३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मिलले पुर्जी नदिँदा उखु खेतमै

सस्तोमा भारतीय उखु खरिद गर्न थालेपछि सर्लाहीका दुई मिलले नेपालमा उत्पादित उखुको पुर्जी काट्न मानेन
अमन कोइराला

सर्लाही — किसानलाई क्रसिङका लागि चिनी मिलले चलान पुर्जी नदिँदा खेतमै उखु थन्किएको छ । खेतमै खडा रहेको उखु काट्न ढिलाइ हुँदा पनि चिनी मिले पुर्जी दिएको छैन । 

मिलले पुर्जी नदिँदा उखु खेतमै

भरतीय सस्तो उखु आयात गरिरहेका चिनी मिलले सर्लाहीका किसानको उखु खरिदमा चासो देखाएको छैन । चिनी मिलले भारतका उखु ल्याएर मिलमा क्रसिङ गरिरहेको छ ।


बलरा नाकाबाट दैनिकजसो भारतीय उखु भित्रिइरहेको छ । सर्लाही भन्सारको तथ्यांकअनुसार पुस र माघ महिनामा करिब १ हजार ४ सय ट्रयाक्टर उखु भारतबाट भित्रिएको छ । ट्रयाक्टरको १ सय र गोरुगाढाको ५० का दरले भन्सार शुल्क लिने प्रमुख जिल्ला अधिकारीले निर्णय गरेअनुसारै शुल्क बुझिरहेको बलरा छोटी भन्सारका राकेश झाले बताए । नेपाली उखुको मूल्य ५ सय ३१ रुपैयाँ प्रतिक्विन्टल तोकिएको छ । तर, त्योभन्दा कम मूल्यमै भारतीय उखु पाएपछि यहाँका चिनी मिलले नेपालमा उत्पादित उखु खरिदमा चासो नदेखाएको किसानहरूको भनाइ छ ।


भारतमा कृषिमा अनुदान रहेका त्यहाँको उखु नेपालको उखुभन्दा सस्तो पर्छ । नेपालको तुलनामा भारतमा उखु उत्पादन लागत पनि कम भएकाले सस्तोमा पाइने भारीय उखु चिनी मिलले दलालमार्फत आयात गरिरहेको छ । कृषि सुधार शुल्क ५ प्रतिशत लिएर भन्सार हुँदै भारतीय उखु आयात भइरहेको छ । गोरुगाढा र ट्रयाक्टरमा भारतीय किसानले उखु ल्याउने गरेका छन् । सर्लाहीका भन्सार प्रमुख जगदिश पुर्वेले भारतीय उखु बलरा नाका हुँदै आयात भइरहेको बताए ।

‘कृषि सुधार शुल्क तिरेर उखु आयात गर्न पाइन्छ,’ उनले भने, ‘भारतमा कायम मूल्यको ५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्छ ।’ खुला नाकाले पनि भारतीय उखु भन्सार नकाटेर पनि भित्रिरहेको किसानको गुनासो छ । भारतीय उखुका कारण नेपाली किसान मारमा परेको भन्दै उनीहरूले चलान पुर्जी जारी गर्न चिनी मिललाई दबाब दिएका छन् । र, भारतबाट बिनाभन्सार काटेर भित्रिरहेको उखु रोक्न स्थानीय प्रशासनसँग माग गरेको छ ।


एक ट्रयाक्टर उखुको १ सय रुपैयाँ भन्सार शुल्क काटिन्छ । ट्रयाक्टरमा झन्डै ७५ क्विन्टल उखु हुन्छ । सीमावर्ती बारा उद्योरणका किसान अजित सिंहले बलरा, हथिऔल, मधुवनी, अर्नाहा र बहादुरपुरमा भारतीय उखु तौल्ने काँटा नै राखेको बताए । उनले हरेक काँटाबाट दैनिक ७/८ ट्रक भारतीय उखु चिनी मिलमा आउने गरेको जनाए ।


‘भारतीय उखुको आयातले नेपाली किसानको उखु खेतमै खडा छ,’ उनले भने, ‘नेपाली किसानलाई उखु काट्न मिलले चलान पुर्जी नै जारी गरेको छैन ।’ भारतीय उखु आयातले नेपाली किसान मारमा परेको भन्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् । प्रशासनले समस्या समाधानका लागि किसान र चिनी मिलका कर्मचारीको बैठक डाकेको छ । उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले भारतीय उखु आउन थालेपछि चिनी मिलले स्वदेशी किसानलाई वास्ता नगरेको आरोप लगाए ।


‘एकातिर खेतमा खडा उखु बेच्न नपाएर किसान चिन्तित छन्,’ उनले भने, ‘अर्कातिर भारतीय उखु धमाधाम आइरहेका छन् । सस्तोमा उखु किन्न पाएपछि नेपाली किसानलाई झुलाउने काम चिनी मिलबाट भइरहेको छ ।’ भारतीय उखु ल्याउन थालेपछि सर्लाहीका इन्दुशंकर चिनी उद्योग र अन्नपूर्ण सुगर मिलले किसानलाई पुरानो भुक्तानीमा पनि ढिलाइ गरेको छ । मिल चलेको साढे २ महिना भइसक्दा पनि इन्दुशंकर चिनी उद्योगले जम्मा १५ दिनको मात्र भुक्तानी दिएको मैनालीले बताए । ‘अन्नपूर्णले भुक्तानी नै दिएको छैन,’ उनले भने, ‘इन्दुशंकरले पनि २ महिनादेखिको भुक्तानी रोकेको छ ।’ अन्नपूर्ण सुगर मिलले भारतीय उखु ल्याउन थालेयता स्थानीय किसानको उखु लिन आनाकानी गरेको किसानले गुनासो गरे ।


भारतमा कृषिमा भएको अनुदानका कारण उखुको भाउ सस्तो, भारतीय चिनी मिलले भुक्तानीमा ढिलाइ गर्ने कारणले भारतका सीमावर्ती किसानले नेपाली चिनी उद्योगलाई उखु बेच्छन् । चिनी मिलले भारतीय उखु खरिद गर्न पैसा दिएर भारतीय क्षेत्रमा कर्मचारी नै खटाएका छन् ।

प्रकाशित : फाल्गुन १०, २०७४ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?