ्नो सहयोग रहने बताए । जनकपुरको प्रथम नगरसभामा सहभागी राजनीति दलका प्रतिनिधिहरूले यहाँको विकासमा सबै एकजुट हुनु आवश्यक रहेको बताए ।


‘जनकपुर नै स्थायी राजधानी’

राजपका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जनकपुर नै प्रदेश २ को स्थायी राजधानी हुने ठोकुवा गरे । जनकपुर नगरसभामा बोल्दै नेता महतोले जनकपुरलाई स्थायी राजधानी बन्नबाट कसैले रोक्न नसक्ने दाबी गरे ।


‘जनकपुर मात्र नगर होइन, यो प्रदेशको राजधानी पनि हो,’ जनकपुरको पहिलो नगरसभा उद्घाटन गर्दै बुधबार महतोले भने, ‘जनकपुरको विकास हुनु भनेको राजधानीको पनि विकास हुनु हो । जनकपुरलाई नै स्थायी राजधानी बनाउन यसको विकास आवश्यक छ ।’ नगरमा सरसफाइको अवस्था दयनीय रहेको उल्लेख गर्दै महतोले त्यसमा तत्काल सुधार थाल्न उपमहानगरका पदाधिकारी र सर्वसाधारणको ध्यानाकर्षण गराए । ‘जनकपुरमा नाक थुनेर हिंड्नुपर्ने अवस्था छ,’ उनले भने, ‘आफ्नो घरको सफाइ पनि सरकारले नै गरिदेला जस्तो नगर्नुस् ।’

प्रकाशित : फाल्गुन १०, २०७४ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?