१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तस्करी रोक्न विशेष अप्रेसन

कान्तिपुर संवाददाता

राजविराज — सीमा नाकामा तस्करी मौलाएपछि सप्तरी प्रहरीले विशेष अप्रेसन थालेको छ । चाइनिज स्याउ भारत तस्करी हुने मुख्य नाका बनेपछि सप्तरीको सीमा क्षेत्रमा प्रहरीले अप्रेसन तीव्र पारेको हो ।

सीमा क्षेत्रका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई त्यस क्षेत्रमा कडाइ गर्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी मुकेशकुमार सिंहले जनाए । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट गएको विशेष टोलीले बिहीबार मध्यरात सप्तरीको तिलाठीस्थित बेल्हीमा रहेको भन्सार कार्यालय छेउकै गोदामबाट तस्करी गर्न राखिएको चाइनिज स्याउ बरामद गरेको छ ।

प्रहरीले चार भारतीयसहित ६ जनालाई १० किलो दरका १ सय ८६ कार्टुन चाइनिज स्याउसहित नियन्त्रणमा लिएको थियो । तिलाठीस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षकसहित सबै आठ जना प्रहरीलाई जिल्ला प्रहरीमा तानिएको छ । त्यहाँ प्रहरी नायब निरीक्षकको कमाण्डमा अर्को टोली खटाइएको छ । ‘तिलाठी नाका मात्र होइन, सप्तरीका अन्य सबै नाकामा कडाइ गरिएको छ,’ एसपी सिंहले भने, ‘तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरीबाट पनि विशेष टोली परिचालन गरिएको छ ।’

तस्करी नियन्त्रणकै लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त गस्ती र निगरानी बढाएका छन् । ‘कुनै पनि बहानामा तस्करीलाई छुट दिइँदैन,’ एसपी सिंहले भने, ‘तस्करीलाई सघाउने प्रहरीलाई पनि कारबाही गरिन्छ ।’ सप्तरी प्रहरीले बिहीबार राति पक्राउ गरेको चाइनिज स्याउ पछिल्लो पाँच वर्ष यताकै सबैभन्दा बढी हो ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?